मुग्लिन–पोखरा बाटो सहज बन्दै

पोखरा ।
पोखरादेखि मुग्लिनसम्मको सडक स्तरोन्नतिले गति लिँदा पर्यटन राजधानी पोखरा आउजाउ सहज बन्दै गएको छ । यहीअघि ७÷८ घन्टा लाग्ने यो सडक छिचोल्न अचेल २ घन्टा हाराहारी लाग्छ । आँबुखैरेनीदेखि पोखरासम्मको सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी २ खण्डमा जारी छ ।
पृथ्वी राजमार्गमा पर्ने ८१ किमी सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको गरिएको हो । यो सडक अहिले पूर्वी खण्डमा ३ किमी र पश्चिम खण्डमा १० किमीबाहेक अन्यत्र कमसेकम एकतर्फी कालोपत्र भइसकेको छ । पूर्वी खण्डको भौतिक प्रगति ७७.७ र पश्चिम खण्डको भौतिक प्रगति ४२.४३ प्रतिशत छ ।
पहिले पश्चिम खण्डको काममा ढिलाइ भएको भए पनि पछिल्लो समय कामले गति लिएको छ । जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा ४ लेनको १८ मिटर चौडा सडक १२ किमी, ४ लेनको २३ किमी चौडा सडक ८.५ किमी र ६ लेनको ४६ मिटर सडक १८.३ किमी बनाइँदै छ । यो खण्डमा ४ ठूला र ८ साना गरी १२ पुल छन् ।
पश्चिम खण्ड निर्माणको सम्झौता २०७८ जेठमा भए पनि काम ३ महिनापछि मात्र सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको छ ।
गएको भदौ १२ मै पहिलो म्याद सकिएकोमा २ पटक थप भई ३१ डिसेम्बर २०२५ सम्म यसको म्याद छ । यो खण्डमा सेती नदीमा १ सय ९० मिटरका २ लेनका २ पुल बन्दै छन् । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले १ अर्ब ७ करोड २४ लाखमा पुल निर्माण बनाइरहेको छ । २०२५ डिसेम्बर ६ सम्म सक्नुपर्ने पुलको भौतिक प्रगति अहिले ४० प्रतिशत हाराहारी छ ।
पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सौजन्य नेपाल पछिल्लो समय कामले गति लिएको बताउँछन् । ‘पछिल्लो समय निर्माण व्यवसायीले पूर्ण क्षमतामा काम गरेको देखिन्छ,’ उनी भन्छन्, ‘केही ठाउँमा अझै बिजुलीका पोल व्यवस्थापन बाँकी हुँदा ढिलाइ भएको छ ।’
राजमार्ग विस्तारमा ढिलाइ हुँदा पर्यटन राजधानी पोखराको आर्थिक गतिविधिसहित गण्डकी प्रदेशमै प्रभाव पर्ने परेको थियो । पछिल्लो समय सडक सहज हुँदा जाँदा आशा जागेको उल्लेख गर्छन् पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी । अरु क्षेत्रमा बाटो विस्तार तीव्र गतिमा भए पनि पोखरा महानगर क्षेत्रमा भने ढिलोमात्र काम सुरु भएको थियो ।
तनहुँको कोत्रेदेखि पृथ्वीचोकसम्म करिब २० किमी राजमार्ग पोखरा महानगरमा पर्छ । महानगर क्षेत्रमा अहिले काम जारी छ । अध्यक्ष केसी महानगर क्षेत्रमै सडक विस्तार ढिलो हुँदा सकस भएको सुनाउँछन् । महानगरभित्र खानेपानीका पाइप व्यवस्थापन, बिजुली पोल व्यवस्थापन, मापदण्डका संरचना हटाउन ढिलाइ हुँदा काम ढिलो भएको हो ।
खानेपानी, बिजुली र भौतिक संरचनाको अवरोध हटेको र निर्माण व्यवसायीले पूर्ण क्षमतमा काम गरिरहेकाले आगामी वर्षभित्रै काम सकिने आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेल बताउँछन् । योजनाको पूर्वी खण्डको काम पछिल्लो क्रममा धमाधम भइरहेको छ ।
यो खण्डको भौतिक प्रगति ७७.७ प्रतिशत छ । यो माघ महिनासम्मको प्रगति हो । पूर्वी खण्डमा ३४.५ किलोमिटरमा ४ लेन र ३.१ किमीमा २ लेनमा प्रथम तहको कोलोपत्र भइसकेको छ ।
पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले १५.५ किमीमा ४ लेन र १२.७३ किमी २ लेनमा दोस्रो तहको कालोपत्र सकिएको जानकारी दिए । पूर्वी खण्ड ४१.४५ किमी छ । दमौली बजार क्षेत्रबाहेक अन्यत्र एकतर्फी कालोपत्र हुन बाँकी छैन । ‘दमौली खण्डमा काम भइरहेको छ । अब यो खण्डमा एकतर्फी पनि कालोपत्र नभएको सडक ३ किमी जति होला,’ पाण्डेले भने, ‘यही आर्थिक वर्षभित्र पूर्वी खण्डको काम सकिने देखिन्छ ।’
यो खण्डमा बन्ने १७ पुलमध्ये १६ पुल बनिसकेका छन् । नालामा एउटा पुलको काम जारी छ । मादी पुल भने छुट्टै ठेक्कामा लगाइएको हो । यसको भौतिक प्रगति ६० प्रतिशत छ । २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यो खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्दै छ । कम्पनीले ६ अर्ब २१ करोड ३१ लाखमा यो खण्डको ठेक्का लिएको छ ।
दमौली बजारमा कालोपत्र थालियो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो ।
दमौलीस्थित व्यास नगरपालिका २ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको हो ।
पाण्डेले भने, ‘बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ ।’ बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उनको भनाइ छ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् ।
तपाईको प्रतिक्रिया