दमैलीमा बस्ती बसेको ५१ वर्षपछि पानीका लागि पहल

समाधान संवाददाता २०८१ फागुन १० गते १३:१४

तनहुँ ।
सदरमुकाम दमौलीदेखि करिब ३ किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका १ भदु्रडाँडा । चारैतिर वनजंगलले घरिएको यस ठाउँमा सानो मानव बस्ती छ, जहाँ दलित समुदायका १० परिवारको बसोबास छ । आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्याला, मजदुरी गरेर छाक टार्दै आएका छन् ।

Advertisement


यो समस्या त छँदैछ, जंगल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव । स्थानीय हस्तबहादुर नेपाली भन्छन्, ‘बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ । करिब १५÷२० मिनेट उकालीओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखिकै हो ।’


उहाँले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए । ‘चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नु परेको छ’, उनी भन्छन्, ‘जंगलको बाटो हँुदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ ।’

यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ । व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र संघीय सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना अन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो । बस्ती बसेको ५१ वर्षपछि भदु्रडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीय खुसी भएका छन् ।


यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ टयांकी निर्माणका लागि ट्यांकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन् । सोही योजना अन्तर्गत यसअघि व्यास १ अमिली भञ्ज्याङमा २ लाख लिटर क्षमताको रिजर्भ टयांकी निर्माण भइसकेको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

Advertisement


‘बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजनाअघि बढाइएको हो’, उनी भन्छन्, ‘यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ ।’ विसं २०७९ भदौमा १९ करोड लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भई काम अगाडि बढाइएको छ ।


विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुन सकेको छैन । संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्यसम्पन्न हुने बताए । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुआत गरेकामा हाल संस्थाले साना ठूला गरी ४ योजनाबाट २ हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । रासस

तपाईको प्रतिक्रिया