मानव सेवा आश्रमलाई सहयोग

समाधान संवाददाता २०८१ फागुन १५ गते १३:४९

पोखरा ।
महाशिवरात्रिको सन्दर्भमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीले बुधबार मानव सेवा आश्रम शाखा कार्यालय पोखरा २५ हेमजाका आश्रितलाई फलफूल वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल बेलायतको लन्डन निवासी प्रतिष्ठान नेपालका मानार्थ सदस्य चन्द्रा कार्कीको समन्वयमा फलफूल वितरण गरिएको हो ।

Advertisement


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशका उपसचिव राजेन्द्र क्षत्रीले मानव सेवा आश्रमले परोपकारीमात्र नभएर समाज सुधारको काम गरेको बताए । सन २०८२ सम्ममा सडकका वेवारिसे व्यक्तिहरुको व्यवस्थापन गर्ने आश्रमको योजनामा गण्डकी प्रदेश सरकारको साथ सहयोग रहेको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षमा बजेट निर्माणमा ध्यान दिने उल्लेख गरे । उनले सेवा नै धर्म भएको आश्रमको सन्देश भएको चर्चा गरे ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा महासचिव शिव हमालले प्रतिष्ठान नेपालले कलाकारको हकहित तथा संस्थागत मात्र नभएर समुदाय स्तरमा सामाजिक काम गरेको बताए । उनले सडकमा वेवारिसे भएका व्यक्तिका लागि सहयोग गर्ने भगवान हुने सन्देश आश्रमले दिएको उल्लेख गरे ।


मानव सेवा आश्रम कास्की संयोजक सदिस पुनले आश्रमले २० जिल्लाका २६ सेवा केन्द्रमार्फत १ हजार ९ सय जनालाई सेवा दिएको जानकारी दिए । उनले हेमजामा १ सय ४७ र छोरेपाटनमा ८९ जनालाई सेवा दिएको बताए । उनले हेमजाको बाबियातरामा लक्ष्मी नारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी क्षेत्रफलमा आश्रमले आफ्नै भवन बनाएको उल्लेख गरे ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्की अध्यक्ष तुलसी क्षत्रीले कलाकारहरु गाउने, बजाउने र नाच्नेमात्र नभएर सामूहिक र संस्थागत रुपमा सामाजिकसमेत काम गर्ने बताइन् ।

Advertisement


प्रतिष्ठानका प्रथम उपाध्यक्ष परशुराम अधिकारी, सचिव सुनील गायकले खाना, नाना र छानाबाट वञ्चितलाई आवासीय सेवा दिएको आश्रमलाई सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको विचार राखे ।

तपाईको प्रतिक्रिया