सम्झनामा बाँचिरहेको एउटा अगुवा

आकासमा बिहानैदेखि धुम्म कालो बादल मडारिरहेको अवस्था । आकासले नै पृथ्वी र पृथ्वीमा रहेका सम्पूर्ण चराचर जगतमाथि नै आक्रमण गर्ला जस्तो । प्रकृति पनि वाक्कदिक्क लाग्दो, आकास धुम्म बादल र हल्का पानी परिरहेको । राम्रोसँग वर्षा भएर फाट्न नसकिरहेको त्यो आकास । मेरो जीवनकै दुःखद्, भयानक, डरलाग्दो दिन जुन दिन आज पनि सम्झँदा कहाली लागेर आउँछ । विपनीमामात्र होइन, सपनीमा पनि झस्काइरहन्छ, रुवाइरहन्छ ।
२०७५ साल फागुन १५ अर्थात् आजकै दिन ठीक ७ बर्ष अगाडि तेह्रथुमको आठराईमा विमानस्थल निर्माणको अध्ययनका लागि बिहान ८ः४५ त्रिभुवन विमानस्थलबाट चुहानडाँडा हेलिकोप्टर उडेको थियो । चुहानडाँडाको कार्यक्रम सकेर फर्कने क्रममा एक्कासी पाथीभारा मन्दिर जाने आदेश र निर्णय कहाँबाट आयो, त्यो रहस्यको घेराभित्र नै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी एवं यती एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पा, प्रधामन्त्री कार्यालयका निजी सचिव युवराज दाहाल, नागरिक उडड्यान प्राधिकरणका उपनिर्देशक धु्रव भोछीमय र इन्जिनियर वीरेन्द्र श्रेष्ठ, मन्त्रीज्यूका अंगरक्षक अर्जुन घिमिरे र पाइलट प्रभावर केसीसहित ७ जना त्यसमा सवार थिए ।
प्रकृति पनि रोइरहे जस्तो बिहानैदेखि भएर पनि होला दिन नै कालो र अध्यारो । पाथीभरा मन्दिर दर्शन गरिसकेर फर्कनका लागि हेलिकप्टर उडेको केही मिनेटमा नै आकासमै कालो आगोको मुस्लो बलिरहे जस्तो देखियो । यो हल्लापछि हेलिकप्टर दुर्घटनामा परेका फोनहरू आउन थाले । ती फोन यस्ता रहे, जुन फोन उनीहरू नै अनविज्ञ भए जस्तो गरी दाइ आज कता जानु भएको थियो, कति बेला फर्कनु हुन्छ, एक पटक भेटघाट गर्नुपर्ने थियो आदि आदि । जुन फोन पाथीभाराबाट नै आएका थिए तर घटनाका बारेमा जानकारी नै नभए जस्तो गरी । एउटै व्यक्तिले पटक पटक फोन गर्दासमेत चौंथो पटकमा समेत घटनाको जानकारी गराउन नसकिरहेको अवस्था थियो ।
सिंहदरबारभित्र मान्छेहरू ओहोरदोहोर गरेर दौडिइरहेका देखिन्थे भने कति मान्छे हस्याङ्ग र फस्याङ्ग कसलाई के भन्न खोजिरहेको जस्तो तर व्यक्त गर्न नसकिरहेको अवस्था थियो । बारम्बार आएका फोनहरूका अनुत्तरित प्रश्नहरूको जवाफ दिन सक्ने अवस्था नै रहेन । त्यसको केही समयमा त सामाजिक सञ्जाल तथा मिडियाहरूले गृह मन्त्रालयको स्रोत भन्दै पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सवार हेलिकप्टर दुर्घटना भई हेलिकप्टरमा सवार सातै जनाको घटनास्थलमा नै निधन भएको कुरा आयो ।
मन थामी सक्नु र धानी सक्नु भएन र थिएन पनि । तर पनि मनभित्र एउटा आशाको दियो जीवित नै थियो । हरेक हवाइ यात्रामा दाजुले दिएका अभिव्यक्ति, ती वाणी जसले गर्दा पनि दाजुलाई मात्र भए पनि दुर्घटनाबाट घाइते भए पनि जीवित अवश्य भेट्नेछु भन्ने लागिरह्यो । त्यो पनि केवल आशमा मात्र सीमित हुन पुग्यो । जुन खबर अब सत्य नहोस् भनेर हजार पटक कामना गरें तर सकिनँ र पनि सत्य बन्न बाध्य हुँदो रहेछ ।
राजनीति होस् वा समाजका विविध क्षेत्र, अझै रवीन्द्र अधिकारीको सम्झना र अभाव महसुस भइरहेको छ
यो खबरले परिवार, इष्टमित्र, आफन्तजन तथा शुभचिन्तक सबैका आँखाबाट बलिन्द्र धारा आँसु बग्न थाले । कोही, कसैका आँख आँसु थाम्न सक्ने अवस्था रहेन । जुन घटना साच्चिकै दुर्घटना थियो कि दुर्घटनारुपी थियो भन्न सक्ने अवस्था रहेन । म आज पनि विश्वास गर्न सकिरहेको छैन । यो कलियुगको सत्यकथा हो कि सत्ययुगको रामायण पढेको सुनेको कथा हो या घटना, दुर्घटना हो । जसको सत्य–तथ्य भोलिका दिनमा समयले नै बताउनेछ भन्ने विश्वास लिएको छु ।
नेपालमा यस्ता घटना धेरै भएका छन् । तर पनि ती सबै रहस्यको घेराभित्र नै रहेका छन् । तर के गर्नु, जे नहुनु थियो भयो, झुट भयो वा सत्य । न त अब दाजुलाई जस्ताको तस्तै फिर्ता ल्याउन सकिन्छ वा जीवित नै देख्न पाइन्छ । केवल प्रश्नमा मात्र सीमित गर्न सकिन्छ ।
आज पनि पोखराभित्र र देशैभर हजारौ मन छन्, जुन दाजुको प्रतीक्षामा नै बाँचिरहेका छन् । कल्पनामा सम्झिइरहेका छन् । राजनीति होस् वा समाजका प्रत्येक क्षेत्र, राज्य र समाजका हरेक अंगले खोजिरहेको छ । प्रत्येक व्यक्ति व्यत्ति देखि लिएर सबैको एउटै ध्यान हुन्छः अब रवीन्द्र अधिकारी हेल्लो भन्दै, हात हल्लाउँदै हँसमुख लिएर के छ, ठीक छ नि गाह्रो साह्रो अप्ठ्यारो भए मलाई सम्झनू है भन्दै आउने छैन । दाजुलाई अब केवल सम्झना गर्न सकिन्छ तर देख्न र छुन सकिँदैन । सबैले देख्न, छुन र आलिङ्गनमा लिन खोजिरहेको मान्छेको प्रतीक्षामा हजारौं नयरूले खोज्दा खोज्दै आँखा पट्याइरहेका छन् । तर भेटन सकिरहेका छैनन् ।
आज ती सबै नयनले खोजीरहेको मध्ये यो एउटा उदाहरणको रूपमा लिन सकिन्छ । जुन आजको दिनदेखि पोखरामा सुरु हुन लागिरहेको लिक्टेचर फेस्टिभल अथवा साहित्यक महोत्सव । जुन ७ औं स्मृति दिवसको दिन परेर समुद्घाटन हुन लागिरहेको छ । पोखरामा आउने हरेक साहित्यिक अनुरागीले फेवाताल किनारामा खोजिरहेको पात्र हो रवीन्द्र । माछापुच्छ«े हिमालको त्यो छायाँ अनि अस्ताउँदै गरेको सूर्यको किरण सँगै त्यो हँसिलो अनि रसिलो अनुहार, जो सबैलाई जोश, जाँगर र उत्साह भर्ने, त्यो दाजुको दिवंगत तस्बिर हेर्न लालयित छन् ।
हरेक क्षेत्रमा यस्ता हजारौं संयोग छन् । जसले आज पनि पोखरामात्र नभएर सारा जगतले नै खोजिरहेको छ । राजनीति, साहित्य, समाजसेवा, कलाकार, आफन्तजन साथीभाइ, परिवार लगायत हरेक क्षेत्रले खोज्ने नाम हो रवीन्द्र अधिकारी । काँग्रेस हुन् या कम्युनिष्ट पार्टी मित्रका मान्छे हुन्, पार्टी इतरका मान्छे, ती सबैको मन मस्तिस्कले खोजीरहेको छ रवीन्द्र ।
एउटा समृद्धिको सपना बोकेर हजारौं मनलाई त्यो अभियानमा निरन्तर जुटिरहन प्रेरित गर्ने एउटा अभिछिन्न गन्तव्यको यात्री जस्ले कहिल्यै विश्राम लिएन । निरन्तर निरन्तर एउटा यात्रामा हजारौं यात्री, कसैलाई पनि भोक, तीर्खा, प्यास र निराषाको अनुभूति नगराई साहस, उत्साह र जाँगर भरिरहने हजारौं यात्रीको अगुवा बन्यो । एउटा सामन्य मजदूरदेखि राष्ट्रका उच्च पदस्थ व्यक्तिहरू किन नहुन्, ती सबैको मन मस्तिस्कको तस्बिर हो रवीन्द्र अधिकारी ।
आज समाज जुन ढंगले अगाडि बढिरहेको छ । त्यो समाजमा अरु भन्दा फरक र भिन्न प्रकारको व्यवहार उहाँको विशेषता थियो । विशेष गरी नेपालको राजनीतिक एवं सामाजिक अगुवाहरूमा स्वभाविक रूपमा देखिने असुन्दर प्रकृतिका बोली र व्यवहार पनि समय समयमा देख्न र सुन्न पाइन्छ । तर उहाँमा जहाँ भावुकता, इमान्दारिता र उत्तरदायित्व बोधले भरिएको हुने गर्दथ्यो ।
त्यो बोली अनि व्यवहार सबैका लागि । आजको यो हाम्रो समाजमा विविधताका बिचमा समानता खोज्न सम्भव हुँदो रहेछ भन्ने धेरै मन थिए । आजको हाम्रो जस्तो लोकतान्त्रिक समाजमा आलोचनात्मक स्वरहरू फरक मनहरू सुनिनु र देखिनु स्वभाविकमात्र होइन, आवश्यक पनि छ । हाम्रो समाजमा हुने हरेक आलोचना र टिप्पणी प्राकृतिक र व्यवहारिक हुनुपर्छ तर त्यस्तो देखिँदैनन् । तर उहाँले खोज्ने र गर्ने आलोचना पनि व्यवहारिक र प्राकृतिक मात्र हुने गर्दथे । जुन आजको हाम्रो समाजको लागि प्ररणादायी छन् ।
त्यस्तो व्यक्तित्व जो अब हामी केवल सम्झनमात्र सक्छौं । छुन, देख्न र आलिङ्गन गर्न सक्दैनौं । सक्छौं त केवल विपनीमा होइन, सपनीमा मात्र देख्न सक्छौं । यो अहिले पनि सत्य युगको कथा हो कि कलियुगको घटना वा परिघटना हो । विश्वास गर्न सकिरहेको छैन । विश्वास गर्छु कि यसको जवाफ मलाईमात्र होइन, शुभेच्छुक सबैलाई समयले दिनेछ । आजको मेरो विश्वास यही नै हो ।
तपाईको प्रतिक्रिया