गुरुङ महिलालाई आत्मनिर्भर बनाउने उपाय खोजी

समाधान संवाददाता २०८१ फागुन २० गते १९:३२

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको तमु धिं नेपाल केन्द्रीय आमा समितिको वार्षिक कार्यक्रम अन्तरगत गुरुङ समुदाय बहुल लमजुङका ४ गाउँको अध्ययन, अनुसंन्धान तथा अवलोकन भ्रमण गरेको छ ।

बिहीबार र शुक्रबार २ दिने उक्त भ्रमणमा तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्ष पवित्रादेवी गुरुङको नेतृत्वमा १९ जनाको सहभागिता थियो । सो समूहले लमजुङको क्होलासोथर गाउँपालिकाका ४ गाउँका गुरुङ्सेनीसँग अन्तरक्रिया गरी गाउँमै बसेर आय आर्जनका काम गर्न इच्छुक महिलाका लागि गर्न सकिने सहयोगबारे जानकारी लिएको छ ।

सिङदी गाउँमा भएको कार्यक्रममा क्व्होलासोथर वडा नं. ५ का वडाध्यक्ष गीतबहादुर गुरुङ, सिङ्दी सामुहिक होमस्टे समिति अध्यक्ष हुकुमबहादुर गुरुङ, सत्य सेवा युवा क्लबका अध्यक्ष देवबहादुर गुरुङ, मुक्तिप्रसाद गुरुङ, हिमाल ज्योति आमा समूहकी उपाध्यक्ष मनिषा गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

क्होलासोथर ६ पसगाउँमा भएको अन्तरक्रियामा अन्नपूर्ण संरक्षण कोष व्यवस्थापन समिति ५ र ६ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, पसगाउँ ठाँटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतनबहादुर गुरुङ, दूधपोखरी युवा क्लबका अध्यक्ष नौबहादुर गुरुङ, शन्तिदीप आमा समूहकी अध्यक्ष युगदेवी गुरुङले पसगाउँको इतिहास, भौगोलिक अवस्था, गुरुङ जातिका मौलिक भेषभूषा तथा रीतिरिवाजबारे धारणा राखेका थिए ।

भुजुङ गाउँमा भएको कार्यक्रममा तमु प्ल्हुँ संघका अध्यक्ष वृजबहादुर गुरुङ, एम्पो विकास आमा समूह अध्यक्ष आसकुमारी गुरुङ, भुजुङ होमस्टे व्यवस्थापन समिति अध्यक्ष तुलबहादुर गुरुङ, पूर्ववडा अध्यक्ष खिमबहादुर गुरुङ, लालीगुँरास युवा क्लब अध्यक्ष नौराज गुरुङ लगायतले गाउँको इतिहास ७०० वर्ष पुरानो रहेको, गाउँको जनसंख्यामा कुनै कमी नआएको, गुरुङ सस्कृतिलाई पुस्तान्तरण गर्दै आएको, कृषि तथा पशुपालनमा आत्मनिर्भर रहेको बताएका थिए ।

Advertisement

घलेगाउँमा आयोजित अन्तरक्रियामा हिमाली आमा समूहकी सहसचिव यमुना घले, घले गाउँ सञ्चालन समिति अध्यक्ष हर्कबहादुर गुरुङ, कन्या ज्योति युवा क्लबका अध्यक्ष ओमप्रसाद गुरुङ लगायतले घले गाउँको प्रकृति मौसम अनुसार फेरिने बताउँदै घाटु, कृष्ण चरित्र लगाएतका पूर्वजको नासो आगामि पुस्तालाई पनि हस्तान्तरण गर्दै आएको बताए ।

आमा समितिले गुरुङहरुको थातथलो अवलोकन भ्रमण तथा अध्ययन अनुसन्धानको क्रमलाई विगतमा कास्की जिल्लामा गरिएकोमा यस वर्ष लमजुङ जिल्लाका गाउँहरुमा गरिएको महासचिव बालकुमारी गुरुङले बताइन् ।

तपाईको प्रतिक्रिया