महिनादिनको पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्रको विदाइ भोज

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार विदाइ भोज दिएका छन् । उनी आइतबार काठमाडौं फर्कने कार्यक्रम छ । पोखरा बसाइको अन्तिम रात उनले आफू बसिरहेको पोखरा २१ स्थित मर्निङ ग्लोरी रिसोर्टमा पोखरा र आसपासका व्यक्तित्वहरुलाई विदाइ भोज दिएका हुन् ।
भोजमा प्राडा जगमान गुरुङसहित सांस्कृतिक अध्येता सुनील उलक लगायत पनि सहभागी रहे । त्यसबाहेक पोखराका विभिन्न धार्मिक संस्थाका प्रतिनिधिहरु सहभागी थिए । स्याङ्जाको आलमदेवी, बागलुङ कालिका, म्याग्दीको गलेश्वर मन्दिरसहित पोखराको धर्मोदय सभा, भैरव सांस्कृतिक समिति लगायतका संस्थाका प्रतिनिधि पनि निम्त्याइएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरु पनि शाहको भोजमा सहभागी बने ।
आफूले राजनीतिक नभई सांस्कृतिक कुराकानी गरेको अध्येता सुनील उलकले जानकारी दिए । उनले पोखराको पुरानो गणेश मन्दिरबारे शाहलाई अवगत गराएका समाधानलाई बताए ।
माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्रले यसबीचमा विन्ध्यवासिनी मन्दिर दर्शन गरेका थिए । फागुन २२ गते उनले पोखराको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको सालिक अनावरण गरे । त्यसबाहेक उनलाई केही स्थानीयले नगर परिक्रमासहितको अभिनन्दन पनि यसबीचमा गरेका थिए ।
तपाईको प्रतिक्रिया