विकास बजेट माग्दै सिंहदरबारमा

पोखरा ।
चालु आर्थिक वर्ष सकिन ४ महिनामात्रै बाँकी रहँदा पोखरा महानगरपालिका वडा नं. १९ को एक टोली विकासका योजनामा बजेट माग गर्दै सिंहदरबार पुगेको छ । निर्वाचनका बेला स्थानीय तहका जनतासँग गरेका विकास, निर्माणका बाचा पूरा नहुने देखिएपछि समानीकरण अनुदान रकम विनियोजनका लागि विभागीय मन्त्री र सांसदलाई झकझक्याउन टोली योजना बोकेरै सिंहदरबार पुगेको हो ।
टोली भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालयसहित विभिन्न निकायमा पुगेको टोलीमा सहभागी वडा नं. १९ का वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए । एमाले नेता एवं शोभामोहन पौडेलको नेतृत्वमा गएको टोलीले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई मन्त्रालयमा भेटेर योजना पेश गरेको छ । टोलीले सडक, पुल, खानेपानी निर्माणका योजनालाई प्राथामिकतामा राखेर योजना पेश गर्दै आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री दाहालसमक्ष आग्रह गरेको हो ।
चुनावमा गरेका वाचा पूरा नहुने देखिएपछि बजेट माग्दै पोखरा १९ को टोली विभागीय मन्त्री र सांसदलाई झकझक्याउँदै
टोलीले खानेपानी मन्त्री प्रदीप यादवसँग पनि भेट गर्यो । भेटका क्रममा पोखरामा वितरण हुने खानेपानी शुद्घीकरणका लागि पुरुञ्चौरमा फिल्टरेसन टंकी निर्माण र त्यहाँसम्म पुग्ने सडक निर्माणमा सहयोग गर्न मन्त्री यादवको ध्यानाकर्षण गराएको छ । मन्त्री दाहाल र यादवले पुल र सडक निर्माणलाई पहिलो प्राथामिकता दिने र अन्य योजनालाई क्रमिक रुपमा अगाडि बढाउने आश्वासन दिएको वडा सदस्य आचार्यले सुनाए ।
टोलीले विभिन्न विभागका प्रमुखसँग पनि भेटवार्ता गरी जनताका प्रत्यक्ष सरोकारका विषयलाई उच्च प्राथामिकता दिन आग्रह गर्यो । सोही क्रममा टोलीले एमाले नेता पदम गिरी र प्रमुख सचेतक महेश बर्तौलासहित खानेपानी संस्थानका महाप्रबन्धक त्रिदेव श्रेष्ठ, प्रधानमन्त्रीका स्वकीय सचिव विनोद कुँवरसँग पनि छलफल गरेको थियो । टोलीमा नेता पौडेलसहित इमानराज पौडेल, कृष्णप्रसाद गौतम र पूर्व महालेखा परीक्षक महेश्वर काफ्ले सहभागी थिए ।
भेटपछि नेता पौडेलले आफूहरुले पेश गरेको योजनामा मन्त्रीबाट सकारात्मक जवाफ पाएकाले केही योजना तत्काल सुरु हुने विश्वास व्यक्त गरे । टोलीले माछापुच्छ्रे सडक निर्माण र स्तरोन्नति, पोखरा १९ र २५ जोड्ने सेती नदीमाथि पक्की पुल, अमलाबिसौंनी घार्मी आलेवारी काउरे ग्रामीण सडक, लाम्पाटा सडक, तल्लाकोट छपाली थोक सडक निर्माण, घार्मीस्थित मणिमा पर्यटकीय पार्क निर्माण लगायतका जनताका प्रत्यक्ष सरोकारका विकास निर्माणमा वजेट विनियोजन गर्न माग गरेको छ ।
बजेट अभावका कारण अमलाविसौंनी घार्मी सडक खण्डको केही भाग पहिरोका कारण जोखिममा परेको छ । दैनिक सयौं सवारी आवतजावत गर्ने उक्त सडक चार वर्षदेखि जोखिममा परेको हो । पोखरा माछापुच्छ्रे सडकको वैकल्पिक सडकका रुपमा रहेको सो सडकमा जोखिम मोलेरै सवारी साधन आवतजावत भइरहेका छन् । पोखरा १९ मा साना टुक्रे योजना निर्माणले गति लिए पनि ठूला विकासे योजना भने ठप्प छन् ।









कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया