पश्चिमाञ्चल माविमा फुड फेस्टिबल’

पोखरा । पुस्तकबाहेक व्यावहारिक सीप उजागर गराउनका लागि पोखरा ४ गैह्रापाटन स्थित पश्चिमाञ्चल माविमा सोमबार एक दिने फुड फेस्टिबल आयोजना गरिएको छ । होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीको संयोजनमा विद्यालयले फेस्टिबल आयोजना गरेको हो ।
फेस्टिबल होटल संघ गण्डकी अध्यक्ष हरि शर्मा गैह्रेले उद्घाटन गरेका थिए । विद्यालयले पछिल्लो ३ वर्षदेखि निरन्तर फुड फेस्टिबल आयोजना गर्दै आएको छ । गैह्रेले विद्यार्थीमा रहेको सीप पस्कने अवसर यस्ता फेस्टिबलले दिने बताए ।
‘विद्यार्थीले पुस्तकको ज्ञानमात्र पढेर हुँदैन । उनीहरुलाई व्यवहारिक सीप पनि दिनुपर्छ । कक्षाकोठामा पढेको ज्ञानलाइ भान्सामा व्यवहारमा लागू गर्ने भएकाले यस्ता कार्यक्रमले विद्यार्थीमा क्षमता विकास गर्छ,’ उनले भने, ‘फुड फेस्टिबल आफैंमा सिकाई भएकोले यसले विद्यार्थीलाई वास्तविक ज्ञान उपलब्ध गराउँछ ।’
पोखरामा होटल व्यवस्थापन अध्ययन गराउने करिब ३ दर्जन कलेज रहेकोमा ती कलेजले पोखराका लागि जनशक्ति उत्पादन गरेर साथ दिएको पनि उनले बताए । ‘पोखरा पर्यटकीय सहर हो । यहाँ जनशक्तिको अभाव खड्किइरहेको हुन्छ । पोखराका विद्यालय र तालिम केन्द्रले अभाव भएको जनशक्ति पूर्ति गर्न सहयोग गरेका छन्,’ उनले भने, ‘शिक्षण र होटल क्षेत्रको सहकार्यमा अघि बढ्ने हो भने दुवै क्षेत्रलाई लाभ मिल्छ ।’
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यार्थीको वास्तविक सिकाई नै यस्तै कार्यक्रम हुने बताए । विद्यालयले आगामि दिनमा पनि फुड फेस्टिबल आयोजना गरेर विद्यार्थीको ज्ञानलाई प्रस्फुटन गराउने उनले बताए ।
प्राचार्य सरोज कोइरालाले फेस्टिबलका लागि विद्यार्थी आफैंले परिकार पकाउने र पस्कने गर्दा उनीहरुमा थप क्षमता अभिवृद्धि हुने बताए । ‘वास्तविक प्रयोगात्मक अध्यास नै यस्तै कार्यक्रम हुन् । होटल व्यवस्थापनका विद्यार्थीले वास्तविक रुपमा अभ्यासलाई प्रस्तुत गर्ने अवसर पाएका छन्,’ प्राचार्य कोइरालाले भने, ‘विद्यार्थीलाई किताबीभन्दा पनि प्रयोगात्मक अभ्यास जरुरी रहन्छ । फुड फेस्टिबलले त्यो अभ्यास दिलाएको छ ।’
सहप्राचार्य मिनु श्रेष्ठ कुँवरले आगामी दिनमा पनि विद्यार्थीका लागि यस्तै रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धना जनाइन् । १० जोड २ का संयोजक देव क्षेत्रीले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित राख्न नहुने बताए । पश्चिमाञ्चलले फरक विषय अध्ययन गर्ने फरक विद्यार्थीलाई विभिन्न क्षेत्रको भ्रमण, घुमघाम तथा भेटघाटमार्फत प्रयोगात्मक रुपमा अभ्यस्त गराउने प्रयास गरेको बताए ।
‘हामी पढाउनेमात्र गर्दैनौं । विद्यार्थीलाई वास्तविक ज्ञान दिनका लागि उनीहरुलाई अभ्यासमा पनि उत्तिकै सक्रिय बनाउँछौ,’ क्षत्रीले भने, ‘वास्तविक सीप नै अभ्यास हो । किताबमा सैद्धान्तिक ज्ञान लिन्छन्, वास्तविक ज्ञान त विद्यार्थीले प्रयोगशालामा लिने हो । त्यो अभ्यासमा विद्यालय सधैं अग्रसर छ ।’ पश्चिमाञ्चल माविले विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन, मानविकी, सौन्दर्यकला विषय अध्यापन गराउँदै आएको छ ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया