समाज विज्ञान केन्द्रको कचहरी

घरमा आमाले गरेको कामको हिसाब खोइ ?

समाधान संवाददाता २०८१ फागुन २४ गते १८:३२

पोखरा । अंग्रेजीमा एउटा चर्चित निबन्ध छ—मेरी आमाले कहिल्यै काम गर्नुभएन । बोनी स्मिथ याकेलको यो निबन्धले सन् १९०० को सुरुआततिरको अमेरिकी समाजको चित्रण गर्छ । निबन्धले भन्न खोजेको घरको काम गर्ने महिलाको कुनै गणना छैन भन्ने हो । प्राडा चन्द्रा भद्रा नेपालको अहिलेको स्थिति उही बेलाको अमेरिकी समाजको जस्तो रहेको बताउँछिन् ।

Advertisement

बाबाले के गर्नुहुन्छ भनेर सोध्दा बच्चाहरु शिक्षण, जागिर, व्यवसाय वा अरु केही न केही काम भनेर उत्तर फर्काउँछन् । अनि आमाले भनेर सोधे, केही गर्नुहुन्न भनिहाल्छन् । जब कि घरमा आमाले खाना पकाउने, लुगाधुने, सरसफाइ गर्ने, बच्चाबच्ची र घरमा पाका सदस्यको स्याहारसुसार र खेतीबालीको लगायत काम गरेका हुन्छन् । अझै पनि धेरैजसो परिवारमा घर व्यवस्थापनको सम्पूर्णजसो जिम्मेवारी महिलाकै काँधमा छ । त्यो हिसाबले भन्नुपर्ने त—‘मेरी आमाले धेरै काम गर्नुहुन्छ’ हो । तर विडम्बना आमाले घरभित्र गर्ने कामलाई आम्दानीसँग जोडिने गरेको छैन । आमाहरुका त्यस्तो कामलाई प्राडा भद्रा सुश्रेषाजन्य अर्थतन्त्रको संज्ञा दिन्छिन् ।

महिलाले वस्तु उत्पादन गर्छिन्, दिन्छिन्, घरभित्रै उत्पादन हुन्छ र उपभोग पनि घरभित्रै हुन्छ, त्यसको बजारीकरण नभएकाले भाउ पाएको छैन

नेपालको संविधानको धारा ५१ मा राज्यका निर्देशक सिद्धान्तको व्यवस्था छ । त्यसैको उपधारा ञ को ४ मा ‘बालबच्चाको पालन, पोषण, परिवारको हेरचाह जस्ता काम र योगदानलाई आर्थिक रुपमा मूल्यांकन गर्ने’ उल्लेख छ । प्राडा भद्रा संवैधानिक व्यवस्था भएको यतिका वर्षमा पनि महिलाले घरमा गरेको काम र योगदानलाई आर्थिक मूल्यांकन नभएको सुनाउँछिन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार ‘नेपाली महिलाहरुको बेतलबी हेरचाह कार्यको मूल्यांकन’ शीर्षकमा भद्रा यी कुरा गर्दै थिइन् । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर गैरापाटन अन्तर्गतको समाज विज्ञान केन्द्रले नियमित सञ्चालन गरिरहेको कचहरीमा महिला विशेष बहस जो जुरेको थियो । घरधन्दाबाहेक निर्वाहमुखी कृषि पनि महिलाकरण भएको प्राडा भद्राको भनाइ थियो । ‘पुरुषहरु वैदेशिक रोजगारीमा गएका छन्, कृषि पनि महिलाले नै धानिरहेका छन्,’ उनले भनिन् ।

Advertisement

पञ्चवर्षीय योजनामा महिलाको घरायसी कामको मूल्यांकन गर्ने संयन्त्र स्थापना गर्न चुनौती रहेको उल्लेख गरिएको उनले सुनाइन् । तर उनले त्यस्तो संयन्त्र संघ, प्रदेश र स्थानीय तहमा बनाउन सकिने सुझाएकी छन् । महिलाले घरमा गरेको कामको आर्थिक मूल्यांकनका लागि सरकारले नै निर्धारण गरेको श्रमिक पारिश्रमिकलाई पनि एउटा आधार बनाउन सकिने उनको तर्क थियो । ‘आफूले गरेको कामको मूल्यांकन महिला आफैंलाई गर्न दिनुपर्छ,’ उनले भनिन्, ‘घर परिवार र समाज पूर्वाग्रही भए पनि राज्य पूर्वाग्रही हुनु भएन, महिलाको कामको योगदानको मूल्यांकन राज्यले गर्नुपर्छ र त्यसलाई कुल गार्हस्थ उत्पादनमा समावेश गर्नुपर्छ ।’
प्राडा भद्राको विद्यावारिधि पनि पारिवारिक स्रोत व्यवस्थापन शीर्षकमा हो । ‘महिलाले वस्तु उत्पादन पनि गर्छिन्, सेवा पनि दिन्छिन्,’ उनले भनिन्, ‘घरभित्रै उत्पादन हुन्छ र उपभोग पनि घरभित्रै हुन्छ, त्यसको बजारीकरण नभएकाले भाउ पाएको छैन ।’

गण्डकी मेडिकल कलेजकी प्राडाडा विमला शर्माले एउटी महिलाले परिवारका सदस्यको स्वास्थ्य जोगाउनकै लागि हजारको जागिर तिलाञ्जली दिँदा लाखौं बचत गराइरहेका छन् भनिन् । गण्डकी प्रदेश नीति तथा याजना आयोगकी सदस्य डा. माया तिमिल्सिनाले घरभित्र काम गर्ने महिलाको योगदानलाई राष्ट्रिय आयमा गणना गर्न ढिलाइ गर्न नहुने बताउँछिन् । यसका बारेमा छलफल गर्न अब ढिला गर्न नहुने उनको भनाइ थियो ।

नेपाल बार एसोसिएसन कास्की अध्यक्ष भगवती पहारीले घरभित्रको काम महिलाको मात्र हो भन्ने धारणा फेरिन जरुरी रहेको भनाइ राखिन् । ‘पुरुषहरुले घरको काममा त सघाउनुहुन्छ, तर त्यसलाई आफ्नो नभनी महिलाको काममा सघाएको ठान्नुहुन्छ, जुन गलत हो,’ उनले भनिन् । व्यावसायिक हिसावले हेर्ने हो भने महिलाहरु आयमा कमजोर नरहेको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्माले घरभित्र महिलाले गर्ने श्रमको गणना गरेका खण्डमा उनीहरुको आर्थिक पहिचान संवोधन हुने बताइन् । ‘उनीहरुको श्रम आयमा गणना नगरिएकाले महिलाको अवस्था कमजोर छ, हिंसामा परिरहेका छन्,’ उनले भनिन् ।

रेडियो सफलता एफएमकी सञ्चालक दुर्गा अधिकारीले घरभित्र र खेतबारीमा बिहानदेखि साँझसम्म दलिए पनि आफैले गरेको काम नै महिलालाई कामजस्तो नलागेको बताइन् । महिलाको कामलाई आयसँग जोड्ने हो भने मुलुकको कुल ग्राहस्थ उत्पादनमा समेत योगदान हुने उनको भनाइ थियो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगकी पूर्वसदस्य डा अञ्चला चौधरीले महिलाहरु वैदेशिक रोजगारीमा गएर सेवा सुश्रुषा गर्दा आर्थिक मूल्यमा गणना हुने गरे पनि मुलुकमै बसेर घरभित्रको कामको मूल्यांकन नहुनु दुखद पक्ष रहेको बताइन् । पोखरा ४ की वडा सदस्य पार्वती माकाजुले सहरबजारका महिलाको अवस्था केही सुधार भए पनि दूरदराजका महिलाको अवस्था उस्तै रहेको बताइन् ।

पोखरा विश्वविद्यालयका शिक्षक बद्री अर्याल, शान्ता पन्त भट्ट, समाजशास्त्रकी विद्यार्थी डिलमाया पौडेल लगायतले घरभित्रको कामका मूल्यका बारेमा भनाइ राखेका थिए । कलेजका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले समसामयिक विषयमा बहस चलाउन कहचरी सुरु गरिएको र मासिक शृंखला चलिरहेको जानकारी दिए । कलेजकी विद्यार्थी सम्झना भट्टराईले शनिबारको कचहरी बहसको सहजीकरण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया