नयाँ वर्षको अवसरमा लेकसाइडमा २० औं फेवा महोत्सव हुने

समाधान संवाददाता २०८१ फागुन १० गते १३:०६

पोखरा ।
नयाँ वर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो ।

Advertisement


महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको संयोजक सुवेदीले प्रष्ट्याए ।


देशविदेशका पर्यटलाई पोखरामा आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्देश्य पनि महोत्सवले राखेको छ । ड्यामसाइडदेखि गैराको चौतारासम्मको ३ किलोमिटरभन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था महोत्सवमा हुने आयोजक समितिले जनाएको छ । विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टलहरु र खेलकुदका कार्यक्रमसमेत महोत्सवमा समेटिने छन् ।


महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनालाई संघले प्रदान गर्ने विशेष छुटको घोषणा छिट्टै गरिने संघले स्पष्ट पारेको छ । पछिल्लो क्रममा स्तरोन्नति हुँदै गरेको पृथ्वी राजमार्गको धेरैजसो खण्डको यात्रा पनि सहज हुन थालेको जनाउँदै संयोजक सुवेदीले पाहुनाहरुलाई नेपाली नयाँ वर्ष मनाउन पोखरा आउन आव्हान गरे ।


महोत्सवलाई व्यवस्थित रुपमा अगाडि बढाउन आयोजक समितिले उपसमितिका संयोजकहरुको जिम्मेवारी बाँडफाँडसमेत गरेको थियो । संघका प्रथम र द्वितीय उपाध्यक्ष क्रमशः दीपक श्रेष्ठ र गणेशराज पहारी महोत्सव सहसंयोजक छन् । संघका अन्य पदाधिकारी र सदस्यलाई पनि विभिन्न जिम्मेवारी दिइएको छ ।

Advertisement


महोत्सवको प्रचार तथा आन्तरिक पर्यटकलाई बढवा दिन संघले दुई दशक अघिदेखि जाउँ है पोखरा अभियान समेत सञ्चालन गर्दै आएको महोत्सवका सहसंयोजक गणेशराज पहारीले स्मरण गरे ।


यसैबिच, संघले नेपाल पर्यटन बोर्ड गण्डकीको प्रमुखका रुपमा पोखरा आएका मणिराज लामिछानेलाईस्वागत गरेको थियो । सो अवसरमा प्रमुख लामिछानेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा संघसँग हातेमालो गरेर अगाडि बढ्ने वाचा गरे ।

तपाईको प्रतिक्रिया