‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ नाराका साथ फोहोर संकलन दौड

समाधान संवाददाता २०८१ फागुन १२ गते १९:११


पोखरा ।

Advertisement

पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोकस्थित प्रतिभा माविमा भेला भएका ३ हजार बढी युवालाई सहभागी गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको थियो ।

मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका तथा टार्गेट इन्टरनेसनल एजुकेसन लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको दौडको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।

दौडको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्ता दौडले आम नागरिकमा फोहोर नगर्नका लागि जागरण ल्याउन सहयोग पुग्ने बताए । सहरमा देखिने फोहोर मात्र नभएर नागरिक भित्रको नकारात्मक सोचलाई बदल्न पनि यस्ता कार्यक्रमले सघाउने उनले बताए ।

फोहोर संकलन दौडले आमनागरिकमा सरसफाईको महत्व अझै बढि बुझ्न र व्यवहारमा लागु गर्न प्रेरित गरेको पनि उनले बताए । ‘सडकमा देखिएको फोहोर मात्र होईन हरेक नागरिकले आफूभित्रको नकारात्मक सोचलाई पनि सफा गर्न जरुरी छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सकारात्मक सोचले पनि बातावरण सफा राख्न सघाउँछ ।’

Advertisement

सबै नागरिक मिलेर सरसफाईलाई दैनिकीको हिस्सा बनाउँदा स्वच्छ पोखरा, स्वच्छ गण्डकी प्रदेश र सिंगो देशलाई नै स्वच्छ बनाउन सकिने उनले बताए । वातावरणीय प्रभाव र पर्यावरणमा देखिएको असर न्यूनीकरण गर्नु, प्रदूषण रहित वातावरण सिर्जना गर्नु सबैको दायित्व रहेको उनको भनाई छ । बाटोमा फोहोर फ्याकेर झ्यालबाट हेरेर बस्दै महामनगरलाई गालि गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ, मुख्यमन्त्री पाण्डेले भने।

मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वच्छ, सुन्दर, र हरियाली सहर निर्माणका लागि आम नागरिकलाई सचेत गराउने उद्देश्यले पोखरा ट्र्यास कलेक्सन २०२५ आयोजना गरिएको बताए। उनले सफाइ अभियान मात्र पर्याप्त नभई फोहोर नै हुन नदिने बानी विकास गर्नुपर्नेतर्फ सबैलाई जागरूक गराए।

‘सहर सफा गर्नु भन्दा पनि फोहोर हुन नदिनेतर्फ ध्यान दिन आवश्यक छ,’ खनालले भने, ‘हामी सफाइ अभियानमा मात्र सीमित हुने होइन, दीर्घकालीन रूपमा वातावरण संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्छ।’ उनका अनुसार, यस दौड कार्यक्रमको मुख्य उद्देश्य युवा, विद्यार्थी, र नागरिकहरूलाई स्वच्छता र वातावरण संरक्षणप्रति सचेत बनाउँदै सामूहिक रूपमा फोहोर नगर्ने बानीको विकास गराउनु हो। उनले पोखरामा यस्तो अभियान निरन्तर चल्नुपर्ने आवश्यकता औंल्याउँदै, यस अभियानले नगरबासीलाई ‘म बद्लिन्छु अनि मेरो सहर बद्लिन्छ,’ भन्ने सोच अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे।

प्रतियोगिताको पावर्ड बाइ पार्टनरको रूपमा रहेको टारगेट इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक तथा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) केन्द्रिय उपाध्यक्ष भुवन क्षेत्रीले पोखरालाई सधैं स्वच्छ र सुन्दर राख्न प्लास्टिकजन्य सामग्रीको न्यूनतम प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा ट्र्यास कलेक्सन २०२५ कार्यक्रममा सहभागीता जनाउन पाउँदा आफुलाई गर्व लागेको बताए। उनले विशेष गरी विद्यालय तथा कलेजका विद्यार्थीहरूको संलग्नताले पर्यावरणिय संरक्षणको महत्त्वबारे नयाँ पुस्तामा सकारात्मक संदेश प्रबाह गर्ने बताए।

‘अभियानले समाजमा ‘फोहोर गर्नु हुँदैन’ भन्ने सोच विकसित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘पर्यटकीय राजधानी पोखरा स्वच्छ रहोस्, यस्तो अभियानको आवश्यकता नै नपरोस् भन्ने अपेक्षा छ।’

एक दिनको प्रतियोगिताले मात्रै सहर सफा नबनाए पनि, यसले नागरिकलाई फोहोर नगर्ने बानी बसाल्न प्रेरित गर्छ भन्ने अपेक्षा छ । स्वच्छ पोखराका लागि प्रत्येक नागरिकमा सचेतना आवश्यक छ।

कार्यक्रममा स्कुल पार्टनरको रुपमा रहेको प्रतिभा माविका प्राचार्य किरण सापकोटाले युवापुस्तालाई हरियालीको महत्त्व, जलवायु परिवर्तन, र स्वच्छ सहरको अवधारणाबारे सचेत गराउन विभिन्न निकायसँग सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार, विद्यालयस्तरका विद्यार्थीहरूको सहभागिताले उनीहरूमा वातावरण संरक्षणप्रति चेतना बढाउने अपेक्षा गरिएको छ।

‘पोखरा ट्र्यास कलेक्सन २०२५ पावर्ड बाइ टार्गेट इन्टरनेसनल एजुकेशन’ अन्तर्गत भएको ५ किमी दौड प्रतियोगिता वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन, र नागरिकलाई फोहोर नगर्न सचेत बनाउने उद्देश्यले आयोजना गरिएको थियो।

दौड नदीपुरस्थित प्रतिभा माविबाट सुरु भई पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक, न्युरोड हुँदै पुनः प्रतिभा माविमा पुगेर समापन भएको थियो।

दौडमा दुई जनाको जोडी बनाएर फोहोर संकलन गर्नुपर्ने नियम छ । एक घण्टाको दौडमा प्रतियोगिले संकलन गरेको फोहोरलाई जोखेर सबै भन्दा धेरै फोहोर संकलन गर्नेलाई पुरस्कार वितरण गरिने फाउन्डेसनका सदस्य सृष्टि घिमिरेले बताउनुभयो । विभिन्न विद्यालय र तथा कलेजका विद्यार्थी नेपाल प्रहरी, नेपाली सेना, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि दौडमा सहभागी भएका थिए ।

वातावरण संरक्षणमा आम नागरिकमा जागरुक गराउन मैनादेवी फाउन्डेसले देशका अन्य सहरमा पनि यस्ता कार्यक्रम गरेको छ । फोहोर नगर्नका लागि सेचत गराउने उद्देश्य फाउन्डेसनको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोश्रोलाई २५ हजार र तेश्रोलाई १५ हजार रुपैयाँ पुरस्कार दिइएको छ। फाउन्डेसनले यसअघि यस्तै कार्यक्रम काठमाडौंमा तीनपटक र चितवनमा एकपटक आयोजना गरेको थियो।

दौडमा दुईजनाको जोडी बनाएर फोहोर संकलन गर्नुपर्ने नियम बनाइएको थियो । एकघण्टाको दौडमा प्रतियोगिले संकलन गरेको फोहोरलाई तौलेर सबै भन्दा बढी तौल फोहोर संकलन गर्नेलाई पुरस्कार वितरण गरिने फाउन्डेसनले बताएको छ । विभिन्न विद्यालय तथा कलेजका २०० सय जना स्वयंसेवक परिचालित प्रतियोगितामामा विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेना, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया