‘मुनामदन’को कथामा अहिलेको व्यथा

समाधान संवाददाता २०८१ फागुन १५ गते १३:४६

पोखरा ।
पोखरामा नाटक ‘मुनामदन’ मञ्चन भइरहेको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक फागुन ९ गते शुक्रबारबाट पोखरा गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको हो । फागुन २४ गतेसम्म मञ्चन हुने नाटकमा मुना र मदनको अमर प्रेमलाई दर्शाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको मुनामदन खण्डकाव्यमा आधारित यो नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका छन् ।

Advertisement


नाटकमा परिवर्तन, कृष्टि गुरुङ, प्रमिला तुलाचन, रमेश तिमल्सिना, धनकाजी श्रेष्ठ, रञ्जु दाहाल, प्रकाश रेग्मी, उत्सर्ग सुवेदी, दिल बहादुर थापा, विकास फगामी मगर, विदिशा न्यौपाने, विष्णु कार्की, अर्जुन शर्मा, राहुल श्रेष्ठ, विनिता बयलकोटी, प्रतीक घिमिरे, अभिषेक भुसाल, श्रीकृष्ण भण्डारी लगायतको अभिनय हेर्न पाइन्छ । बाल कलाकारमा आविरा अधिकारीको अभिनय छ ।


ध्वनि तथा शब्द संयोजन तथा लय संकलन मिलन गिरीले गरेका छन् । किशोर सुवेदीले रेकर्ड गरेको गीतमा बाँसुरी र टुङ्नामा आर्जव पौडेलले साथ दिएका छन् । प्रशान्ति श्रेष्ठ, समीर पुन, अभिषेक भुसाल, प्रमिला गुरुङ र ऋचा सुवेदीको आवाजमा गीत सुन्न पाइन्छ । संगीत देवेन्द्र ढकाल विवेकले दिएका छन् ।

शताब्दीअघि सिर्जना भएको मुनामदन अझै नेपालीको दर्दनाक कथा हो । पोखरा थियटरले रंगमञ्चमा अहिले यो कथालाई पूर्ण न्याय गरेको छ ।


तामाङ सेलो संकलित लयमा चन्द्र दोङ र इन्दिरा गुरुङ तथा शेर्पा गीत संकलित लयमा टिना गुरुङले सघाएका हुन् । यसका अलावा विकास अधिकारी, सुसन पौडेल, अमृत परियार, अप्सरा बयलकोटी, निशान सुवेदी समेत नाटक युनिटमा रहेका छन् ।
नाटकका निर्देशक तथा परिकल्पनाकार परिवर्तनले मुनामदनको गरिमा बचाउन चुनौती रहेको भन्दै झ्याउरे लयमा रहेको खण्डकाव्यलाई शास्त्रीय संगीतको प्रयोगसहित दृश्यमा केही फरकपना दिन खोजेको जनाए । यस अगाडि हेरिरहेको मुना मदनभन्दा यसमा केही न केही पृथकता महसुस गर्न पाइने उनको भनाइ छ ।

Advertisement


मुनामदन नाटक लेख्दाको तत्कालीन समय र अहिलेको समयको सान्दर्भिकतालाई नाटकमा जोड्न खोजिएको छ । प्रेमको कुरामात्र नभएर यसले उठाएको रोजगारको लागि विदेश जाने सिलसिला तथा त्यसले ल्याएका विभिन्न उतारचढावलाई सुन्दर ढंगले पस्कने प्रयास नाटकमा गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन लेख्दादेखि अहिलेसम्म नेपाली समाजमा भएका परिवर्तनको बारेमा समेत नाटकमा हेर्न पाइने उनले खुलाए ।


नाटक बुधबारबाहेक हरेक साँझ सवा ५ बजे र शनिबार अतिरिक्त सोका रुपमा दिउँसो १ बजेसमेत मञ्चन हुनेछ । नाटकप्रति दिनप्रतिदिन दर्शकको चासो र साथ बढ्दै गएको थिएटरले जनाएको छ । नाटकलाई परिपक्क बनाएर दर्शकको माया बटुल्न नाटक युनिटले निकै मिहेनत गरेका छन् ।


१ घण्टा ४५ मिनेट अवधिको यो नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट काट्नुपर्ने हुन्छ । माग भएको खण्डमा बुकिङ सोमार्फत समेत नाटक मञ्चन गर्ने थियटरको तयारी छ । लोकसाहित्यविद् प्राडा कुशुमाकर न्यौपानेले नाटकले मानिसभित्रको करुण भाव जागृत गराउने बताए । नाटक हेरिसकेपछि उनले भने, ‘मुनामदनको सुन्दर प्रस्तुतिले निकै द्रविभूत बनायो । मुनामदनको कथालाई उदाहरणीय रुपमा यसमा प्रस्तुत भएको पाएँ ।’


खण्डकाव्यबाट रुपान्तरित नाटकलाई नयाँपन दिन गन्धर्वको गाथालाई प्रयोग गरिएको छ । सारङ्गी बजाउँदै हिड्ने गन्धर्वको मुखबाट सुरु भएको गीतसँगै अघि बढेको नाटकलाई रोचक र प्रभावकारी बनाउन प्रकाश र ध्वनिको संयोजन उत्कृष्ट बनाइएको छ । नाटकमा मदन र मुनाले देखेका सपना, राँगोले खेदेको, डुंगा पल्टिन लागेको जस्ता अपसकुनहरुलाई सुन्दर रुपमा मञ्चमा देखाइएको छ ।


काठमाडौंको नेवारीकथाबाट लिइएको मुनामदनको असली स्वाद दिन पात्रहरुको पहिरन र लबज नेवारी गर्ने प्रयास गरिएको छ । घटनाक्रमसँगै बिच बिचमा राखिएको पास्र्व संगीत र मुनामदनका श्लोकहरुले नाटकलाई थप रोचक बनाएका छन् । करिब एक शताब्दीअघि सिर्जना भएको मुनामदन अझै नेपाली समाजको दर्दनाक कथा हो । पोखरा थियटरमा अहिले यो कथालाई न्याय गर्ने गरी मञ्चन हुँदै छ ।

तपाईको प्रतिक्रिया