सम्पादकीय—मानव अधिकार उल्लंघन

गण्डकी प्रदेशमा सन् २०२४ मा राज्य पक्षबाट मानव अधिकार उल्लंघनका कुनै घटना नभए पनि अन्य पक्षबाट ५०४ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनले देखाएको छ । मानव अधिकार उल्लंघनका घटनामा संख्यात्मक रुपमा केही कमी आए तापनि महिला तथा बालबालिकामाथि हुने हिंसा भने अझै गम्भीर चुनौतीका रुपमा देखिएको छ ।
इन्सेक गण्डकी प्रदेश कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार घरेलु हिंसा, बलात्कार, बाल यौन दुव्र्यवहार जस्ता घटनाहरू निरन्तर भइरहेका छन् । अझ खतरनाक पक्ष के छ भने, यी घटनामा परिवारका सदस्य, आफन्त तथा चिनजानका व्यक्तिहरू नै संलग्न हुने गरेका छन्, जसले गर्दा पीडितले न्याय पाउन थप कठिनाइ भोग्नुपरिरहेको छ ।
सन् २०२४ मा अन्य पक्षबाट ४२९ महिला र ७५ पुरुष गरी ५०४ जना मानव अधिकार उल्लंघनका घटनामा पीडित भएका छन् । घरेलु हिंसामा २१७ महिला, बलात्कारमा ४५ महिला, बलात्कारपछि हत्यामा १ महिला तथा साइबर अपराधमा २ महिला पीडित भएका छन् । अघिल्लो वर्ष २०२३ को तुलनामा समग्र घटनामा ११२ जनाको कमी आएको भए पनि बालअधिकार उल्लंघनका घटनामा भने वृद्धि भएको छ । गत वर्ष ११५ जना बालबालिका पीडित भएकोमा यो वर्ष १३१ जना पुगेका छन् ।
प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी घटना कास्कीमा दर्ता भएका छन् भने सबैभन्दा कम मनाङमा भएको देखिन्छ । बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा प्रहरी प्रशासनमै मिलापत्र गराउने प्रवृत्ति कायमै रहेको प्रतिवेदनमा उल्लेख छ । पीडितलाई न्याय दिनु राज्यको दायित्व हो, तर आरोपितलाई धरौटीमा रिहा गरिने प्रवृत्तिले न्याय प्रणालीमा नै प्रश्न उठाएको छ ।
प्रदेश सरकारले हिंसा पीडित महिलाहरुका लागि सुरक्षित गृह निर्माण गरे पनि सञ्चालनमा नआउनु अर्को गम्भीर समस्या हो ।
संरचना बनेर मात्रै हुँदैन, प्रभावकारी सञ्चालन नभएसम्म त्यसको उपयोगिता रहँदैन । मानव अधिकार उल्लंघनका घटनाहरू घट्दै जानु सकारात्मक पक्ष हो, तर महिलामाथिको हिंसा र बालअधिकार उल्लंघन भने कायम रहनु दुखद वास्तविकता हो । राज्यका निकायहरूले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनुका साथै पीडितलाई न्याय दिन कडा कदम चाल्नुपर्छ । समाजमा सचेतना फैलाएर हिंसाका घटनालाई न्यून गर्ने रणनीति आवश्यक छ ।
प्रदेश सरकारको सुरक्षा गृह सञ्चालनमा ल्याउने पहलले पीडितहरुलाई आवश्यक संरक्षण दिने छ, जुन ढिलो गर्न नहुने विषय हो । मानव अधिकार उल्लंघनका घटनामा कमी ल्याउन राज्यका नीति निर्माताहरु, प्रहरी प्रशासन, नागरिक समाज, र सम्पूर्ण समुदायको समन्वय आवश्यक छ । कानुनको प्रभावकारी कार्यान्वयन मात्र होइन, पीडितलाई न्याय दिलाउने प्रतिबद्धता समेत देखिनुपर्छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया