पोखरामा कोटिहोम: छैन स्विकृति, छर्दै भ्रम

आयोजको हाँस्यास्पद दावी– पोखरा भ्रमण वर्षकै अवसरमा महायज्ञ

समाधान संवाददाता २०८१ फागुन ११ गते ११:५०
फाइल तस्बिर

पोखरा ।

Advertisement

विवादास्पद कोटिहोम महायज्ञ पोखरामा हुने नहुने अन्यौल अझै सकिएको छैन । महायज्ञको आयोजक सस्था मानव सेवा फाउण्डेसन नेपालले तोकिएकै स्थानमा महायज्ञ हुने भन्दै सूचना प्रवाह गरिरहेको छ तर सरकारी निकायले अहिलेसम्म स्विकृति दिएको छैन ।

पोखराको लेकसाइडस्थित बाराही घाटमा नेपाल ट्रस्टको नाममा रहेको चौरमा कोटिहोम महायज्ञ गर्ने आयोजकको तयारी छ । उनीहरुले आगामी बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म ४५ दिने कोटिहोम महायज्ञ गर्छौ भन्दै हिडेका छन् ।

तर पोखरा महानगर पालिकाले सो स्थानमा कार्यक्रम गर्न स्विकृति दिएको छैन् । कुनै पनि कार्यक्रम गर्न स्थानीय सरकारको स्विकृित अनिवार्य गरिएको छ । महानगरले स्विकृति नदिएसम्म सो स्थानमा कोटिहोम महायज्ञ असम्भव छ ।

लेकसाइडमा गर्ने महायज्ञका लागि समिदा बनाउने भन्दै पोखराका सार्बजिनक चाैपारीका वरपिपल काटिएपछि तातेका पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले लेकसाईइमा सो महायज्ञ गर्न नदिने घोषणा नै गरेका छन् । लेकसाइडमा कोटिहोम गर्न नदिन पोखरा महानगर पालिकाको बोर्ड बैठकले सर्बसम्मत निर्णय गरेको छ ।

Advertisement

महानगरको निर्णयका विरुद्ध पटन समारोह गर्दा दुर्घटनामा परि महानगरका मेयर धनराज आचार्य उपचारमा छन् । उनै ६ दिन लामो अस्पताल बसाईपछि डिस्चार्ज त भएक छन् तर जलनको घाउ सन्चो भैनसकेकाले भेटघाट र नियमित काममा फर्किन सकेका छैनन् ।

यही मौकामा आयोजक सस्थाले हरेक दिन जसो मिडियामा एउटा वा सो भन्दा बढी तयारी समाचार पठाएर कोटिहोम महायज्ञको तयारी तिव्र गतिमा भैरहेको सन्देश दिने प्रयास गरिरहेको छ ।

कहिले अरबौंको संख्यामा राम नाम लेखिने भन्दै समाचार संप्रेषण गरिएको छ भने कहिले राष्ट्रिय प्रतियोगिता आयोजना गरिने र प्रथम हुनेले ३ लाख ५५ हजार नगद पुरस्कार पाउनेछन् भन्दै निशुल्क टिम दर्ता गर्न आव्हान समेत गरिएको छ ।

आज आयोजक कै तर्फबाट मिडियामा पठाइएको एक तयारी समाचारमा त पोखरा भ्रमण वर्षकै अवसरमा कोटिहोम महायज्ञ आयोजना गरिएको हाँस्यास्पद दावी गरिएको छ । समाचारमा भनिएको छ- पोखरा महानगरले घोषणा गरेको पोखरा भ्रमण वर्षको अवसरमा उक्त कोटिहोम महायज्ञको आयोजना गर्न लागिएको कोटिहोमका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।

तर पोखरा महानगर पालिका त्यो स्थानमा महायज्ञ गर्न नदिने कुरामा अडिग छ । समाजमा भ्रम छरेर के गर्न खोजिएको हो थाहा छैन, महानगरले निर्णय गरिसकेको छ लेकसाईडको सो स्थानमा त्यो महायज्ञ हुनै सक्दैन– मेयर आचार्यले समाधानसँग भने । कार्यपालिका बैठकले सर्बसम्मत निर्णय गरेरै सो स्थान त्यति लामो महायज्ञका लागि अनुपयुक्त छ भनिसेको भन्दै आफू उपचारमा रहेको बेलामा छरिएका भ्रमका पछि नलाग्न महानगरबासीलाई आग्रह गरेका छन् ।

प्रहरी प्रशासनले पनि महानगरले स्विकृति नदिएसम्म महानगरभित्र कुनै कार्यक्रम हुन नसक्ने बताएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे पोखरा महानगरको स्विकृति बेगरका कुनै पनि कार्यक्रम पोखरामा हुन नसक्ने बताउछन् । स्थानीय सरकारको अधिकार छ कुन कार्यक्रम गर्न दिने कुन नदिने भन्ने, सरकारलाई सहयोग गर्नु प्रशासनको दायित्व हो– प्रमुख जिल्ला अधिकारी पाण्डेले समाधानसँग भने ।

तपाईको प्रतिक्रिया