सिर्जना साहित्य सदनलाई हेमराज पुरस्कार
पुरस्कारको राशि १ लाख रुपैयाँ नगद र ताम्रपत्र

पोखरा ।
हेमराज पहारी स्मृति पुरस्कार–२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा बिहीबार घाचोकमा आयोजित कार्यक्रममा प्राज्ञ डा जगमान गुरुङले सदनका अध्यक्ष शिवप्रसाद पोखरेललाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि १ लाख रुपैयाँ नगद र ताम्रपत्र छ ।
कार्यक्रममा प्राज्ञ गुरुङले आफ्नो गाउँ, ठाउँको पहिचान, संस्कार र संस्कृति संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले आफ्ना सनातन धर्म, संस्कार र संस्कृति जोगाउनु नै महत्वपूर्ण हुने भन्दै हुँदै नभएका कुराभन्दा भएर पनि हराएका कुराको खोजी गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समयमा मानवमा धर्म हराउँदै जाँदा विभिन्न विकृति, विसंगति मौलाउँदै गएको उनले तर्क गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका गुरुङले विदेशी शक्तिले नेपालको सनातनी धर्ममाथि प्रहार गरेको उदाहरण पछिल्लो अमेरिकाको कदमले प्रष्ट पारेको बताए ।
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले सिर्जना साहित्य सदन पुरस्कृत हुँदा सिंगो गाउँपालिका नै पुरस्कृत भएको महसुस भएको बताए । उनले पुरस्कारले सदनको गरिमा अझै माथि पुगेको भन्दै विगतमा अग्रजले गरेको दुःखको फल मिल्न थालेको बताए । उनले सदनको श्रीवृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रतिभा चयन समिति संयोजक कृष्णप्रसाद बास्तोलाले कास्कीमा क्रियाशील करिब ६ दर्जन साहित्यिक संघ, संस्थाबाट सृजना साहित्य सदन छनोट हुन सफल भएको बताए । उनले भने, ‘सुरुमा करिब छ दर्शन संस्थाका विवरण संकलन गर्यौँ, त्यसपछि उत्कष्ट पाँच वटा छान्यौँ, त्यसमा सिर्जना सबैभन्दा उत्कृष्ट पायौँ र सिफारिस गर्यौँ, प्रतिष्ठानले पनि सहर्ष स्वीकार गर्यो ।’
समितिमा प्राज्ञ हरिदेवी कोइराला र साहित्यकार दुर्गा शाह ‘बाबा’ सदस्य थिए । प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले सिर्जना साहित्य सदन कास्कीकै एक उत्कृष्ट साहित्यिक संस्था भएकाले पुरस्कार अर्पण गर्ने निर्णय गरेको बताइन् ।
सदनका अध्यक्ष शिवप्रसाद पोखरेलले उत्कष्ट संस्थाको रुपमा छनोट गरी पुरस्कृत गरेकामा प्रतिष्ठानप्रति आभार व्यक्त गरे । कार्यक्रममा सदनका पूर्वअध्यक्ष महेश्वर अनुरागी, कवि छविलाल आचार्य, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कराज रेग्मी अथक, लोकगायिका हरिदेवी कोइराला, उपाध्यक्ष गोविन्दराज पहारीले स्वागत र सदनका संरक्षक असफल गौतम लगायतले बोलेका थिए ।
उक्त अवसरमा कवि छविलाल आचार्य र बालकवि देवेश पहारीले हेमराज पहारीको सम्झनामा कवितावाचन गरेका थिए । २०६७ सालमा स्थापित प्रतिष्ठानले सिर्जनालाई प्रदान गरेको यो पुरस्कार आठौँ हो । प्रतिष्ठानले यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोककवि अली मियाँ (मरणोपरान्त), झरना साहित्य परिवार मकवानपुर, साहित्य सन्ध्या काठमाडौं र साहित्यकार सरुभक्तलाई पुरस्कार अर्पण गरेको थियो ।
साहित्यकार हेमराज पहारीको २०६६ फागुन १७ गते सडक दुर्घटनामा निधन भएको थियो । पहारीकै स्मृतिमा स्थापित प्रतिष्ठानले हरेक २ वर्षमा पुरस्कार अर्पण गर्दै आएको छ । पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरू’, नियात्रा सञ्चयन ‘उत्तरी गोलाद्र्धको एक फन्को’ र कविता सञ्चयन ‘देशको अभिभारा’ प्रकाशित छन् । प्रतिष्ठानले पहारीका बाँकी सिर्जना प्रकाशन, उनका योगदान र सिर्जनाको प्रवद्र्धन एवं नेपाली साहित्यको उत्थानका लागि काम गर्दै आएको छ ।
कास्कीको सिर्जना साहित्य सदन २०५४ देखि निरन्तर क्रियाशील छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानसहित विभिन्न साहित्यिक गतिविधि गर्दै आएको सदनले हरेक वर्ष मुखपत्र ‘सिर्जना’ प्रकाशन गर्ने गरेको छ ।
तपाईको प्रतिक्रिया