पत्रकार कृष्णमणि बराल ५० हजार रुपैयाँसहित पुरस्कृत

समाधान संवाददाता २०८१ फागुन २४ गते १८:५०

पोखरा ।
अन्नपूर्ण पोष्टका पत्रकार कृष्णमणि बराललाई शनिबार पोखरामा सम्मान गरिएको छ । प्रेस क्लब गण्डकीले बराललाई ‘प्रेस क्लब पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो । सभामुख देवराज घिमिरेले बराललाई ५० हजार रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे । बरालले पत्रकारितामार्फत पर्यापर्यटन, वातावरण संरक्षण र पोखरेली पत्रकारीतामा उल्लेखनीय योगदान पु¥याउनुभएको भन्दै पुरस्कार प्रदान गरिएको हो ।

Advertisement


यसअघि पनि बरालले विभिन्न पुरस्कार पाएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले वातावरण र दिगो विकासका विषयमा उल्लेखनीय योगदान पु¥याएको भन्दै २०२२ मा ‘वातावरण पत्रकारिता पुरस्कार’ प्रदान गरेको थियो । त्यसबेला उनलाई २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । जैविक विविधता संरक्षणमा लामो समयदेखि समर्पित रहेको भन्दै प्राणीशास्त्र समाज पोखरा ५ हजार रुपैयाँसहित पुरस्कृत गरेको थियो ।

यस्तै, पर्यटन प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय काम गरेबापत ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले उनलाई ‘उत्कृष्ट टान पत्रकार अवार्ड’ प्रदान गरेको थियो । त्यसबेला बरालले सम्मानपत्रसहित नगद १० हजार रुपैयाँ पाएका थिए । बरालले लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै विभिन्न प्रतिष्ठित पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । सन् २०१२ मा उनले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) बाट २५ हजार रुपैयाँसहितको पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी, २०७३ सालमा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) ले फोटो पत्रकारितामा उत्कृष्टता प्रदर्शन गरेको भन्दै उनलाई ‘रेवान फोटो पत्रकार पुरस्कार’ प्रदान गरेको थियो ।


नेपाल पत्रकार महासंघले बराललाई ‘जगन्नाथ स्मृति युवा पुरस्कार’ प्रदान गरेको छ । सन् २०१७ मा अन्तर्राष्ट्रिय लाटेकसेरो महोत्सवले संरक्षण क्षेत्रमा उनको महत्वपूर्ण योगदानको कदर गर्दै २५ हजार रुपैयाँसहित सम्मानित गरेको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पनि बराललाई संरक्षण क्षेत्रमा पु¥याएको योगदानको लागि सम्मानित गरेको छ ।
बरालले आफ्नो पत्रकारिता यात्रामा नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन् । वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्न उनी अमेरिका समेत पुगेका थिए । नेपाली पत्रकारितालाई विश्वमञ्चमा पु¥याउन उनले खेलेको भूमिकालाई उच्च मूल्यांकन गरेर आफूहरुले सम्मान गरेको प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया