गण्डकी विश्वविद्यालयको कुलपतिका लागि दरखास्त आह्वान

समाधान संवाददाता २०८१ फागुन २२ गते ५:४१

पोखरा । गण्डकी विश्वविद्यालयले रिक्त रहेको कुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न इच्छुक व्यक्तिहरूबाट दरखास्त आव्हान गरेको छ। कुलपति सिफारिस समितिद्वारा स्वीकृत “गण्डकी विश्वविद्यालयको कुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८१” अनुसार आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Advertisement

योग्य तथा इच्छुक व्यक्तिहरूले कार्यविधिको अनुसूची-१ मा उल्लिखित ढाँचाअनुसार फारम भरी आवश्यक कागजात संलग्न गरी दरखास्त पेश गर्न सक्नेछन्। सूचना पहिलो पटक प्रकाशित भएको मिति फागुन २१ बाट १५ दिनभित्र कार्यालय समयभित्र दरखास्त दिनुपर्नेछ। दरखास्त विश्वविद्यालयको पोखरा महानगरपालिका-१७ स्थित कार्यालयमा पेश गर्न सकिनेछ। सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट दरखास्त दिन सकिने उल्लेख गरिएको छ।

दरखास्तका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ, जुन गण्डकी विश्वविद्यालयको NMB बैंक, अमरसिंह चोक शाखामा जम्मा गर्नुपर्नेछ। विस्तृत जानकारीका लागि गण्डकी विश्वविद्यालयको वेबसाइट www.gandakiuniversity.edu.np मा हेर्न सकिनेछ।

संस्थापक कुलपति कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिनु अगावै विश्वविद्यालय ऐन अनुसार नै सिफारिस समिति गठन गरिएको थियो । कुलपति गुरुङको कार्यकाल फागुन ३ गते सकिएको हो ।

गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यासिक परिषदको अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ । जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यासिक परिषदले तोकेको न्यासिक परिषदको सदस्य रहने प्रावधान छ । हाल न्यासिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन् । छनोट समिति सदस्यमा लोकसेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यासिक परिषद्बाट यमुना घले छन् ।

Advertisement

समितिको सचिवालय स्थापना भइसकेपछि कार्यविधि बनाएर छिटै नै दरखास्त आह्वान गरिएको हो । त्यसो त थप एक पदावधिको लागि सरकारले पहिलो कार्यकालकै कुलपतिलाई नियुक्त गर्न सकिने प्रावधान कानुनमा राखिएको छ । विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुनेछ ।

सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्य ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ र यसरी सिफारिस भएका व्यक्तिमध्येबाट मुख्यमन्त्रीले कुलपतिका नियुक्ति गर्ने व्यवस्था ऐनले गरेको छ ।

कुलपतिको पदमा पहिलोपटक नियुक्तिका लागि सिफारिस गर्न प्रदेश सरकारको शिक्षा क्षेत्र हेर्ने मन्त्रीको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र प्रमुख सचिव सदस्य रहेको ३ सदस्यीय समितिको व्यवस्था थियो । सुरुमा न्यासिक परिषद् गठन नभइसकेकाले कानुनमै त्यस्तो प्रावधान राखिएको हो । हालका कुलपति त्यही समितिको सिफारिसमा नियुक्त भएका हुन् ।

गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी भइरहेको रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले बताए । गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेश सभाबाट २०७६ असोज २७ मा पारित भएसँगै यसले विश्वविद्यालयको मान्यता पाएको हो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सोच र अग्रसरतामा विश्वविद्यालय खुलेको हो ।

विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचल अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आट्र्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) पढाइ हुन्छ ।

तपाईको प्रतिक्रिया