भारतका ६ पूर्व सेनाध्यक्ष मुक्तिनाथ मन्दिरमा

जोमसोम ।
नेपाली सेनाका उपरथि सन्तोषबल्लभ पौडेलको नेतृत्वमा ६ भारतीय पूर्व सेनाध्यक्ष एवं नेपाली सेनाका पूर्व मानार्थ महारथिलेहरुले बिहीबार मुक्तिनाथ मन्दिर दर्शन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ८ बजे उनीहरु मुक्तिनाथ पुगेका हुन् ।
टोली मुक्तिनाथमा करिब २ घण्टा खर्चिएर काठमाडौं फर्किएको हो । यसअघि भारतीय पूर्व सेनाध्यक्षसहितको टोली एयर इन्डिया उडानबाट महाशिवरात्रि तथा नेपाली सेनाको २६२ औं स्थापना दिवसमा सहभागी हुन काठमाडौं आएको थियो । सोही क्रममा नेपाल सेनासँगै भारतीय पूर्व सेनाध्यक्ष लगायतको टोली मुक्तिनाथको दर्शन गर्न आएका हुन् ।
नेपाली सेना स्थापना दिवसमा मुक्तिनाथ दर्शन गर्न आउने सेवा निवृत्त भारतीय पूर्व सेनाध्यक्षहरुमा जनरल जोगिन्दर जसवन्त सिंह, जनरल दीपक कपुर, जनरल दलबीर सिंह सुहाग, जनरल डा मनोज मुकुन्द नरवणे, जनरल मनोज पाण्डे लगायत छन् ।
नेपाली सेनाका उपरथि पौडेलसहित भारतीय पूर्व सेनाध्यक्ष लगायतको टोलीले मुक्तिनाथमा सामूहिक तस्विरसमेत खिचेका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले भारतीय पूर्व सेनाध्यक्षसहित टोलीले मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किएको जानकारी दिए । नेपाली सेनाको टोलीसँगै मुक्तिनाथ दर्शन गर्न आएका भारतीय सेनाध्यक्ष लगायतको टोलीलाई आवश्यक सुरक्षा व्यवस्था तथा दर्शनकार्यमा सहजीकरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया