आजदेखि शब्दोत्सव सुरु

समाधान संवाददाता २०८१ फागुन १५ गते ११:४२

पोखरा ।
साहित्यको कुम्भमेला मानिने नेपाल लिटरेचर फेस्टिभल (नेपाल साहित्य महोत्सव) को १२ औं संस्करण बिहीबारदेखि फेवा किनार बाराही घाटमा सुरु हुँदै छ । बुकवर्म फाउन्डेसनको आयोजनामा फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो ।

Advertisement


महोत्सव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने तय छ । उद्घाटन सत्रमा महेन्द्र पी लामाले सीमा, सम्बन्ध र साहित्यमा विद्वत प्रवचन दिनेछन् । उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटीका प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन् ।


त्यसपछि अनिल शाही र समूहले सांगीतिक प्रस्तुति राख्नेछ । योसँगै उद्घाटन सत्रको समाप्त हुनेछ । देश–विदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकार लगायतको उपस्थिति रहने महोत्सवमा भूपी र अलिमियाँ कक्ष छन् । यी २ कक्षमा बेलुका ६ बजेसम्म साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि सेसन चल्नेछन् ।


विद्वत् प्रवचनलगत्तै भूपी कक्षमा ‘अलिअलि हार हो, अलिअलि जित’ शीर्षकमा अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ । दोस्रो संवादका रुपमा कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले भूपीको सम्झना गर्ने छन् । सोही समयमा अलिमियाँ कक्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग विजय तिमिल्सिनाले सञ्चार संवाद गर्ने छन् ।


भूपी कक्षमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पत्रकार भरत कोइराला ‘प्रदेशका पाइला’ शीर्षकमा कुरा गरिरहेको समयमा अलिमियाँ कक्षमा सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग सीता मादेम्बाले रैथाने ज्ञानको विज्ञानमा विमर्श गर्ने छिन् । पत्रकार निर्मला शर्मासँग गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीसँग राजनीतिका सुखदुख पोखिरहदा पत्रकार केशवशरण लामिछाने ‘त्यो पत्र, यो प्रेम र साहित्य’ विषयमा भावेश भुमरी, प्रणिता चाम्लिङसँग संवाद गर्ने तय छ ।

Advertisement


भूपी कक्षमा पहिलो दिनको अन्तिम सत्रका रुपमा ओमविक्रम विष्ट संवाद र सांगीतिक प्रस्तुत भइरहँदा अलिमियाँ कक्षकक्षमा मन्त्री विन्दुकुमार थापा, अधिवक्ता जुनाकुमारी गुरुङ र विष्णु सिञ्जालीसँग गौरी तमुले गण्डकीमा गुरुङ र मगर भाषाको अवस्था र भविष्यबारे संवाद गर्ने छिन् ।


महोत्सवको तेस्रो दिनमा महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण लोकार्पण पनि गर्नेछ । हमालको पुस्तक प्रकाशोन्मुख छ । फेस्टिभलमा उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण हुनेछ । नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् ।


नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका २ सत्रमा रहनेछ । उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन् ।


फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।


परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका संगीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ । चित्रकलालाई यस वर्ष पनि प्राथमिकता दिइएको महोत्सवका कार्यकारी निर्देशक निरज भारीले सुनाए ।


विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको साङ्गे हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरुरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् ।

तपाईको प्रतिक्रिया