सिर्जनशीलमा वर्षाको ‘अभ्यन्तर’ कथासंग्रहको परिचर्चा

समाधान संवाददाता २०८१ फागुन ११ गते १६:५२

पोखरा ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रम यही मिति २०८१ साल फागुन १० गते शनिवारका दिन कन्या क्याम्पस नदीपुरको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा कथाकार सुमन वर्षाद्वारा लिखित ‘अभ्यन्तर’ कथासंग्रहको परिचर्चा गरिएको थियो ।

Advertisement


कथासंग्रहको स्वरपक्षमाथि बोल्दै डा. सबिन्द्रराज भण्डारीले संग्रहका प्रत्येक कथा विषयगत नवीनताका दृष्टिले उत्कृष्ट रहेका बताए । कथाले सामाजिक विकृति विसंगतिको यथार्थ प्रस्तुति गर्नुका साथै स्वैरकल्पनाका माध्यमबाट सुदूर नेपाली समाजको चित्रण गरेको उनको तर्क थियो ।

अर्का परिचर्चाकार डा. भूमिराज बस्ताकोटीले कथासंग्रहको शिल्पपक्षमाथि चर्चा गरेका थिए । कृतिमा केही नवीन र अधिकांशतः पुरानै शैलीगत ढाँचाको प्रयोग भए पनि केही कथामा बुनोट सिप र प्राञ्जल भाषाको प्रयोगले निकै प्रभावकारी देखिएको उनको भनाइ थियो ।


कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले स्रष्टा जहिले पनि कुनै न कुनै भ्रमका बिचमा बाँच्ने र भ्रमकै बिचबाट उत्कृष्ट साहित्य सिर्जना गर्ने कुरा बताए । नेपाली साहित्यमा विज्ञान कथाको इतिहास लामो भए पनि इतिहास लेखनका दृष्टिले खासै काम हुन नसकेको उनको तर्क थियो । विज्ञानप्रविधि जस्ता विषयलाई आधार बनाएर ‘क्लोन’ जस्ता कथा लेखेकोमा उनले कथाकारप्रति खुसी व्यक्त गरेका थिए ।


कार्यक्रममा कथासंग्रहमाथि सारसंक्षेपमा टिप्पणी गर्ने कार्य संस्थाका पूर्व अध्यक्ष दीपेन्द्र पराजुलीले गरेका थिए भने त्रिविका सिनेटर कमलराज सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । यसै क्रममा कथाकार सुमन वर्षाले कृति प्रकाशित भइसकेपछि त्यो लेखकको नभई पाठकको हुने र त्यसलाई विभिन्न आधारमा विश्लेषण गर्न सकिने तर्क गरेकी थिइन् ।

Advertisement


संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव डा. पिताम्बर पौडेलले गरेका थिए भने उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । उक्त अवसरमा संस्थाकी आजीवन सदस्य इन्दु सुवेदी पौडेलले रचना वाचन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया