मुस्ताङको वारागुङमा ५४ ले लगाए एचपिभी

समाधान संवाददाता २०८१ फागुन २० गते १९:११

जोमसोम । मुस्ताङमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ । हिमाली जिल्लाको प्रतिकूल मौसमले रोकिएको खोप अभियान मुस्ताङको वारागुङ गाउँपालिकामा आइतबारदेखि सुरु भएको हो ।

Advertisement

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत जनशान्ति मावि कागबेनी र लुप्रा आधारभूत विद्यालय लुप्रामा खोप कार्यक्रम भएको वारागुङका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र बोहराले जानकारी दिए । अभियानअन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्म पढ्ने २ वटा विद्यालयका गरी ५४ जना किशोरीलाई खोप लगाइएको हो । गाउँपालिकाभित्र कक्षागत र बाहिरको उमेर समूहका कतिपय किशोरीले बेँसीमै खोप लगाइसकेको स्वास्थ्य शाखा प्रमुख बोहराले खुलाए ।

मुस्ताङको घरपझोङमा २ सयभन्दा बढी किशोरीलाई खोप लगाउने योजना रहेको घरपझोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कर्णबहादुर थकालीले जानकारी दिए । तयारीस्वरूप सोमबार खोप अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख थकालीले सुनाए ।

खोप अभियानलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरिएको छ । थासाङ गाउँपालिकामा पनि ह्युमन प्यापिलोमा दिने तयारी भएको छ ।

प्रतिकूल मौसमका कारण मुस्ताङका तीन पालिकामा मात्रै यस प्रकारको कार्यक्रम गर्ने कार्ययोजना रहेको हो । उपल्लो मुस्ताङका अधिकांश विद्यालय जाडो छल्न घुम्ती विद्यालयका रूपमा बेँसीमा रहेकाले उपल्लो मुस्ताङमा अभियान सञ्चालन हुन नसक्ने अवस्था छ । त्यहाँका किशोरीलाई बेँसीमै खोप अभियानमा जोडिसकिएको छ ।

Advertisement

वारागुङ, थासाङ र घरपझोङका एसइई परीक्षा दिने कतिपय किशोरीले पनि बेँसीमै खोप प्राप्त गरिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस प्रकारको खोप अभियान ७७ वटै जिल्लामा फागुन ६ गतेसम्म तय गरेको थियो । मुस्ताङमा प्रतिकूल मौसमका कारण खोप अभियान केही ढिलो गरी सुरु गरिएको हो ।

अभियानअन्तर्गत कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत किशोरीका साथै विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । तर स्थानीय तहहरूको अभिलेखमा खोप अभियानमा जोडिने किशोरी संख्या निर्धारण भए पनि एकतिहाइ किशोरीले भने बेँसीमै खोप लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया