खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णले छोरेपाटनस्थित मानव सेवा आश्रममा खाद्यान्न र स्वास्थ्यसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । बौद्ध अर्घौं सदनका अध्यक्ष तथा डिस्ट्रिक्ट पास्ट क्याबिनेट ट्रेजर रुद्र घलेले संस्थाका संस्थापक शोभा गौतमलाई ती सामग्री हस्तान्तरण गरे ।
सो अवसरमा लायन्स क्लब अन्नपूर्णले शिक्षा, स्वास्थ्य, खानेपानी टंकी, वातावरण, खेलकुदका साथै मानव सेवा आश्रममा सहयोग गर्दै आएको बताइयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिवले मानव सेवा आश्रम सबै दाताको सहयोगबाट सञ्चालित भएको उल्लेख गर्दै नेपाल सरकारले सहयोग नगरेकोमा लायन्स क्लब अन्नपूर्णले सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले ‘दीनदुखीको सेवा गर्नु नै मानवको धर्म हो,’ भने ।
हंगर रिलाइफ चिफ कृष्णप्रसाद श्रेष्ठले सेवा गर्नु लायन्स क्लबको मूल मन्त्र भएको र आवश्यक परेको ठाउँमा लायन्स क्लब सधैं सहयोग गर्ने बताए । पोखरा महानगरपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष रविसन्स प्रजुले स्थानीय सरकार र संघ–संस्थाले मिलेर समाज परिवर्तन गर्न सकिने बताए ।
रिजन चेयरपर्सन सबी शेरचनले लायन्स क्लब पोखरा अन्नपूर्णले डिस्ट्रिक्टको नाम राख्न सक्षम भएको र बिना भेदभाव मानव सेवा आश्रमका दिदीबहिनीलाई स्याहारसुसार गरेको बताए । कार्यक्रम संयोजक विष्णुकुमार गुरुङले मानव सेवामा आवश्यक खाद्यान्न र स्वास्थ्य सामग्रीसहित ५५ हजार बराबरको सहयोग गरिएको जानकारी गराए ।
लायन्स क्लब पोखराका पूर्व अध्यक्षहरू डम्मरसिंह गुरुङ, नारायण बाटाजू र प्रदीप राजभण्डारीले मन्तव्य राखे । क्लबका अध्यक्ष गणेश छबिले सानो–सानो सहयोगबाट मानव सेवामा योगदान गर्न पाएको र आगामी दिनमा पनि यस्ता कार्यहरू निरन्तर गर्ने बताए । कार्यक्रम सञ्चालन सचिव प्रकाश सुवेदीले गरेका थिए ।
तपाईको प्रतिक्रिया