घरपझोङमा एकल महिलालाई तालिम

समाधान संवाददाता २०८१ फागुन २० गते १९:१८

जोमसोम । हिमालपारि मुस्ताङमा एकल महिलालाई लक्षित गरी क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको आयोजना तथा घरपझोङ गाउँपालिकाको समन्वयमा घरपझोङ गाउँपालिका अन्तर्गतका एकल महिलालाई सोमबार क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

Advertisement

श्रीमानको मृत्यु भएका, सम्बन्ध विच्छेद भएका, अंश लिई एक्लै बसेका, ३५ वर्षसम्म बिवाह नगरी बसेका र ५ वर्षसम्म श्रीमान बेपत्ता वा हराएका लगायतका समस्याका कारण पीडित बनेका एकल महिलालाई सामाजिक रुपमा माथि उठाउन क्षमता अभिवृद्धि गरी सक्षम नागरिकका रुपमा जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले मुस्ताङमा कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए ।

एकल महिलालाई केही अवस्थामा विशेष समस्या र चुनौती भोग्नुपर्ने हुन्छ । पारिवारिक समर्थनको अभाव र सामाजिक अपहेलना, तिरस्कारका कारण विभिन्न समस्या निम्तिन सक्छन् । एकल महिलाको मनोविज्ञान र मानसिक स्वास्थ्यमा असर पर्ने समस्या उत्पन्न हुन्छन् । तीनै सामाजिक रुपमा घट्ने एकल महिलाका समस्या न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको सापकोटाको भनाइ छ ।

कार्यक्रममा सामाजिक रुपमा एकल जीवन व्यतित गरेका र समग्र महिला राज्यको विभिन्न निकायमा पुगिसकेकाले एकल महिलाले श्रीमानको अभाव एक्लै भएको महसुस नगर्न र आफैंलाई अग्रगामी दिशातर्फ उन्मुख भई कार्यसम्पादन गर्न सुझाइएको थियो । एकल महिलाको सामाजिक रुपमा स्वतन्त्र जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित भएको र महिला सशक्तीकरण भएमात्रै एकल महिलाका अधिकारहरु सुनिश्चित हुने कार्यालय प्रमुख सापकोटाले जनाए ।

मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतका एकल महिला, आमा समूहका प्रतिनिधि र विभिन्न संघ, संस्थामा आवद्ध महिलाको उपस्थितमा भएको क्षमता अभिवृद्धि कार्यक्रममा मुस्ताङका एकल महिलाले सामाजिक रुपमा व्यवहोर्नु परेका समस्या र चुनौतीबारे बोलेका थिए ।

Advertisement

घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले महिला अधिकार, समस्या र चुनौती, त्यसको सामाधान लगायतका विषयमा प्रस्तुतीकरण गरे । घरपझोङ गाउँपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता थकाली र शिक्षा शाखा प्रमुख हिमलाल शर्माले एकल महिलाहरुका अधिकारबारे प्रस्तुति राखे ।

तपाईको प्रतिक्रिया