म्याग्देलीको भविष्य : परिश्रम कि लुट !

‘ल्हासामा सुन छ, कान मेरो बुच्चै !’ यो भनाई अक्सर म्याग्दी जिल्लाको जनजिब्रोले प्रयोगमा ल्याउन रुचाइरहने लोकोक्ती पनि हो । दुरी, सहजता र यामका हिसाबले तुलनात्मक रुपमा नेपालका अन्य प्राय जिल्लाहरुका तुलनामा हामी म्याग्देलीहरुका लागि ल्हासा सहज गन्तव्य स्थल रहेको थियो । रोजगारी वा व्यापारिक हिसाबले ल्हासाको यात्रा कम खर्चिलो मानिन्थ्यो । खेतीवाली लगाएर वा थन्क्याएर सामल–तुमल वा बाटाखर्च सम्मको जोहो गरेपछि रोजगारापेक्षी युवाहरु वा व्यापारीहरु बिना पैसा ल्हासा पुग्ने गर्दथे ।
जसका लागि उनीहरुले प्रतिव्यक्ति १/२ पाथि चामल वा पिठो साम्ले थैलामा बोक्नु पथ्र्यो र सोहि थैला माथि ओड्ने ओछ्याउने काम्लो र पकाइ तुल्याइ गर्ने ताप्के कसौडी बोक्नु पथ्र्यो । यही नै उनीहरुको बाटाखर्च कहलिन्थ्यो । ल्हासामा अधिकांश युवाहरुको रोजगारीको आधार सुनखानी हुने गर्दथ्यो । सामान्यतः एक युवाले आवधिक रुपमा ६ महिना ल्हासामा काममा विताउने र बाँकी महिना घरको खेतिपातीमा बिताउने गर्दथे । करिब १ महिनाको त जातेआते अवधि नै हुने गर्दथ्यो । बुढापाकाको भनाइ अनुसार सुनखानीमा काम गर्ने जब्बर युवाले मासिक ५ तोला सम्म कमाई गर्दथ्यो ।
उल्लेखित परिबेश हेरे–देखेर नै महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुना मदन महाकाव्य लेखेका हुन् भनिन्छ । नवबधु मुनालाई घरमा छाडेर, प्रियतमालाई सुनै–सुनले छाउने अभिलाषा बोकेर युवा मदन सुन कमाउन ल्हासा गएको, बाटोमा बिरामी परेको, सँगै गएका साथिभाइहरुले मदनलाई छाडेर हिडेको, बाटोमा अलपत्र मदनलाई हिमाली वस्तीमा रहने भोटे दाइले घरमा लगेर स्याहार सुसार गरि निको तुल्याएको सुन्दर आख्यान उक्त महाकाव्यमा उल्लेख छ ।
सुनखानीमा अक्सर नेपाली कामदारहरुकै संख्या अत्याधिक हुने गर्दथ्यो । सुनखानीका ठेकेदारहरु पनि प्राय काठमाण्डौ उपत्यकावासी नेवारहरु अधिक र मुस्ताङ थाकखोलाका थकालीहरु न्यून संख्यामा रहन्थे भन्ने भनाइ छ । युवाहरु अत्यन्त जोश जाँगर र उर्जाका साथ सुनखानीमा काम गर्दथे । यदाकदा उनीहरुलाई तिब्बती पठारको चिसोले सताउँथ्यो । युवाहरु बिरामी पर्ने, बिरामी हुँदाहुँदै कति मर्ने या निको हुने क्रम चलिरहन्थ्यो । कतिपय युवाहरुले त तिब्बती भोटेनीहरुसँग माया पिरती गाँस्ने र उतै घरजम गरी जीवन बिताउने पनि गर्दथे । अहिले पनि तिब्बत इलाकामा नेपाली थर जनाउनेहरुको बसोबास रहेकै छ ।
कतिपय राखु, पुला, मल्लाज, बागलुङ सम्मका पशुपालकहरुले आफ्नो ठूलो संख्याको घोडा या भेडाको समुहलाई वर्षात्को समयमा तिब्बती पठार सम्म लैजाने गरेको, तिब्बती उच्च समस्थलीहरुको मिठो, पोषिलो घाँसे चरनले पशुवस्तुहरु स्वस्थ तथा उत्पादनशील हुने गरेको इतिहास हामीले भुल्नु हुँदैन । २०१७ सालमा यो मुलुकका पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको चीन भ्रमणको अवसरमा अपर मुस्ताङ क्षेत्रसँग सिमा जोडिएका चरन क्षेत्रहरु जसलाई परापूर्वकाल देखि धौलागिरी क्षेत्रका पशुपालक कृषकहरुले प्रयोग गर्दै आइरहेका थिए, उनीहरुका लागि चरन क्षेत्र खुला गर्न, त्यहाँका राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाउएनलाई सँग अनुरोध गरिएको थियो ।
बिपी कोइराला धौलागिरी क्षेत्रका पशुपालक कृषकहरुको आवश्यकतासँग संवेदनशिल रहेको भन्ने कुरा यसले दर्शाएको छ ।सो भन्दा धेरै अगाडि नेपाल तिब्बत युद्धका अवसरमा राणा प्रधानमन्त्री जंगबहादुरले तिब्बतको शिकारजोङ इलाका कब्जा गरि तिब्बतमा नेपाली मुद्रा चलाउने, तिब्बतमा नेपालीहरुका लागि व्यापारीक कोठी खोल्न खुला गरिदिने, तिब्बतले नेपाललाई बार्षिक १० हजार रुपैयाँ सिर्तो तिर्नुपर्ने गरि सम्झौता गरिएको थियो । सो युद्धमा जंगबहादुरले म्याग्दीको बेनी बजार निवासी व्यापारीबाट ऋण कर्जा लिएको इतिहास साक्षी छ ।
महाराज चन्द्र शमशेरका पालामा, जुन बेला जापानीहरुले दियालो वा सिठा बालेर रातको अन्धकार भगाउथे, तत् बेलासम्म जापानमा एउटा पनि हाइड्रो प्रोजेक्ट उत्पादन हुन सकेको थिएन, त्यही बेला आलिशान सिंहदरबार बनिसकेपछि, दरबारलाई बिजुलीले झिलिमिलि बनाउनुपर्ने आवश्यकता महसुस गरियो, त्यसका लागि फर्पिङको चन्द्रज्योती जलविद्युत आयोजना सम्पन्न हुन पुग्यो । चन्द्रज्योती जलविद्युत उत्पादनमा पनि म्याग्दीले दरबारलाई ऋण उपलब्ध गरायो । त्यत्रो वैभवता र सम्पन्नता बोकेको म्याग्दीले अहिले ‘टुटीखुई’ प्रवृत्तिमा आँफूलाई निरिह ठान्ने र म्याग्दीसँग कुनै त्यस्तोखाले गौरवमय इतिहासनै थिएन भनि आँफूलाई हिनताबोधमा लैजाने ग¥यौं भने निश्चयनै पनि हामीहरुको भविष्य समुज्वल हुन सक्दैन । भविष्यमा आँफूलाई हरेक हिसाबले सक्षम बनाउनु छ भने हिजोको गौरवमय इतिहासबाट पाठ सिक्नु पर्दछ र सोहि बमोजिम आँफूलाई अग्रसर तुल्याउनु पर्दछ ।
आँफूलाई हरेक हिसाबले सक्षम बनाउनु छ भने हिजोको गौरवमय इतिहासबाट पाठ सिक्नु पर्दछ र सोहि बमोजिम आँफूलाई अग्रसर तुल्याउनु पर्दछ
म्याग्दीको वैभवता सम्पन्नतामा टेवा पु¥याउने तिब्बती व्यापार वा सुनखानीको रोजगारी, हाल टुटिसकेको छ । यो टुटाउनुको पछाडि अत्यन्त शालीन, सुन्दर र सिधा नागरिक तथा शासकहरुको मुलुक भनि चिनिएको तिब्बत माथि कम्युनिष्ट अतिवादले कब्जा जमाउनु नै हो । जब तिब्बत चीनको कब्जामा पुग्यो तब देखि नै बेनी–कोराला हुँदै तिब्बत सम्म चल्ने व्यापार बन्द हुन पुग्यो । चीनका माओत्सेतुङको फोटो राखेर भारत वा अमेरिकाका लागि बफादारिता प्रदर्शन गर्ने कम्युनिष्ट भनाउँदाहरुले कोराला नाका खोल्न–खुलाउन, नेपाल तिब्बत व्यापारलाई पूर्ववत अवस्थामा फर्काउन, नेपाली युवाहरुलाई विना महंगो लगानी रोजगारीमा फर्काउन पहल हुनु त कता हो कता बरु युवाहरुलाई आफ्नो इतिहास र परम्पराबाट पथभ्रष्ट तुल्याएर सामान्य जीविकोपार्जनका लागि मेहनत होइन, लुट्न र चोर्न सिकाउने काममा हामी अब्बल बन्न पुग्यौं ।
हामीले म्याग्देली युवाहरुलाई उद्यमशिलता, पौरखता, सम्पन्नता र ऐतिहासिक वैभवताका बारेमा कहिल्यै शिक्षा दिन जानेनौं, केबल डाह, इष्र्या, वैमनश्यता र राजनैतिक पूर्वाग्रहको पाठ सिकायौं । युवाहरुमा मेहनेत वा परिश्रमको फल होइन कि अरुले मेहनेत गरि कमाएको कमाईलाई डाह गर्न सिकायौं । यही डाह, इष्र्या, आग्रह वा पूर्वाग्रहले आज म्याग्देली युवाहरु उद्यम, व्यापार वा व्यावसाय गर्नुपर्छ भन्ने मान्यतामा भन्दा पनि मुखमा टालो बाँधेर छिमेकीले आर्जन गरेको धन लुट्न दिक्षित तुल्यायौं । यो तुच्छ र पाप कर्मका लागि म्याग्दीको राजनीतिको अगुवाई गर्ने हामी सबै दोषी वा जिम्मेवार छौं । यसमध्येमा पनि उत्तरको भजन गाएर दक्षिणको रोटी सेक्ने कम्युनिस्ट दलालहरु सबभन्दा बढी जिम्मेवार छन् ।
शालिग्राम शिलाद्वारा ओतप्रोत पवित्र कालिगण्डकीको सिञ्चन क्षेत्र म्याग्दीले इतिहासमा नेपाल एकिकरणको सहयात्री बन्ने, राजालाई ऋण दिने, मानवीय जीवनका सामान्य, सरल, सुक्ष्म, उच्च एवं गम्भिर सवालहरुमा सम्वेदनशीलता देखाउने र आबश्यकतानुसारको व्यवहार प्रदर्शन गर्ने तुच्छ, घृणीत, निन्दनीय वा लज्जास्पद विषय वा कार्यहरुबाट सकेसम्म आँफूलाई अलग्गै राख्ने प्रयत्न गर्दै आइरहेको छ । कला, साहित्य, सँस्कृतिका क्षेत्रमा पनि म्याग्दीसँग अपार सम्पत्ति छ भन्ने स्वभाविक प्रामाणित भएको छ । यी सबै वैभवतालाई राज्य वा सरकारले सामान्य रुपमै भएपनि पहिचान गर्ने र स्वामित्व ग्रहण गर्ने काम गरोस भन्ने अपेक्षा हो । म्याग्देलीहरुका यीनै अपेक्षाहरुलाई कुल्चीएर असम्भव, काल्पनिक र अमानवीय सपनामा युवा शक्तिलाई रुमलेर केबल दरिद्रता र अनिकालको भजन गाउन सिकाईयो भने अवश्यनै पनि हाम्रो जिल्लाको युवा शक्ति थला पर्न जानेछ ।
कुनै स्थान वा क्षेत्र विशेषको विकास त्यहाँका ऊर्जाशील युवाहरुको मेहनत, उनीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षासँग गाँसिएको हुन्छ । शिक्षा स्वभावैले पनि मानिसलाई दिक्षित÷प्रशिक्षित र जागृत तुल्याउने आधार हो । शिक्षाले मानवीय जीवनको सोचन शक्ति र चेतन क्षमतालाई उजागर गर्दछ । हाल हामीले म्याग्दीमा युवा जमातमा सिँचन गरेको शिक्षाले उनीहरुलाई विगतको इतिहासप्रति गर्व गर्दै सुरक्षित भविष्यतर्फ अग्रसर गराएको छ वा दरिद्रता र अनिकालको भजन गाउन लगाएर कसैका लागि कसैको उछितो काढ्न वा कसैका घरबास वा शरीरमाथि ढुंगा वर्षाउन सिकाएका छौं, गम्भीर समीक्षाको विषय रहेको छ ।
बहुदलीय प्रजातान्त्रिक व्यवस्था कालदेखि हालको गणतान्त्रिक कालसम्म आइपुग्दा म्याग्दी जिल्लालाई लाल किल्ला भनि उपमा दिने, गर्व गर्न सिकाउने र लाल किल्लाबाटै गरीबी उन्मुलन वा विकासको मुल फुटाउँछौं भनी गफ चुट्नेहरुले चिनिया कम्युनिस्ट पार्टीको एकाधिकारपूर्ण शासनमा आधारित रहेको तिब्बतसँगको आवत जावत, व्यापारिक बन्दोवस्ती, रोजगारी वा अन्य खालका साँस्कृतिक आदान प्रदान कायम राख्न सक्छ कि सक्दैन भन्ने विषयमा हामीले लामो समय देखि प्रतिक्षा गर्दै आयौं ।
म्याग्दीलाई लाल किल्ला कायम गराउनेहरु केन्द्रीय राजनीतिका पुच्छरसम्म हुन् र यिनीहरुले झिंगासम्म धपाउने हैसियत बाहेक अरु केही गर्न सक्दैनन् भन्ने पनि प्रमाणित भइसकेको छ । संघीय राजनीतिमा कम्युनिष्टको नामबाट देखा पर्दै आएकाहरुको स्थिति हेर्दा उनीहरु वास्तवमै हत्या, हिंसा, लुटपाट, प्रतिशोध, दम्भ, अहंकारको राजनीति गर्ने, सो राजनीतिलाई माओत्सेतुङ समेतको फोटो सजाएर चीनलाई बदनाम गराउने तर धर्मान्तरणको नाममा, उग्रता र असहिष्णुता फैलाएर साँस्कृतिक विचलन गराउने नाममा भारत, अमेरिका र युरोपियन युनियनको हुण्डी खाएर युवाशक्तिलाई पथभ्रष्ट तुल्याउने दलालहरु हुन् भन्ने प्रष्ट भइसकेको छ । यति प्रष्ट हुँदाहुँदै पनि हाम्रो जिल्लाको युवाशक्ति अझै पनि आफ्नो भाग्य र भविष्य यिनै दलालहरुसँग गाँस्सिएको छ भनेर पछि परेको देख्दा उदेक लाग्ने गर्दछ ।
अन्त्यमा, म्याग्देली युवाहरुलाई म यहि आग्रह र अनुरोध गर्न चाहन्छु, हामी म्याग्देलीहरुसँग ओझिलो, गर्विलो र शानदार इतिहास छ । हाम्रो इतिहासले हामीलाई दरिद्रता र अनिकालको भजन गाउन सुहाउँदैन । हाम्रो इतिहासले हामीलाई अरुको डाह, इष्र्या र रिस गर्न होइन आँफै गरि खान सिकाउँछ । तसर्थ, अब हामीले मुखमा टालो बाँधेर लुट्न जाने राजनीति होइन, उद्यमी वा व्यवसायी बन्न सिकाउने राजनीतिको अनुशरण गरौं ।
शर्मा गण्डकीका मुख्य न्यायाधिवक्ता हुन् ।
तपाईको प्रतिक्रिया