आरुपाटा अर्धनारेश्वर धाम पैदल मार्गको उद्घाटन

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित आरुपाटा अर्धनारेश्वर धाम पैदल मार्गको शनिबार उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं.२८ को ७ लाख रुपैयाँ र स्थानीय जनसहभागितामा २ सय ६३ मिटर लामो पैदल मार्ग निर्माण सम्पन्न भएको हो ।
चुत्रकोटमा नेपालकै ठूलो अर्धनारेश्वर महादेवको मूर्ति स्थापना गरी धामको रुपमा विकास गर्ने गुरुयोजना बनेको र उक्त धामसम्म आवत जावतमा सहज बनाउनका लागि निर्माण गरिएको सिंढी र केही रेलिङ सहितको पैदल मार्गको पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले उद्घाटन गरेका हुन ।
पैदल मार्गको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाभित्र नयाँ पर्यटकीय गन्तव्य निर्माण कार्यमा वडा लागिरहेको र अन्य छिमेकी वडाहरुसँग पनि समन्वय गरिरहेको बताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरे । उनले पर्यटनका पूर्वाधार निर्माणले यस क्षेत्रकै आर्थिक समृद्धिमा टेवा पुग्नुका साथै धार्मिको पर्यटकीय क्षेत्रको रुपमा विकास हुने विश्वास व्यक्त गरे ।
यस्तै वडा सदस्य डाल्डादेवी भुजेलले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दै यो ठाउँ विगतदेखि नै पर्यटकीय क्षेत्रकाा रुपमा चिनिँदै आएको र उचित प्रचार प्रसार र योजनाको अभावमा पर्यटकिय गतिविधि हुन नसकेको बताइन् ।
समाजसेवी एवं व्यवसायी सुवोध त्रिपाठीले गुरुयोजना अनुसारको निर्माणका लागि सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका द्वित्तीय उपाध्यक्ष विक्रम कर्माचार्यले लेखनाथ क्षेत्रको विकासमा संघले विगतदेखि नै उल्लेखनीय योगदान गर्दै आएको बताउँदै आफ्ना योजनाहरु सहित संघलाई घच्घच्याउन स्थानीयहरुलाई आग्रह गरेका थिए ।
उक्त अवसरमा पैदल मार्ग निर्माण समितिका अध्यक्ष शम्भुराम पाण्डेले प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र विगतमा विदेशी पर्यटकहरुको प्रशस्त चहलपहल हुने ठाउँ अहिले शून्य भएको अवस्थामा यसलाई पुनः पर्यटकीय स्थानको रुपमा प्रचार प्रसार र विकास गराउन सबै लागिपर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पत्रकार रामप्रसाद तिम्सिना, लेखनाथ पत्रका मञ्चका अध्यक्ष कविराज खनाल, अर्धनारेश्वर धाम तथा तथा वन उपभोक्ता समितिका संस्थापक सचिव रामकृष्ण त्रिपाठी, इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख श्रवणकुमार विक, हाम्रो आरुपाटा टोल विकास संस्थाका अध्यक्ष वेदनाथ अधिकारी लगायतले बोलेका थिए ।
नेचुरल नेपाल होम स्टेमा आयोजित कार्यक्रममा आरुपाटा समृद्धि अभियानका बुद्धिराम पाण्डेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन पैदल मार्ग निर्माण समितिका उपाध्यक्ष पुष्पराज त्रिपाठीले गरेका थिए ।
प्राचिन समयमा बाइसे चौविसे राजाले शासन गरेको ऐतिहासिक महत्व बोकेको चित्राकोटमा १ सय ८ फिट अग्लो अर्धनारीश्वर महादेवको मूर्ति स्थापना गर्न गुरुयोजना तयार भइसकेको छ । अर्धनारेश्वर महादेव धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका संरक्षक दीपक तिमिल्सेनाले तयार पारिएको डिपिआर यस अघि नै वडा नम्बर २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेलाई हस्तान्तरण गरिसकेका छन् ।
सो क्षेत्रमा मूर्ति निर्माणसँगै आधुनिक सुविधा सम्पन्न गुरुकुल, बाल उद्यान, आधुनिक पार्क, भ्यू पोइन्ट, दुरा जातिको संग्रहालय निर्माणका साथै सो क्षेत्रको सौन्दर्यकरण डिपिआरमा समावेश गरिएको छ । परियोजना निर्माणका लागि ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
परियोजना निर्माण भएर सञ्चालनमा आएमा समग्र वडा नम्बर २८ मा पर्यटक आगमनमा वृद्धि भई आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास स्थानीयले गरेका छन् । वन उपभोक्ता समितिले परियोजना निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराउने निर्णय गरेको छ ।
वडाको धार्मिक तथा पर्यटन विकासका लागि तिलकशाली अधिकारीको संयोजकत्वमा अर्धनारेश्वर महादेव धार्मिक तथा पर्यटन क्षेत्र विकास समिति गठन गरिएको छ । उक्त स्थानबाट उत्तरतर्फ लहरै लागेका हिमशृंखला देख्न सकिन्छ भने दक्षिणतर्फ पोखरा लेखनाथ क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ भने कास्कीका सातवटै तालहरु समेत एकै ठाउँबाट देख्न सकिन्छ ।
सामुदायिक वनभित्र निर्मित संरचना पनि समुदायकै सम्पत्ति हुने भएकाले यस्लाई स्थानीय सहभागितामा बनाउन लागिएको परियोजनाका परिकल्पनाकार दीपक तिमिल्सेनाले बताए । अर्धनारीश्वर महादेवको मन्दिरमा गएर विवाहित दम्पतीले दर्शन गरेमा उनीहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
तपाईको प्रतिक्रिया