पुम्दीकोटमा महायज्ञ जारी

पोखरा ।
पुम्दीकोटमा कैलाशधाम निर्माण गर्ने परिकल्पना साकार गर्न आयोजना गरिएको ज्ञान महायज्ञमा भक्तजनको भीड लागेको छ । आइतबार गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी महायज्ञ स्थल पुगे ।
पुम्दीकोट कोट विकास समितिद्वारा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमाको पाँचौ दिन पनि श्रद्धालुको उत्साहपूर्ण उपस्थिति रह्यो । राधिका दासीको श्रीमद् भागवत वाचनमा भक्तजन रमाएको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बराल बताए । फागुन ७ देखि सुरु भएको महायज्ञ १५ गतेसम्म चल्नेछ ।
पुम्दिकोटकोट विकास समिति अध्यक्षसमेत बरालले आइतबार २० हजार श्रद्धालु त्यहाँ पुगेको जनाए । हरेक साँझ हुने महाआरतीमा पनि भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ । पोखरादेखि पुम्दीकोटसम्म निःशुल्क बस सेवा सञ्चालन भएको समितिका सल्लाहकार मातृका बरालले जानकारी दिए ।
पुम्दिकोटमा २०७३ र ०७९ मा ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव भइसकेका छन् । महायज्ञमा १ हजार रुपियाँसम्मको दानर्् दान पेटिकामा खसालिने, १ हजार देखि ३ हजारसम्म दान गर्ने दाताको नाम अभिलेखमा राखी रसिद प्रदान गरिने, ३ हजार १ रुपियाँदेखि ५ हजार रुपियाँसम्म दान गर्ने दातालाई प्रमाणपत्रद्वारा सम्मान गरिने, ५ हजार १ रुपियाँदेखि १० हजारसम्म दान गर्ने दातालाई फ्रेमसहितको प्रमाणपत्रद्वारा रामनमीले सम्मान गर्ने गरिएको छ ।
१० हजार १ रुपियाँदेखि २५ हजारसम्म दान गर्नेलाई फ्रेमसहितको प्रमाणपत्र तथा उक्त रकम दाताको नाम शिलालेखमा लेखिनेछ । २५ हजार १ रुपियाँदेखि ५० हजारसम्म दान गर्ने दातालाई माथिका सम्मानसहित भजनकीर्तनले स्वागत गर्दै मञ्चबाट नाम घोषणा गरिनेछ । ५० हजार १ रुपियाँदेखि १ लाखसम्म दान गर्नेलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिनेछ भने १ लाख १ देखि २ लाख २५ हजार ९९९ सम्म दान गर्नेलाई माथिका सम्मानसहित आकर्षक मायाको चिनो प्रदान गरिनेछ ।
२ लाख २५ हजारदेखि ५ लाखसम्म दान गर्ने दातालाई माथिका सम्मानसहित परिसरभित्र रहेका कुनै एक शिवलिंग उनको नामबाट स्थापित गरिनेछ । ५ लाख रुपियाँदेखि माथि दान गर्ने दातालाई आयोजक समितिको निर्णयले उचित सम्मान दिइने समितिका व्यवस्थापक रुद्रनाथ पौडेलले बताए ।
तपाईको प्रतिक्रिया