‘संगठित आवाजले हक अधिकार सम्भव’

समाधान संवाददाता २०८१ फागुन २४ गते १८:४५

पोखरा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महिला कमिटी गण्डकीले शनिबार १ सय १५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । ‘स्याहार क्षेत्रका श्रमजीवीको रोजगारी, ज्याला, सम्बाद र सामाजिक सुरक्षाको सुनिश्चितता’ भन्ने नाराका साथ सो दिवस मनाएको हो ।

Advertisement

कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले सचेत र संगठित आवाजले मात्र मजदुरको हक अधिकार सम्भव भएको बताए । उनले मजदुरको तलब वृद्धिको बेला आएकोले दबाबमूलक कार्यक्रम गर्न आग्रह गरे । पेन्सन सुविधा पाउने सामाजिक सुरक्षा योजना सबै क्षेत्रमा लागु गर्न माग गर्दै उनले अनौपचारिक क्षेत्रलाई योजनामा समेट्न स्थानीय तहमा दबाबमूलक कार्यक्रम गर्ने जनाए । उनले महिला मजदुरको आन्दोलनले काम गर्दा ज्याला नपाउने व्यवस्थाको अन्त्य गरेको बताए । ‘समान कामको समान ज्यालाको अन्दोलनले धेरै महिला नेतृत्वतहसम्म पुगेका छन्,’ उनले भने, ‘हरेक स्थानीय तहमा प्रमुख उपप्रमुख मध्ये एक महिलाको अनिवार्य व्यवस्था गरिएको छ ।’ उनले महिलाले वृत्ति विकास र क्षमता बढाउनु पर्ने बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर केसीले राजनीतिक परिवर्तन र राजनीतिक रुपान्तरणसँगै लैंगिक समानता कायम हुँदै गएको दाबी गरे । तथापि अझै महिला श्रमिकले समान कामको समान ज्यालाका लागि संघर्ष गर्नु परेको उनले उल्लेख गरे ।

कार्यक्रममा इम्पे्रसन नेपालका केन्द्रीय सदस्य सवि शेरचन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश महिला कमिटीका अध्यक्ष संगीता पाण्डे, महिला कमिटीका सचिव ममता गौतमले लगायतले श्रमिक महिला दिवसको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया