कांग्रेस–एमालेको गठबन्धनबारे प्रचण्डले भनेः ‘उनीहरू ०८४ को चुनावमा पनि मिलुन्’

पोखरा ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८४ को चुनावमा गठबन्धनको सम्भावना रहेको बताएका छन् ।
शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष दाहालले कांग्रेस र एमालेबीचको वर्तमान सहकार्यलाई इंगित गर्दै भने, ‘उपनिर्वाचनमा पनि यी दलहरूबीच गठबन्धन भयो । अब उनीहरू आगामी चुनावमा पनि एकसाथ जान चाहन्छन् । म चाहन्छु, उनीहरू मिलून् ।’
माओवादी केन्द्रले २०७९ को प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेससहितका दलहरूसँग तालमेल गरी ३२ सिट जितेको थियो । तर, आगामी चुनावमा भने माओवादी एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।
‘अब हामी स्वयम् जनतामा जानेछौं । जनताको शक्तिमा हाम्रो विश्वास छ । मेरो अपील छ– जनताले एकता प्रदर्शन गर्नुपर्छ र आफ्नो शक्ति देखाउनुपर्छ,’ उनले भने । उत्पीडित वर्ग र समुदायको पक्षमा आफूहरू दृढ रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामीले सधैं उत्पीडित वर्ग, जाति र समुदायका लागि संघर्ष गरिरहेका छौं । केही समय हाम्रो वर्गपक्षधरता कमजोर भए पनि अब पुनः आन्दोलनलाई बलियो बनाउन अग्रसर हुनेछौं ।’
तपाईको प्रतिक्रिया