
जोमसोम ।
लोमान्थाङ २ न्हेछुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको आवश्यक पूर्वाधार तथा पर्याप्त जनशक्ति नहुँदा लक्ष्य अनुसारको राजस्व संकलनमा चुनौती देखिएको छ । पूर्वाधार तथा जनशक्ति अभाव हुँदा न्हेछुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालय अपेक्षा गरेअनुरूप राजस्व संकलन गर्न नसकेको हो ।
मुस्ताङ भन्सार कार्यालयमा १ शाखा अधिकृतसहित ७ जनाको दरबन्दी छ । कोरला नाका खुलेपछि स्थापित यो भन्सारको जनशक्ति ज्यादै न्यून हो । मुस्ताङ भन्सार कार्यालयमा १ शाखा अधिकृतसहित २ जना नायब सुब्बा, १ लेखापाल, १ कम्प्युटर अपरेटर र २ कार्यालय सहयोगीको दरबन्दी छ ।
भन्सारका लागि ७ कर्मचारीको दरबन्दी रहे पनि हाल १ नायब सुब्बा, १ लेखापाल र १ कार्यालय सहयोगीमात्रै छन् । हालै एक कम्प्युटर अपरेटर करारमा भर्ना गरिएको छ । भन्सार विभागले एक जना कार्यालय प्रमुखका रूपमा भन्सार अधिकृत खटाए पनि कार्यक्षेत्रमा उपस्थित भएका छैनन् । पुरानै दरबन्दीलाई थप्नुपर्ने आवश्यकता तत्काल देखिन्छ । सीमित जनशक्ति हुँदा मुस्ताङ भन्सारमा कार्यसम्पादनमा ठूलो समस्या देखिएको छ ।
नेपाल–चीन उत्तरी कोरला नाका गत वर्षको कात्तिक महिनादेखि वर्षभर खुला गरिएको थियो । उपल्लो मुस्ताङका नागरिकलाई लक्षित गरी दैनिक उपभोग्य सामान खरिद बिक्री गर्ने उद्देश्यले २०८०/८१ को कात्तिक २७ गते निकै तामझामका साथ कोरला नाका औपचारिक रूपमा खुला गरिएको घोषणा गरिएको थियो । नेपाल–चीन कोरला नाका खुला भएको डेढ वर्ष बितिसक्दा पनि भन्सार विभागले आवश्यक जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सकेको छैन ।
नाका औपचारिक रूपमा खुलेको ८ महिनापछि गत कात्तिक महिनामा गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागले कोरला नाकाको दशगजा क्षेत्रमा अध्यागमन कार्यालय स्थापना गरेको थियो । गृहमन्त्री रमेश लेखकले उक्त कार्यालय उद्घाटन गरेका थिए । तर, कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालयमा पनि जनशक्ति नहुँदा कार्यालय उद्घाटनमै सीमित बनेको छ ।
कोरलामा खोलिएको अध्यागमन कार्यालय र भन्सार कार्यालय स्रोत, साधन नहुँदा प्रभावकारी बन्न सकेका छैनन्
मुस्ताङ भन्सार कार्यालय खुलेको डेढ वर्ष बितिसक्दा पनि आवश्यक भौतिक पूर्वाधार व्यवस्थापन नहुँदा राजस्व संकलन कार्यमा जटिलता देखिएको छ । कार्यालयका निमित्त प्रमुख नायब सुब्बा होमबहादुर बिष्टका अनुसार नाका खुले पनि भन्सारका लागि आवश्यक पूर्वाधार व्यवस्थापन नहुँदा राजस्व संकलनमा समस्या र चुनौती थपिएको छ ।
मुस्ताङ भन्सार कार्यालयका लागि न्हेछुङमा खाद्य क्वारेन्टाइन, पशु क्वारेन्टाइन र पेय पदार्थ जाँच गर्ने क्वारेन्टाइन नहुँदा आयातीत वस्तुको राजस्व संकलनमा बाधा पुगेको छ । हाल मुस्ताङ भन्सार कार्यालय अन्तर्गत न्हेछुङमा प्लान्ट क्वारेन्टाइनमात्रै रहेकाले समस्या सिर्जना भएको निमित्त प्रमुख बिष्टको भनाइ छ । मुस्ताङ भन्सार कार्यालयको जोमसोममा सम्पर्क कार्यालय छ । जोमसोममा रहेको सम्पर्क कार्यालय खारेज गरेर अवस्थित सबै कर्मचारीलाई न्हेछुङमै व्यवस्थापन गर्ने तयारी भइरहेको निमित्त प्रमुख बिष्टले जानकारी दिए ।
भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म १ लाख ९८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत वर्षको कात्तिक २७ गतेदेखि असार मसान्तसम्म विभिन्न वस्तुमा ८ लाख ७४ हजार राजस्व संकलन गरेको थियो । बिष्टका अनुसार चालु आर्थिक वर्षको साउनमा ४९ हजार ८ सय ४९, भदौमा ४० हजार ७ सय ५५, असोजमा १ हजार ७ सय ४६, कात्तिकमा ३४ हजार ९ सय ३४, र पुस महिनामा ७१ हजार ६ सय २९ रुपैयाँ राजस्व संकलन गरिएको थियो ।
भन्सारको गत आर्थिक वर्षको राजस्व तुलना गर्दा चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २२ दशमलव ७९ प्रतिशतमात्रै राजस्व संकलन भएको हो । मुस्ताङ भन्सार कार्यालयले कोरला नाकाबाट विभिन्न शीर्षकमा भन्सार राजस्व संकलन गर्ने गरेको छ । जसअन्तर्गत एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर, अन्तः शुल्क आयात, भन्सार महसुल आयात, आयातमा लाग्ने अन्य शुल्क महसुल, भन्सारसम्बन्धी अन्य आय, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम, अन्य प्रशासनिक सेवा शुल्क, बेरुजु, र मूल्य अभिवृद्धि कर (मुअ कर) आयात लगायत छन् ।
सरकारले कोरला नाकालाई प्राथमिकतामा राखेर भन्सार कार्यालयलाई प्रभावकारी बनाउनुपर्ने लोमान्थाङ ३ ठिंगरका स्थानीय कर्मासम्टुक गुरुङ बताउँछन् । उपल्लो मुस्ताङका नागरिकले आधारभूत समस्या समाधानका साथै केही आम्दानी गर्न सक्ने अवसर सुनिश्चित गराउन भन्सार कार्यालयमा आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन गर्न उनले अनुरोध गरे ।
‘नाका खुल्यो भनेर निकै हर्षित भयौं, दुईचार पैसा आम्दानी गर्न सकिन्छ भन्ने ठान्यौं,’ स्थानीय गुरुङले भने, ‘तर चीनबाट ल्याइएका सामानको भन्सार काट्न पाइएको छैन, मुस्ताङ छोडेर अन्यत्र सामान लैजाँदा अवैध ठहरिन्छ । हामीलाई सहज व्यापार गर्न भन्सार काट्ने व्यवस्था हुनुपर्छ ।’ उनले भन्सार पूर्वाधार बिना नाका खुल्नुको अर्थ नहुने टिप्पणी गरे ।
कोरला नाकाबाट उपल्लो मुस्ताङका नागरिकले चीनको सीमाना कोरलाको तिब्बती भूमि लिजी बजारमा पुगेर सामान आयात गर्ने गरेका छन् । तर, नाका खुले पनि नेपाल पक्षबाट कुनै पनि सामान निर्यात गर्दा राजस्व भने हालसम्म संकलन हुन नसकेको निमित्त प्रमुख बिष्टले बताए ।
कोरला नाका खुला भएको डेढ वर्ष बितिसक्दा हालसम्म करिब ३ हजारको हाराहारीमा उपल्लो मुस्ताङका नागरिकले कोरला सीमापार पास लिएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्थानीय तहको सिफारिसमा तल्लो मुस्ताङका आंशिक नागरिकलाई कोरला प्रस्थान अनुमति पत्र (पास) वितरण गरिसकेको छ । नाकाबाट खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक सामान, तिब्बती वास्तुकला सामग्री, कृषि उपकरण, र किराना सामान आयात हुने गरेको पाइन्छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया