नेपाली राष्ट्रिय महिला फुटबल टिमको क्याप्टेन अन्जिलाको जीवनकथामा आधारित ‘अन्जिला’ फिल्म टोली पोखरामा

पोखरा । नेपाली राष्ट्रिय महिला फुटबल टिमको क्याप्टेन अन्जिला तुम्बाप्पो सुब्बाको जीवनकथामा तयार भएको फिल्म ‘अन्जिला’ प्रदर्शनको तयारीमा छ । फागुन २९ गतेदेखि प्रदर्शनमा देशभर प्रदर्शन हुने फिल्मको टिम प्रचारप्रसारका क्रममा मंगलबार पोखरा आएको हो ।
फिल्मका निर्देशक मिलन चाम्स, कलाकारहरु माओत्से गुरुङ, सुमिन गुरुङ लगायतको टोली पोखरा आएको हो । निर्देशक चाम्सले अन्जिलाले जीवनकालमा देखे, भोगेका घटनालाई फिल्मका समावेश गरेको बताए । फिल्ममा ९० प्रतिशत कथा अन्जिलाको जीवनको रहेको प्रस्टाए ।
‘फिल्ममा उनको कथा बाधेर आम दर्शकलाई बुझाउन खोजिएको छ । पाँच वर्षको अध्ययनपछि मात्र उनको बायोपिक तयार भएको हो, ’ उनले भने । नेपालमा ‘बायोपिक’ फिल्महरु निकै कम बन्ने गरेको उनले सुनाए । ‘नेपालका केही मात्रामा यस्ता फिल्म बनाउन कोसिस भएका छन् । बायोपिकको लागि लगानी गर्न खोजिदैन । बायोपिक फिल्म बनाउनु निकै चुनौति छ । यो फिल्म चल्न जरुरी छ । तबमात्र अन्य व्यक्तिको थुप्रै बायोपिक फिल्म बन्नेछन्,’ उनले भने ।
फिल्म समाजको ऐना भएकाले व्यवसायिक फिल्मभन्दा पनि यस्ता व्यक्तिका फिल्म बनाउनुपर्ने उनले सुनाए । चाम्सले यसअघि ‘ब्याइन्ड रक्स र वोवी’ नामक १ बायोपिक फिल्म निर्देशन गरिसकेका छन् । पाँचथरमा जन्मिएकी अन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेकी हुन् । सन् २०१४ मा श्रीलंकामा भएको एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । अहिले उनी नेपाली महिला फुटबल टिमकी कप्तान हुन् ।
तपाईको प्रतिक्रिया