शिक्षाप्रेमी समाजसेवी स्व. ढाकामोहन आचार्य

हर्कबहादुर घर्ती २०८१ फागुन १२ गते १०:४३

जन्मनु र मर्नु मानव चोलाको लागि स्वाभाविक नियति नै हो । कतिपय मानिसहरु बाँचेर पनि समाजका लागि चर्चाको पात्र बन्न लायक हुँदैनन र कतिपय भने मरेर गए पनि चर्चाका पात्र बनिरहेकै हुन्छन् । यसरी सम्झिन लायक मानिसहरू भने औंलामा गन्न सकिने वा सायदै मात्र हुने रहेछन् ।

Advertisement


सन्दर्भ हो कास्की जिल्लाको भुर्जुङ खोलास्थित माछापुच्छ्रे माविको वार्षिकोत्सवको । प्रसंग हो सो विद्यायलका संस्थापक ढाकामोहन आचार्यको योगदानको । यसै प्रसंगमा जो मेरो मानसपटलबाट कहिल्यै पनि मेटिनु हुने अथवा कहिल्यै ओझेलमा पर्नुहुने छैन ।


यहाँनेर सर्वप्रथमतः तत्कालिन शैक्षिक परिस्थितिको पनि केही चित्रण गर्नु पर्ने हुन्छ । जसका लागि सम्वत् २०२० को दशकतर्फ फर्किनुपर्ने हुन्छ । कास्की जिल्लाका विभिन्न पहाडी क्षेत्रहरूमध्येमा भुर्जुङ खोला पनि एक हो जहाँ म जन्मेको हुर्केको थिएँ । जुनबेला सो गाउँ शिक्षाको क्षेत्रमा निकै पछाडि थियो । अरु विकासका कुराहरु त परै जाओस्, कक्षा ६ बाट पढ्न पनि पुरुन्चौर वा त्यो भन्दा पनि तलका सहरमा जानुपर्ने हुन्थ्यो ।


भारतको कलकत्तामा मातापितासँग रहँदा कक्षा ५ कक्षा पास गरेपछि विसं २०२१ मा म आफ्नो घर गाउँ भुर्जुङ खोला फर्केको हुँ । सो समयमा ढाकामोहन आचार्य भुर्जुङखोला गाउँको प्रधानपञ्च हुनुहुन्थ्यो । वहाँ विगत लामो कालबाटै जिम्मावाल मुखिया रहनुभएको समेत रहेछ । त्यो बेला उहाकै अध्यक्षतामा सञ्चालित कक्षा १ देखि कक्षा ५ सम्मको स्थायी र २०२० सालबाट अस्थायी रूपमा ६ र ७ कक्षा सञ्चालित ‘नवीन बाल विकास प्राइमरी’ नामकरणको स्कुल मैले देख्न पाएँ ।

अब आफ्नै स्थानको स्कुलमै पढ्ने भनेर मेरा पिताले ६ कक्षामा भर्ना गर्न लैजाँदा तत्कालीन प्रअ धनपति पौडेलले मेरो प्रतिभा र क्षमता देखेर मलाई कक्षा ७ मा भर्ना गर्न अनुमति दिनुभयो । सो कुरा थाहा पाएपछि ढाकामोहन आचार्यले मलाई बधाई दिँदै भविष्यमा यही स्कुलको मास्टर बन्नु भनेर दिनु भएका आशीर्वचनका शब्दहरू समायान्तरमा मेरो जीवनमा चरितार्थ हुन पुग्यो । मैले उहाँकै प्रेरणाबाट सोहि विद्यायलमा करिव ३० वर्ष अध्यापन गरें भने सोही समयमा करिव १८ वर्ष प्रअ भई सेवा गर्ने मौका पाएँ ।

Advertisement


थोरै विडम्बना त्यतिखेर ७ कक्षा पुरै वर्ष मेरो गाउँमा पढ्न पाइन किनकि चन्दाको भरमा तलब खुवाउने गरी ६/७ कक्षामा पढाउन नियुक्त अस्थायी शिक्षकहरूले तलब नपाएकाले स्कुल छाडी हिँडिदिए । ढाकामोहनकै अनुमतिमा पुरूञ्चौरबाट कक्षा ७ पास गरी २०२२ सालमा बाटुलेचौर हाइस्कुलमा पढ्न पुगेँ । म बाटुलेचौरमा ८, ९ र १० कक्षा पढ्दाको अवधिमा अब स्थायी रुपकै शिक्षक दरबन्दीमा स्वीकृति ल्याएर कक्षा ६ र ७ चलाएरै छाड्छु भनी दृढसंकल्पकासाथ काठमाडौं धाइरहने क्रममा उहाँले धेरै हण्डर गोता खानुभएको र २०२२/०२३ सालको सुरूआतबाटै आफ्नै जग्गा बेचेर खर्चको जोहो गरी काठमाडौं गएर ९ महिनासम्म धर्ना बसी २०२४ सालको शैक्षिक सत्रबाट सञ्चालन हुने गरी कक्षा ६/७ को स्थायी स्वीकृति लिएर मात्र घरमा आउनु भएको थियो । त्यसरी ९/९ महिना काठमाडौंको होटलमा बस्दा वहाँको धेरै नै खर्च भयो भन्ने कुरा मैले पनि सुनेको थिएँ ।

माछापुच्छ्रे माविले ५७ औं वर्षमा टेक्दै शैक्षिक गुणस्तरमा छलाङ मारिरहेको छ


म २०२४ सालको एसएलसी परीक्षा पास भएपछि उहाँले मलाई अब गाउँकै स्कुलमा कक्षा ६ र ७ लाई अंग्रेजी र हिसाव पढाउने मास्टर हुनुपर्‍यो भन्दै २०२४ माघ १७ गते विद्यालय सञ्चालक समितिको बैठकबाट स्थायी ?पकै नियुक्ति पत्र लेखी त्यसमा ‘अध्यक्ष जिमु ढाकामोहन आचार्य’ हस्ताक्षरित नियुक्ति पत्र मेरो हातमा थमाउँदा मेरो आँखामा हर्षका अश्रुह? भरिएका थिए ।


तत्कालीन समयमा नेपालमा प्राइमरी स्कूल, मिडिल स्कूल, हाई स्कूल, कलेज भनेर शिक्षण संस्थाहरूको चिनारी हुन्थ्यो र माछापुच्छ्रे हिमालको काखमा अवस्थित भुर्जुङ खोलाको मिडिल स्कूल भएकाले स्कुलको नाम पनि ‘माछापुच्छ्रे मिडिल स्कुल’ नै राख्ने आम प्रस्तावको सहमतिमा ‘नवीन बाल विकास’ नाम हटाई २०२४ फागुन १२ गते तत्कालिन अञ्चलाधीश नन्दबहादुर मल्ल, जिल्ला पञ्चायत सभापति चन्द्रसिंह घले र जिल्ला शिक्षा अधिकारी बद्रीमान अमात्यसहितको बाहुलीबाट ‘माछापुच्छ्रे मिडिल स्कुल, भुर्जुङ खोला’ को नाम र ब्यानरमा स्कुल उद्घाटन भएको हो । त्यसैले त्यसै दिनबाट सो स्कुलको वार्षिकोत्सव मनाउन सुरुआत भएको हो ।

यसरी सो दिनबाट हाल २०८१ सालसम्म आइपुग्दा सो विद्यालयले ५७ औं वर्षमा टेक्दै शैक्षिक गुणस्तरमा छलाङ मारिरहेको छ । त्यसै विद्यालयको जगमा हाल ४५ कोठा सहितको आधुनिक मावि भवन बनेको, जुन विद्यालयमा करिव ७०० विद्यार्थीहरू अध्ययनरत रहनुका साथै करिब ३ दर्जन शिक्षक, कर्मचारीले रोजगारी पाइरहेको देख्न सुन्न पाउँदा हामीजस्ता अघिल्लो पुस्तालाई गौरवको अनुभूति हुँदोरहेछ ।


स्मरण रहोस स्व. ढाकामोहन आचार्यले काठमाडौंबाट त्यसरी कक्षा ६/७ को स्थायी स्वीकृति लिएर आउँदा हाल मावि रहेको ठाउँलाई त्यतिखेर घारी खेत भनिन्थ्यो र यही ठाउँमा स्कुलको पक्की भवन बनाउने चर्चा चल्दा त्यहाँ जग्गा भएका १६/१७ जनाहरू मध्ये स्वेच्छाले जग्गा दान दिएका बाहेक केहीलाई जग्गाको सट्टामा उहाँले आफ्नै जग्गा दिने सर्त राख्नु भएपछि मात्र त्यस ठाउँमा भवन बन्ने माहोल बनेको थियो र सो सर्त अनुरुप सट्टा जग्गा पनि दिनुभएछ ।

यसरी विभिन्न जग्गा दाताहरूबाट ५ रोपनी जग्गा उपलब्ध भएपछि एक वर्ष पश्चात् उहाँकै अगुवाईमा सो जग्गामा उत्तर तर्फबाट अंग्रेजी अक्षर ग् आकारमा ढुंगाका छपनीले छाएको नौ कोठे पक्की भवन बनेको हो । सो भवनको छाना छाउने ढुंगा लिनका लागि पनि उहाँ आँफै ६ महिनासम्म भराभरी भन्ने गाउँमा आफै निजी खर्चमा डेरा लिई बसी स्कुलको छाना छाउने ढुंगा पठाउनुभएको थियो ।


यसरी उक्त पक्की भवन बन्नुभन्दा अगाडि चित्रा भकारी र खर (घाँस) ले छाएको, बाँसका किलाहरूमा चित्रा भकारी अड्याएर त्यसमा माटोले लिपपोत गरेर भित्ता (बारहरू) बनाई कक्षा कोठाहरू छुट्याएर मिडिल स्कुल तहसम्मको पढाई संचालन गरिएको थियो । त्यसपछि उक्त मिडिल स्कूलमा २०२४ सालमा मेरो नियुक्ति भए पश्चात २ वर्ष लगातार अध्यापन पछि उच्च शिक्षाका लागि मैले कलेज जाने इच्छा राख्दा उहाँले एकोहोरो रुपमा नभई बिहान कलेज पढेर दिउँसो १२÷१ बजे आएर भए पनि पढाइदिनु, स्कुल अलपत्र नपारिदिनु भन्दै स्कुल छोड्न दिनु भएन । गाउँको शिक्षा, विद्यार्थीको भविष्यप्रति वहाँलाई कत्रो चिन्ता !


उहाँले भने अनुसार नै १ वर्ष पढाएँ । तर दिनहुँ आते जाते गरी पढाउन नसक्ने भनी मनको वेदना पोख्दा उहाँले १ वर्षको बेतलवी विदा स्वीकृत गरी दिनु भयो र २०२९ सालमा आइए पास गरी पुनः सो विद्यालयमा फर्की उहाँकै छत्रछायाँ एवं प्रेरणामा विद्यालयको शैक्षिक प्रगतिमा जुटिरहें । मेरो लगनशीलता र मेहेनत देखेर प्रभावित भई उहाँले २०३० सालमा मलाई प्रअमा बढुवाको सिफारिसदेखि लिएर हरेक कुरामा प्रोत्साहन गर्दै ममा ऊर्जा साहस भरी दिने गर्नु हुन्थ्यो । यसप्रकार उहाँको ठूलो छाती फराकिलो दिलको बयान गरी साध्य छैन ।


अतः उहाँ शिक्षाप्रेमीका साथै समाजसेवी मात्र नभई न्यायप्रेमी पनि हुनुहुन्थ्यो । त्यो समयमा उहाँ यस क्षेत्र, भेककै एक ओजनदार व्यक्तित्व हुनुहुन्थ्यो । जसले आफ्नो परिवारको सुखदुखको कुनै पर्वाह नगरी गाउँ र समाजको लागि आफू मैनवत्ति जस्तै पग्लिएर अरुलाई प्रकाश छर्नुभयो ।


मलाई थाहा भएसम्म वहाँ पञ्चायती व्यवस्था स्थापनादेखि करिव ०३९/०४० सालसम्म उहाँ प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँ तत्कालीन जिम्मावाल मुखियाको नाताले ०३२/०३३ साल सम्म हो जस्तो लाग्छ घर जग्गाको मालपोत बुझ्ने र हदमुनीको घर जग्गा पास गरिदिने सम्मको अधिकार प्राप्त व्यक्ति हुनु हुन्थ्यो । त्यत्रो अधिकार प्राप्त भएको बेला मौकामा पनि कुनै प्रकारको दूषित नियतले कोही कुनै पनि सोझा गाउँलेको सम्पत्ति हत्याउने जस्ता शोषण एवं सम्पत्ति माथि सम्पत्ति थप्ने कार्य वहाँले कहिल्यै गर्नुभएन ।


तत्कालिन समयमा वहाँ जस्ता स्थानीय र राष्ट्रिय राजनीतिका पञ्चायती शासकहरू र मुखियाहरूलाई सामन्ती र शोषक भनी पुकार्ने एउटा फेसन जस्तै उभार थियो । तर यसको ठीक उल्टो स्वभाव वहाँमा थियो । उहाँ ठूलो छाती वा स्वच्छ छविको व्यक्ति भएर नै होला तत्कालिन अग्रज राजनीतिकर्मी र राष्ट्रियस्तरका प्रशासक, शासकहरू दलबल सहित गाउँ आउँदा उहाँकै घरमा खाना खाने बस्ने गर्दथे । निज ढाकामोहन आचार्यलाई उनीहरू निकै आदर सम्मान गर्ने गर्दथे । यस्ता कति घटना दृष्यहरू मैले आफैले प्रत्यक्ष देखेको भोगेको छु ।


यसप्रकार वहाँको सकारात्मक सोच, फराकिलो छाती, सज्जनपनता, समाजसेवा प्रति त्याग र योगदान, सबै गाउँले दाजुभाई प्रति समभाव आदि बारेमा सिलसिलेवार रूपमा लेख्दै जाने हो भने सायद एउटा ठेली पुस्तक नै बन्ने छ, जुन यो सानो आलेखमा बयान गर्न सम्भव छैन ।


यस्ता व्यक्तित्व मेरो मानसपटल वा सम्झनाको तरेलीमा कहिल्यै ओझेलमा पर्नुहुने छैन । वहाँका यी योगदानहरु जीवन्त रहिरहुन् भनेर उहाँ र उहाँका धर्मपत्नीहरु बालकुमारी र महेन्द्रकुमारी आचार्यको चिरस्मृतिमा उहाँका छोरा यसै विद्यालयका पूर्व विद्यार्थी एवं पूर्व न्यायाधीश विनोदमोहन आचार्य एवं उनका घरपरिवारको पहलमा सानो छात्रवृत्तिको स्थापना भएको छ । जुन हरेक वर्ष वितरण गर्ने गरिएको छ ।


अतः उक्त विद्यालय स्थापना गर्न र गाउँको शैक्षिक उत्थान गर्नमा तन मन धन समर्पित गर्नुहुने स्व. ढाकामोहन आचार्य हाम्रा माझ जीवित नरहनु भए तापनि वहाँको त्याग, योगदान आदि उहाँका गुण र आदर्शहरु भावी पुस्ताका लागि उदाहरणीय अनुकरणीय र जीवन्त रहिरहने छन् । वहाँ प्रति मेरो अन्तरमनबाटै श्रद्धा सुमन !


अन्त्यमा हाल कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ स्थित माछापुच्छ्रे माविले फागुन १२ गते मनाउन गइरहेको ५७ औं वार्षिकोत्सवको अवसरमा विद्यालयको स्थापनाकालदेखिकै पूर्व शिक्षक, पूर्व प्रधानाध्यापक तथा एक स्थानीयवासीको नाताले वहाँ लगायत अन्य संस्थापक अग्रजहरु, जग्गादाताहरु, स्वेदशी विदेशी सहयोगी दाताहरु तथा विद्यालयका शुभचिन्तकहरु सबैमा सधन्यवाद हार्दिक आभार व्यक्त गर्दछु ।

माछापुच्छ्रे गाउँपालिका वडा नं २ स्थित माछापुच्छ्रे मावि


(लेखक माछापुच्छ्रे स्कुलका पूर्व शिक्षक, पूर्व प्रअ र सार्दिखोला गाविसका पूर्व अध्यक्ष हुन्)

तपाईको प्रतिक्रिया