लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको टोली धम्पुसमा

लेखनाथ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको टोली आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ७ को धम्पुस पुगेको छ । सेवा केन्द्रले हरेक वर्ष विभिन्न ठाउँ अध्ययन अवलोकन गरी त्यस ठाउँमा आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउँदै आएको छ ।
यस वर्ष पनि सोही प्रकृतिको कार्यक्रमलाई निरन्तरता दिँदै कास्कीको पर्यटकीय गाउँ धम्पुसको अध्ययन अवलोकन गरी पर्यटन र शान्ति सुरक्षाका विषयमा अन्तरक्रिया गरिएको हो । धम्पुस पुगी नजिकबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृखला नियाल्न सकिने भएकाले पोखरा आउने जोकोही पर्यटन पनि धम्पुसमा जान सेवा केन्द्रले आग्रह गरेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वड नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले कास्की पर्यटकीय हिसाबले अब्ल ठाउ भएकाले यहाँ रहेका पहाडी भूभागमा सहज रुपमा यातायातको व्यवस्था पु¥याउनुपर्नेमा जोड दिए । पोखरा आएका पर्यटकलाई महिनै दिनसम्म पनि घुमाउन मिल्ने ठाउँहरु रहेकाले ती स्थानको प्रचारप्रसार गरी पर्यटन प्रर्वद्धन गर्न सक्नुपर्ने उनको भनाइ छ ।
सो अवसरमा धम्पुस गाउँ विकास समितिका पूर्वअध्यक्ष दलबहादुर गुरुङले यस क्षेत्रको हावापानी र प्रकृतिक सौन्दर्यले पर्यटक लोभिने गरेको बताए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की अध्यक्ष भीम पराजुलीले ग्रामीण भेगमा हुन सक्ने विकृति र विसंगतिका विरुद्ध कास्कीका रहेका सातै वटा सामुदायिक सेवा केन्द्रको पहलमा शान्ति, सुरक्षाको प्रत्याभूति गराउन सकिनेमा जोड दिए ।
लेखनाथ सामुदायिक सेवा केन्द्र अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव कृष्ण रिजाल र गोविन्द वाग्लेले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया