मिक्कि एफसीलाई बेगनास कप उपाधि

लेखनाथ ।
बेगनास युवा क्लवद्धारा आयोजित तेस्रो बेगनास कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि मिक्की एफसीले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा विनोद मेमोरियललाई १–० को गोल अन्तरले हराउँदै मिक्कि एफसीले उपाधि हात पारेको हो ।
उपाधिसँगै मिक्कीले नगद १ लाख ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मिक्कीले पहिलो हाफको २० मिनेटसम्म कुनै गोल गर्न नसके पनि अतिरिक्त १ मिनेटको समयमा विनम गुरुङले गरेको गोल नै निर्णायक बनेको हो ।
खेलको दोस्रो हाफपछि पनि दुवै टिमले प्राप्त गरेका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन । विनोद मेमोरियलले उपविजेताको उपाधिसँगै नगद ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसअघि सेमिफाइनलमा एनके क्लबलाई २–० ले पराजित गर्दै मिक्की एफसिले फाइनलको यात्रा तय गरेको थियो भने विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १–० ले पराजित गर्दै मिक्की एफसीसँगको भेट पक्का गरेको थियो ।
प्रतियोगितामा एनके क्लबले उत्कृष्ट अनुशासित टिमको उपाधिसँगै नगद ८ हजार प्राप्त गरेको छ भने मिक्की एफसीका अमिर गुरुङ उत्कृष्ट खेलाडी, विनम गुरुङ उच्च गोलकर्ता र सञ्जय ठकुरी उत्कृष्ट गोल रक्षक घोषित भएका छन् । उनीहरुले उपाधिसँगै जनही ५ हजार पाएका छन् ।
कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले बेगनास सुन्दर पर्यटकीय स्थल भएको र यससँगै खेलकुदको पनि प्रशस्त सम्भावना रहेको बताए । उनले यस किसिमका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने र यसबाट राम्रा खेलाडी उत्पादन गर्न सकिने औंल्याए ।
तपाईको प्रतिक्रिया