
जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिकामा निर्माणाधीन लेते र धम्पु जोड्ने अलपत्र पुल निर्माणको काम पुनः एक वर्षपछि सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको अख्तियारीमा परेको कालीगण्डकी नदीमा निर्माणाधीन पुलको अधुरो काम फागुन पहिलो सातादेखि सुरु भएको हो ।
राष्ट्रिय गौरवको मुख्य राजमार्ग सडकसँगै जोडिएको कालीगण्डकीमा निर्माणाधीन ३५ मिटर लम्बाइको पक्की पुलको पछिल्लो भौतिक प्रगति ३५ प्रतिशतमात्रै छ । बेनी जोमसोम कोरला सडक राजमार्गदेखि पूर्वमा अवस्थित थासाङ गाउँपालिकाको ओझेलमा परेका ग्रामीण बस्ती जोड्ने सडक पुल निर्माणका लागि २०७६ साल फागुन २९ गते ठेक्का सम्झौता भएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालय गण्डकी अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत लेते धम्पु पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । ५ करोड ५ लाख लागतमा निर्माणको जिम्मा कम्पनी देव एन्ड सायर कन्स्ट्रक्सनले लिएको थियो ।
प्रतिकूल मौसम, कोरोना कहर र निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणको काम अलपत्र पर्दै आएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले पटक पटक निर्माण कम्पनीलाई पुल निर्माणको काममा फर्किन ताकेता गरेको भए पनि गत वर्षको जेठदेखि पुल निर्माणको काम ठप्पै बनेको थियो ।
थासाङको सौरु, सिर्खुम, टिटी, ताक्लुङ, कुञ्जो र धम्पु लगायतका गाउँ जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पुलको पटक पटक म्याद थप भइसकेको छ । पुलको पछिल्लो पटक थपिएको म्याद २०७९ चैत २९ गतेसम्म छ । पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले मुस्ताङको लेते धम्पु पुल निर्माणको बाँकी कामले फागुनदेखि गति लिएको उल्लेख गरे ।
थासाङका सौरु, सिर्खुम, टिटी, ताक्लुङ, कुञ्जो र धम्पु लगायतका गाउँलाई सडकसँग जोड्ने पुलको भौतिक प्रगति ३५ प्रतिशत छ
८ दशमलव ४ मिटर चौडा सिंगल स्पानको पक्की पुल निर्माण योजनामा हालसम्म निर्माण कम्पनीले डेढ करोड रकम भुक्तानी लगिसकेको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार चालु वर्ष पुल निर्माणका लागि १ करोड २० लाख बजेट विनियोजन भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाका दुर्गम बस्ती जोड्ने सडक सञ्चालनका लागि निर्माण भएको पक्की मोटरे बल पुल निर्माणका लागि कालीगण्डकी नदी डाइभर्सन गरी मुख्य राजमार्ग सडकको साइडतर्फ आरसिसी फाउन्डेसन र एबुटमेन्ट निर्माणको काम भइरहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । चालु वर्षको बजेटले मुख्य सडकतर्फको साइडमा आरसिसी, एबुटमेन्टसहित क्याप ढलान सम्पन्न हुने बताए ।
यसअघि, थासाङको कालीगण्डकी नदीमा निर्माणाधीन लेते धम्पु पुलको मुख्य सडक पारी पूर्वतर्फ एबुटमेन्टसहितको क्याप ढलान भइसकेको छ । अहिले पुल निर्माणका लागि पर्याप्त जनशक्ति र उपकरण परिचालन भएका छन् । ढिलो भए पनि प्रतिकूल मौसमका बाबजुद निर्माण कम्पनी काममा फर्किएकाले बजेट अनुसार तोकिएको काम समयमै सम्पन्न हुने कार्यालय प्रमुख श्रेष्ठले अपेक्षा गरे ।
पुल निर्माणको अलपत्र काम पुनः सुचारु भएसँगै त्यस क्षेत्रका स्थानीय नागरिक उत्साहित भएका छन् । थासाङको दुर्गम कालीगण्डकीपारि रहेका गाउँहरु पुल नहुँदा निकै समस्यामा पर्दै आएका छन् । त्यस क्षेत्रका स्थानीय किसानले उत्पादन गरेको कृषि उपजका पुल नहुँदा बजारीकरणमा समेत निकै समस्या पर्ने गरेको छ ।
लेते—धम्पु पुल निर्माण सम्पन्न भएमा कालीगण्डकी पारिका आधा दर्जन बस्तीका स्थानीय कृषकले उत्पादन गर्ने कृषि उपजको सहज बजारकरण गर्न सजिलो हुने स्थानीय नवीन शेरचनले जानकारी दिए । ५ वर्ष बितिसक्दा पनि पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको र अब पनि विकास पूर्वाधारका काममा ढिलासुस्ती गर्न नहुने शेरचनको भनाइ छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया