गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान: ५ वर्षमा १९ हजारलाई तालिम

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले ५ वर्षको अवधिमा प्रदेश र स्थानीय तहको शासकीय क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ । संस्थागत विकास, तालिम तथा प्रशिक्षण, अध्ययन तथा अनुसन्धान, सवाल केन्द्रित संवाद, प्रशिक्षण सामग्रीको उत्पादन र ज्ञान व्यवस्थापन, संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धको विकास, प्रशिक्षकहरूको क्षमता विकास र क्षमता विकासमा गतिशीलता तथा नवप्रवर्तन जस्ता क्षेत्रहरूमा प्रतिष्ठानले महत्वपूर्ण योगदान पु¥याएको कार्यकारी निर्देशक ऋषिराम पाण्डेले बताए ।
पाण्डेका अनुसार प्रतिष्ठानले ५ वर्षको अवधिमा १८ हजार ८ सय ३० जनप्रतिनिधि र कर्मचारीलाई विभिन्न कार्यक्रममार्फत् प्रशिक्षित गरेको छ । ६ सय ४० कर्मचारीलाई सेवाकालीन तालिम प्रदान गरेको छ । १२ सय ९२ कर्मचारीलाई सेवा प्रवेश तालिम प्रदान गरेको छ । पाण्डेले ४७ वटा स्थानीय तहको आवधिक योजना निर्माणमा सहयोग गरेको जानकारी दिए ।
५ वर्षे कार्यकाल सकिएपछि शुक्रबार पत्रकार सम्मेलन गरेर पाण्डेले ६२ स्थानीय तहमा राजस्व सुधार योजना निर्माणमा सहयोग गरेको बताए । ४९ स्थानीय तहमा क्षमता विकास योजना तर्जुमामा सहयोग गरेको छ । ६८ स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति निर्माणमा सहयोग गरेको पाण्डेले बताए । उनका अनुसार ६९ स्थानीय तहमा लैंगिक समानता तथा सामाजिम समावेशीकरण परीक्षणमा सहयोग गरेको छ ।
प्रतिष्ठानले गण्डकी प्रदेशको सन्दर्भमा अन्तरसरकार सम्बन्ध सम्बन्धी अध्ययन र स्थानीय आर्थिक विकास सम्बन्धी अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिष्ठानले प्रदान गरेका क्षमता विकास कार्यक्रमको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन प्रकाशन गरिएको पाण्डेले बताए ।
यस अवधिमा प्रतिष्ठानले गुण व्यवस्थापन प्रणालीका लागि आइएसओ ९००१ः२०१५ प्रमाण पत्र प्राप्त गरेको छ । प्रतिष्ठानले गुण व्यवस्थापन प्रणालीलाई गण्डकी प्रदेशमा कार्यरत सबै तालिम प्रदायक निकाय, विश्वविद्यालय र शैक्षिक संस्थाहरूमा समेत कार्यान्वयन गर्न प्रेरित गरेको पाण्डेले बताए । ५ वर्षअघि शून्यबाट काम थालेर यो अवस्थामा आइपुग्न सहयोग गर्ने सबैमा उनले धन्यवाद दिए । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको नदीपुरस्थित भवनमा प्रतिष्ठान सञ्चालित छ । उक्त भवन र जग्गाको भोगाधिकार प्रदेश सरकारले पाएको छ । प्रतिष्ठानले तालिम र कार्यालय सञ्चालनका लागि सुविधासम्पन्न भवन समेत बनाएको छ । उक्त भवन यसै वर्ष निर्माण सम्पन्न हुने पाण्डेको भनाइ छ ।
निर्देशक पाण्डेको पदावधि सकियो

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको पदावधि सकिएको छ । उनको पदावधि सकिएसँगै नयाँ कार्यकारी निर्देशकको खोजी सुरु भएको छ ।
यसका लागि प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम सदस्य रहेको समिति गठन भएको छ । समितिले कार्यविधि बनाएर कार्यकारी निर्देशकका लागि दरखास्त आह्वानको सूचना समेत प्रकाशन गरिसकेको छ । कार्यविधि भने गोप्य राखिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फागुन २१ गते प्रकाशित सूचना मार्फत् इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ । आवेदन दिन चाहने व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त बुझाउनु पर्नेछ ।
कार्यकारी निर्देशक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्र्तीण गरेको र कम्तीमा १० वर्षको अनुभव भएको वा स्नातक तहपछि १५ वर्षको अनुभव भएको व्यक्ति हुनुपर्छ । साथै उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ । कुनै फौजदारी कसुरमा अदालतबाट दोषी नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग कुनै स्वार्थ सम्बन्ध नरहेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।
तपाईको प्रतिक्रिया