इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा कास्की प्रहरीमा उजुरी

पोखरा ।
लामापाटन ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ । महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टरविरुद्ध कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको हो ।
जाहेरी दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान तयारी भइरहेकाे कास्की प्रहरीको जानकारी दिएकाे छ । परिवार स्राेतका अनुसार ती इन्स्पेक्टर र महत प्रेमीप्रेमीका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।
घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् ।
२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया