पिसिएममा ग्रयाजुएसन समारोह

पोखरा ।
पोखराको नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम)बाट स्नातक तहमा दीक्षित विद्यार्थीको ग्राजुएसन समारोह शुक्रबार भएको छ ।
समारोहमा बिबिए र बिसिआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको छ । कार्यक्रममा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा दयाराज ढकालले विद्यार्थीले ठूलो र सकारात्मक सोच राख्दा जीवनमा ठूलो अवसर प्राप्त हुने र जीवन सुखमय बन्ने बताए ।
उनले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने यो यात्रा थप उचाइमा लैजान कलेजले निरन्तरता दिने विश्वास व्यक्त गरे । पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले विद्यार्थीलाई सीप विकास गर्न तथा देशमै बसेर अवसरहरूको अधिकतम फाइदा उठाउन प्रेरित गरे ।
क्याम्पस सञ्चालक समिति सदस्य विनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपप्राचार्य दीपेन्द्र पहारीले गरेका थिए । कार्यक्रममा दीक्षित विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, उत्कृष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मान गरियो ।
विद्यार्थी प्रविना सुवेदीले लक्ष्मी हाउसबाट प्रदान लक्ष्मी विद्या पदक २०८१ प्राप्त गरेकोमा विशेष सम्मान गरिएको हो । डिन लिस्टका विद्यार्थीहरू बिबिएका मञ्जिल श्रेष्ठ, एञ्जिला सुवेदी, पूजा सिग्देल, सारा गुरुङ, गरिमा काफ्ले, निशिका श्रेष्ठ, लुना सापकोटा, यज्जु शक्य र बिसिआइएसका श्रद्धा श्रेष्ठलाई पनि विशेष सम्मान गरिएको छ ।
कलेजले हालसम्म १८ ब्याच विद्यार्थी उत्पादन गरिसकेको छ । १ हजार ९ सयभन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको कलेजले १ सय बढी डिन लिस्ट र १ दर्जन उपाधि प्राप्त पदक तथा ७ जनाले विशेष पदक प्राप्त गरिसकेको प्राचार्य लिना नेगी श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रममा विद्यार्थी एञ्जिला सुवेदीले कलेजमा बिताएका आफ्ना सम्झनाहरु अविष्मरणीय रहेको जनाइन् ।
तपाईको प्रतिक्रिया