पञ्चकोशी समाजको रजत जयन्ती

पोखरा । पञ्चकोशी (आर्थर डाँडाखर्क) समाजले रजत जयन्ती मनाउने तयारी गरेको छ । २०५७ मा स्थापना भई २५ वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी रजत वर्ष मनाउन लागिएको समाजले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
समाजले २५ वसन्त टेकेको अवसरमा रजत जयन्ती ३ दिनसम्म भव्य रुपमा मनाउने निर्णय गरिएको समाजका अध्यक्ष सब इन्स्पेक्टर कमल गुरुङले जानकारी दिए । जसमा समाजमा विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिने उनले बताए । उनका अनुसार फागुन २२ गते यही समाजघरमा रक्तदान, २३ गते सीतापाइलामा रहेको बृद्धाश्रममा आश्रितलाई भोजनदान र २४ गते गण्डकी प्रदेश सरकारका अर्थमन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम हुनेछ ।
कार्यक्रममा समाजको रजत स्मारिका २०८१ को विमोचनसमेत गरिने उनले बताए । पर्वतको कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्क (आर्थर डाँडाखर्क) का स्थानीयहरु शिक्षा, स्वास्थ्यसहित दैनिक जीवनमा सहजतासँगै अवसरको खोजीमा पोखरा आएर बसेकाहरुले संस्था स्थापना गरेको अध्यक्ष गुरुङले बताए ।
‘बसाइसराइँका क्रममा पोखराका आएकाहरुले आफ्नो गाउँले परिवारलाई एकै ठाउँमा सामेल गराई दुःख–सुखमा साथ–सहयोग गर्नुका साथै आफ्नो भाषा, धर्म संस्कार संस्कृतिको संरक्षण एवं जन्मभूमिको विकास गर्ने उद्देश्यले २०५७ मंसिर २ गते स्व. मेयर हर्कबहादुर गुरुङको परिकल्पनामा श्री पञ्चकोशी (आर्थर डाँडाखर्क ) समाज पोखराको स्थापना भएको हो,’ उनले भने । पोखरामा रहेका डाँडाखर्क क्षेत्रका मानिस समाजमा आवद्ध भई बर्सेनि विभिन्न कार्यक्रम गरिरहेको उनले सुनाए ।
तपाईको प्रतिक्रिया