सराङकोट धाम उद्घाटन

समाधान संवाददाता २०८१ फागुन १८ गते १७:०३
राष्ट्रपति पौडेल– अवलोकनपश्चात् सामूहिक तस्बिरमा गण्डकी, १७ फागुनः राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सराङकोटधाममा नवनिर्मित पञ्चमुखी गणेश मूर्तिको अवलोकनपश्चात् सामूहिक तस्बिरमा । तस्बिरः राम थापा÷रासस

पोखरा ।
हिमाल र सूर्याेदय हेर्ने स्थानका रुपमा परिचित सराङकोट धार्मिक गन्तव्य बन्दै गएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सराङकोट धाम उद्घाटन गरे । उनले सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखी गणेश मूर्ती, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिंग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर सहितका धार्मिक संरचना एवं त्यहाँ जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव उद्घाटन गरेका हुन् ।

Advertisement


त्यस अवसरमा राष्ट्रपति पौडेलले जीवनमा एक पटक पुग्नैपर्ने धामका रुपमा सराङकोटलाई चिनाए । ‘यसले समग्र पोखरा, गण्डकी प्रदेश तथा नेपालमै पनि पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान दिन्छ भन्ने मलाई विश्वास छ,’ राष्ट्रपति पौडेलले भने । उनले पोखरा महानगरपालिकाद्वारा घोषित भ्रमण वर्ष २०२५ ले समग्र नेपालकै पर्यटन प्रर्वद्र्धनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरे ।


संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले सराङकोट धामको एकीकृत विकासमा जोड दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटन विकासमा गण्डकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोटलाई पोखरा दृष्यावलोकन स्थलको संज्ञा दिए । उहाँले पर्यटन राजधानी घोषणासँगै पोखरा थप लोकप्रिय बन्दै गएको दाबी गरे ।


कार्यक्रममा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना लगायतले बोलेका थ्एि । कार्यक्रममा सराङकोटको विकासमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गरिएको छ । सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म त्यहाँ ३५ करोड बढी खर्च भइसकेको छ भने अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया