रेडक्रसलाई पोखरा २ वडा कार्यालयको सहयोग

समाधान संवाददाता २०८१ फागुन ११ गते १९:०९

पोखरा । पोखरा महानगरपालिका २ नम्बर वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको प्रादेशिक रक्त सञ्चार सेवा (ब्लडबैंक)लाई रगतको गुणस्तर परीक्षणको लागि किट प्रदान गरेको छ ।

Advertisement

ब्लड बंैकसहितको बहुउद्देश्यीय भवन निर्माणसँगै आवश्यक उपकरण जुटाउने काम भई रहेको अवस्थामा वडा कार्यालयले सिबिसी एनलाइजर किट हस्तान्तरण गरेको हो । पोखरा वडा नम्बर २का अध्यक्ष तथा महानगरका नेपाली कांग्रेसका संसदीय दलका नेता दिवसमान प्रधानांगले सामुदायिक संस्थाको रुपमा रहेको रेडक्रसको सेवामा सबैको हक लाग्ने बताए ।

जनप्रतिनिधि समाजसेवी नभएर जनताको प्रतिनिधि भएको उल्लेख गर्दै उनले रेडक्रसलाई गर्ने सहयोग काम कर्तव्य र दायित्व भित्र पर्ने चर्चा गरे । पुण्य काममा हौसला प्रदान गरेकोमा रेडक्रस प्रति आभार प्रकट गर्दै उनले विपद् व्यवस्थापन र मानवीय सेवाको क्षेत्रमा रेडक्रसको काममा सबै क्षेत्रको सहयोग आवश्यक पर्ने उल्लेख गरे । उनले रेस्क्यु टिम बनाएर काम गर्न सुझाव दिए ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले वडा कार्यालयको सहयोगबाट रेडक्रसले पहिला पल्ट रगतको गुणस्तर छुट्टाएर सेवा दिन सक्ने बताए । कास्कीका सभापति डण्डराज शर्मा पौडेलले ब्लड बैंकको भवन निर्माणपछि प्रयोगशालाको लागि उपकरण खरिद र जडानको लागि दातृ निकाय र निजी स्रोतबाट सहयोग जुटाउने काम भएको जानकारी दिए । रक्त सञ्चार सेवाको लागि आवश्यक पर्ने उपकरण किनेर साध्य नभएको उल्लेख गर्दै उनले सुविधा सम्पन्न भवनबाट उन्नत र फराकिलो सेवा दिएको बताए । उनले ६ सय भन्दा बढी संस्था मार्फत वार्षिक रुपमा २३ हजार रगतको संकलन, भण्डारण र वितरणका काम हुने जनाए ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति उर्मिला खड्काले रक्तजन्य सेवा प्रदान गर्नको लागि सबै क्षेत्रको सहयोग भएको बताइन् । कास्की शाखाका कोषाध्यक्ष सन्तोष अधिकारीले प्रादेशिक रक्त सञ्चार सेवालाई ए ग्रेडको बनाउने योजनाका साथ काम भएको जनाए ।

Advertisement

उनले रेडक्रस कास्की भवन निर्माणसँगै आवश्यक उपकरण जुटाउने क्रममा रहेको जानकारी दिए । रक्त सञ्चार सेवाका प्रमुख अर्जुन ज्ञवालीले नयाँ प्रविधिको किट मार्फत रगतको आरबीसी, डब्लुबिसी, प्लेटलेस र ह्युमो ग्लोबिन छुट्टाउन सकिने बताए । कास्की शाखाका कार्यवहाक मन्त्री रमा कोइराला न्यौपानेले रेडक्रस कास्कीले पोखरा आसपासमा रगतको बढ्दो माग र आधुनिक प्रविधि युक्त सेवालाई विस्तार गर्ने क्रममा ब्लड बंैकको मुल भवनबाट प्रदेश स्तरको रक्त सञ्चार सेवा प्रदान गरेको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया