हिमालय आँखा अस्पताल ३३ वर्षमा

समाधान संवाददाता २०८१ फागुन १८ गते १७:०५

पोखरा ।
नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा १७ घारीपाटनको ३२ औं वार्षिकोत्सव शनिबार भएको छ । समारोहमा प्राविधिकतर्फ हरिविक्रम अधिकारी र प्रशासनतर्फ प्रेमकुमार नकर्मीलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरियो ।

Advertisement


अस्पतालको उत्कृष्ट विभागतर्फ चश्मा पसल विभागलाई पुरस्कृत गरिएको छ । त्यस्तै अनिल सिंह, सुरज चौधरी, किशोर मल्ल, धनबहादुर लामा, प्रशंसा परियार, वीनिताकुमारी कुशवहा, समीक्षा थापा, देवी गिरी, शेषबहादुर थापा र शंकर गुरुङलाई सम्मान गरिएको छ ।


कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश भित्रका प्रतिष्ठित संस्थाको अपनत्व प्रदेश सरकारले लिनुपर्ने बताए । मन्त्री गुरुङले जनताको तहबाट, मुनाफरहित रुपमा बनाइएका संस्थालाई सरकारले हेर्नुपर्ने सुझाव दिए ।


आँखा अस्पतालका अलवा एसओएस बालग्राम, गण्डकी बोर्डिङ स्कुल र सहारा फुटबल एकेडेमी जस्तासंस्था पोखरामा रहेको जनाउँदै उनले यिनको अपनत्व प्रदेश सरकारले लिनुपर्ने सुझाए । ‘समुदाय स्तरबाट चलाएर मुलुकको आवश्यकताका लागि राम्रो काम गरेका संस्थालाई सरकारले हेर्नुपर्छ’, मन्त्री गुरुङले भने, ‘अपनत्व लिँदै अप्ठेरो पर्दा सरकारले हामी छौं, भन्नुपर्छ ।’


मन्त्री गुरुङले सरकारले राम्रो काम गर्ने संस्थालाई बजेट छुट्टाउनुपर्नेमा जोड दिए । गुरुङले आफू मुख्यमन्त्री हुँदा एसओएस, हिमालय आँखा अस्पताल र गण्डकी बोर्डिङलाई आर्थिक सहयोग गरेको स्मरण गरे । ‘मैले सहयोग गर्न खोज्दा कर्मचारीबाट असहयोग पनि भयो’, उनले भने, ‘८ विद्यार्थी १० शिक्षक भएको ठाउँमा राज्यको सहयोग जाने तर धेरै विद्यार्थी, राम्रो पढाइ हुने, दक्ष जनशक्ति उत्पादन गर्ने ठाउँमा लगानी नहुने अवस्था अन्त्य हुनुपर्छ ।’

Advertisement


भौतिक पूर्वाधारको विकास विना उत्पादन नबढ्ने, रोजगारी सिर्जना नहुने, गरिबी नघट्ने, सुशासन कायम नहुने, राजस्व नबढ्ने सवाल आफू गण्डकीको मुख्यमन्त्री हुँदा सिकेको उनले बताए । उनले पोखराको अगाध माया भएर हप्तामा ३÷४ पटक आइरहेको उल्लेख गरे ।


केन्द्रीय मन्त्री भए पनि राज्य, सरकारको अनभूति गर्न नसकेको उल्लेख गर्दै उनले प्रदेश सरकारको नेतृत्व गर्दा भने धेरै ठूलो अनुभव बटुलेको सुनाए । गण्डकी प्रदेश आफ्नो राजनीतिक सिकाईको थलो रहेको उनको भनाइ छ ।


कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष दिलबहादुर क्षेत्रीले अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्सी’ घोषणाको तयारी भएकाले संघीय सरकारबाट पर्याप्त सहयोगको आशा गरे । गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्कीले प्रदेशबाट हुन सक्ने सहयोगमा पहलकदमी लिने बताए ।


नेपाल नेत्रज्योति संघका केन्द्रीय सचिव हरिप्रसाद शर्माले चश्मामा लाग्दै आएको भ्याट हटाउन माग राखे । अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले सन् २०२४ मा १ लाख ८९ हजार ७२ जनाले अस्पतालबाट ओपिडी सेवा लिएको जानकारी दिइन् । उनले अस्पतालबाट १० हजार १ सय ३६ जनाको मोतिबिन्दु र अन्य शल्यक्रिया भएको उल्लेख गर्दै गरिएन् ।


नेत्र ज्योति संघ कास्की अध्यक्ष सुरेन्द्र थापामगर, उपाध्यक्ष डा नन्द श्रेष्ठ, सचिव डा नारायण बराल, नेत्रज्योति संघ बागलुङ अध्यक्ष बिन्दुसागर राजभण्डारी र अस्पताल कर्मचारी युनियनका अध्यक्ष गोविन्दनाथ योगी लगायतले अस्पतालले प्रदान गर्ने सेवाबारे बोलेका थिए । गण्डकी र कर्णाली प्रदेशमा अन्धोपन निवारण गर्ने लक्ष्यका साथ स्थापित अस्पतालमा अप्टोमेट्रीको पढाइ पनि हुन्छ ।

तपाईको प्रतिक्रिया