रेडक्रसको पहलमा मराम्चेमा खानेपानी

समाधान संवाददाता २०८१ फागुन २० गते २०:३७


पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको पहलमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ को मराम्चेमा खानेपानी तथा सरसफाइ परियोजनाको निर्माण पूरा भएको छ । युनिका फाउन्डेसन दि नेदरल्यान्ड तथा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा १ वर्षको अवधिमा निर्माण भएको खानेपानी परियोजना मंगलबार स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

दातृ निकाय युनिका फाउन्डेसन दि नेदरल्यान्डबाट ४५ लाख ९७ हजार ४ सय ४४, अन्नपूर्ण गाउँपालिकाबाट ११ लाख १३ हजार १ सय ४० र स्थानीय समुदायको जनश्रमदान २५ लाख १२ हजार ९ सय ३१ गरी कुल ८२ लाख २५ हजार ५ सय १६ रुपैयाँको लागतमा खानेपानी परियोजनाको निर्माण कार्य भएको हो । गाउँभन्दा माथि १ हजार ६ सय ७० मिटर टाढाको छरछरे मुहानबाट ल्याएको खानेपानी परियोजना अन्तर्गत ३९ व्यक्तिगत र २ सामुदायिक गरी ४१ धारा जडान गरिएको रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।

युनिका फाउन्डेसनको ४६ लाख, अन्नपूर्ण गाउँपालिकाको ११ लाख र जनश्रमदान २५ लाख गरी ८२ लाखमा खानेपानी परियोजना पूरा

खानेपानी परियोजनाबाट अनुमानित २ सय ६१ जनसंख्या लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले मराम्चे खानेपानी तथा सरसफाई परियोजनाको धारा खोलेर उद्घाटन गरे । उनले पालिकाको हरेक घरधुरीमा खानेपानीको धारा पु¥याउने अभियानमा रेडक्रस कास्कीले साथ दिएको बताए ।

‘रेडक्रस कास्कीले मराम्चे लगायतका ४ वटा खानेपानी योजनाका लागि पालिकासँग सहकार्य गरेको छ,’ उनले भने, ‘निर्वाचित हुने क्रममा जनतासँग गरेको संकल्प अनुसार अबदेखि पालिकाका सबै क्षेत्रमा खानेपानीको अभाव हुने छैन ।’ उनले अन्नपूर्ण लान्द्रुक वृहत खानेपानी आयोजनाले वडा नम्बर १ देखि ७ सम्ममा सबै वडालाई समेट्ने जानकारी दिए ।

Advertisement

उनले रेडक्रस कास्कीसँगको सहकार्यमा अन्नपूर्ण ७ को पात्लेखेत, अन्नपूर्ण ८ को दाबिले र अन्नपूर्ण ९ को नयाँ गाउँमा खानेपानी आयोजनाको काम पूरा भएको बताए ।

मराम्चे खानेपानी उपभोक्ता संस्थाले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष चन्द्रकला अधिकारीले खानेपानी आयोजनाले स्थानीय समुदायको जन जीवनमा सहजता ल्याउने र कृषि उत्पादन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले खानेपानीको संरक्षण र व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् ।

युनिका फाउन्डेसन दि नेदरल्यान्डका राष्ट्रिय निर्देशक रमेश पौडेलले खानेपानी सुरक्षा योजना समुदायलाई हस्तान्तरण गर्दै स्थानीय सरकारले अपनत्व लिने र स्वामित्व ग्रहण क्षेत्रमा लागत साझेदारीमा काम गर्ने जानकारी दिए । उनले संस्थाले कास्कीको ३५ गाउँमा सुधारिएको चुल्हो निर्माणका लागि समेत काम गरेको बताए । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति पौडेलले खानेपानी अभाव भएको दूर दराजका क्षेत्रमा मानवीय सेवा अन्तर्गत खानेपानी र सरसफाईको क्षेत्रमा काम गरेको उल्लेख गरे ।

जापान रेडक्रस, फर्नवल्ड लगायतका दाताको विश्वासमा काम गरेको जानकारी दिँदै उनले युनिका फाउन्डेसनसँगको सहकार्यमा १५ वर्षदेखि खानेपानी र संस्थागत विकासमा काम गरेको बताए । खानेपानी तथा सरसफाइ परियोजना प्रमुख कल्पना ज्ञवालीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको परीक्षणबाट खानेपानीको शुद्धता कायम भएको जानकारी दिइन् । उनले स्थानीय समुदायको सहयोगमा परियोजना समयमा सम्पन्न भएको उल्लेख गरिन् ।

कार्यक्रममा खानेपानी परियोजनाको लागि जग्गादान गर्ने नरेन्द्रप्रसाद पौडेल र सीता परियारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । समारोहमा खानेपानी निर्माणमा सहयोग गर्ने भीमबहादुर आले र सुजन चेपाङलाई समेत सम्मान गरियो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष फणीन्दप्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्की उपसभापति उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी, उपकोषाध्यक्ष विष्णुप्रसाद भण्डारी, कार्यसमितिका सदस्य रमेशराज भण्डारी, कार्यालय प्रमुख कृष्णप्रसाद कोइराला, बुद्धिजीविहरु चन्द्रकान्त पौडेल र सुरज पौडेल, अन्नपूर्ण लान्द्रुक वृहत खानेपानी आयोजनाका सचिव महेश्वर पौडेल, मराम्चे खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दिलबहादुर केसी, उपाध्यक्ष आशिका शर्मा अधिकारी, सचिव कृष्णप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया