‘अनलाइन बाल हिंसा रोक्न छुट्टै कानुन चाहियो’

समाधान संवाददाता २०८१ फागुन २२ गते ११:१८

पोखरा । अनलाइनबाट बालबालिकालाई गरिने यौनजन्य हिंसा र दुव्र्यवहारका मुद्दा हेर्न छुट्टै विशिष्टकृत कानुन निर्माण गर्न बाल अधिकारकर्मीले माग गरेका छन् । उनीहरुले अनलाइनमा बाल संरक्षणका लागि प्रचलित कानुनका अलवा छुट्टै विशिष्टकृत कानुन आवश्यक भएको बताए ।

Advertisement

सिविन नेपालका परियोजना व्यवस्थापक माधव लोहनीले नेपालमा साइबर अपराधलाई हेर्न विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को व्यवस्था गरिएको भएता पनि बालबालिकाको सवाल कही कतै नसमेटिएको जानकारी दिए । ‘बालबालिकाको अनलाइन यौन शोषण रोकथाममा सामुदायिक योजनाहरुको त्रैमासिक समीक्षा कार्यशालामा उनले बाल संरक्षणका लागि एउटा विशिष्टकृत कानुनको व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

‘बालबालिकालाई अनलाइन सुरक्षाका लागि प्रचलित कानुनको अभाव छ,’ उनले भने, ‘कानुनको अभावमा केका आधारमा मुद्दा चलाउने भन्नेमा समस्या छ । अदालतमा परेका मुद्दा छिनोफानो गर्न कठिनाइ छ ।’ अनलाइनमा बाल संरक्षण आफंैमा विशिष्टिकृत विषय भएको चर्चा गर्दै उनले अनलाइन बाल संरक्षणसम्बन्धी शिक्षा प्रवद्र्धनका लागि त्यही खालको जनशक्ति आवश्यक भएको उल्लेख गरे ।

उनले बालबालिकाको मुद्दामा सरोकारवालाको गम्भीरतामा कमी भएको जनाए । लोहनीले विगत १ वर्षदेखि नेपालको विद्यालय शिक्षाको पाठ्यक्रममा अनलाइन बाल संरक्षणको विषय समेटिएको बताए । उनले अनलाइनको माध्यमबाट बालबालिकामाथि हुन सक्ने यौन शोषण तथा दुव्र्यवहारका घटनाबारे सचेत र सजग बनाउनको लागि कक्षा ६ देखि १२ कक्षासम्मको पाठ्यक्रममा समावेश गरेको उल्लेख गरे ।

उनले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले साइबर सुरक्षा मुख्य चुनौती भएको बताए । उनले अनलाइनमा बाल संरक्षणको अभियानमा विद्यालय जाने उमेर समूहका विद्यार्थीलाई समेट्ने जानकारी दिए । पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले महानगरको स्थानीय पाठ्यक्रममा समेत यौनजन्य हिंसा र यसको रोकथामसम्बन्धी विषयबस्तु समावेश गरेको बताए । उनले जीवन उपयोगी सीप शिक्षा कार्यक्रममा समेत ती विषय समेटिएको जनाए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीका महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक सरला ढकालले बाल बिज्याईका २३ घटना दर्ता भएको जानकारी दिइन् । उनले ९५ प्रतिशत घटना सामाजिक सञ्जालबाट भएकाले घरेलु हिंसाका घटना आउन छोडेको बताइन् ।

अनलाइनबाट हिंसा र दुव्र्यवहारका घटना बढेको परिप्रेक्ष्यमा नेपाल प्रहरीले साइबर अपराध, बंैकिङ कसुर लगायतका विषय विज्ञलाई नयाँ भर्ना गर्न खोजेको उनले उल्लेख गरिेन् । कार्यक्रममा पोखरा महानगर पालिकाका सामाजिक महाशाखाका प्रमुख निर्मला शर्मा, बाल कल्याण अधिकारी बेलकुमारी गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेल, सहारा बाल आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारी, सिविन नेपाल कास्कीका जिल्ला संयोजक शंकर नेपाली, मनोविमर्शकता कृष्णा गुरुङ, स्वयंसेवक सुमन नेपाली लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया