‘सम्झनाको सेरोफेरो’को शल्यक्रिया

समाधान संवाददाता २०८१ फागुन १५ गते १३:५२

पोखरा ।
प्रगतिशील साहित्यकार भीम रानाभाटको ‘सम्झनाको सेरोफेरो’ संस्मरणात्मक कृतिमाथि बुधबार परिचर्चा गरिएको छ । गण्डकी साहित्य संगमले प्रकाशन गरेको कृति केही महिनाअघि सार्वजनिक भएको थियो ।

Advertisement


कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा कृष्णराज अधिकारीले रानाभाटको सरल व्यक्तित्व जस्तै संस्मरणमा समाजको यथार्थलाई इमानदारीपूर्वक लेखन गरेको बताए । साहित्यकार रुपिन्द्रप्रभावी कटु र लोकबहादुर थापामगरले सम्झनाको सेरोफेरोमाथि टिप्पणी गरे । उनीहरुले १९ वटा जीवन, जगतसँग सम्बन्धित संस्मरणले कृतिलाई गहन बनाएको धारणा राखे ।


रामराज रेग्मी, डा श्रीकान्त शर्मा खतिवडा, नारायणकैलाश सिग्देल, परशुराम कोइराला, डोलराज पाण्डे, झलकपाणि तिवारी, संस्थाका उपाध्यक्ष पद्मराज ढकाल, सचिव नारायण मरासिनी लगायतका वक्ताले रानाभाटको साहित्यिक यात्रा र योगदानले नेपाली साहित्यमा प्रगतिशील चेतनाको प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनका रचनाले समाजको यथार्थ चित्रण गर्दै रूपान्तरणको मार्गप्रति पाठकलाई प्रेरित गरेकाले आगामी दिनमा साहित्यिक कृति प्रकाशनका लागि शुभकामना दिए ।


भीम नेपाली साहित्यमा प्रगतिशील चेतनाका सशक्त हस्ताक्षर हुन् । उनी तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका जामुने २ थान्सिङमा २०२३ सालमा जन्मिएका हुन् । भीमले पोखरालाई कर्मथलो बनाएका छन् । साहित्यिक क्षेत्रमा ‘ज्यालादारी’ उपनामले परिचित रानाभाटका रगतका छिर्का मुक्तक संग्रह २०४९, रङ, रगत र मान्छे कविता संग्रह २०६४, यही हो मेरो देश मुक्तक संग्रह २०७०, आँसुको छाल हाइकु संग्रह २०७३, पग्लदैन सगरमाथा गीत संग्रह २०७४ यसअघि नै प्रकाशित भइसकेका छन् ।


पोखराबाट प्रकाशित मितेरी, प्रयोग, गण्डकी संगम, साहित्य प्रभा, निगालो पत्रिकाको सम्पादक र व्यवस्थापक रुपमा उनले काम गरिसकेका छन् । साहित्य शृङ्खला, गण्डकी साहित्य संगम, प्रगतिशील लेखक संघ, अखिल नेपाल लेखक संघ लागयतका साहित्यिक संस्थाको नेतृत्व गरेका उनको जीवन शैली र लेखनमा तादम्यत देखिन्छ ।

Advertisement


कार्यक्रममा संगम साँस्कृतिक मञ्चका काजी गाउँले र विकास लुंगेलीले रानाभाटको शब्द रचनामा स्वागत गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया