पोखरा महानगरमा कोटीहोम पक्षधरको धर्ना, सिडियोले बोलाए बैठक

समाधान संवाददाता २०८१ फागुन २५ गते १७:४५

पोखरा । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी गण्डकी कोटिहोम पक्षधरले आइतबार पोखरा महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

Advertisement

पोखराको लेकसाइडस्थित वाराहीघाटमा गर्ने भनिएको कोटीहोम रोक्न पोखरा महानगरका मेयर धनराज आचार्य लागीपरेको भन्दै कार्यालय अगाडि धर्ना दिइएको हो । विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश, जिल्ला शाखा कास्की, संस्कृत युवा मञ्च कास्की, मातृशक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाको सहभागितामा बिहान ९ बजेदेखि साढे १० बजेसम्म धर्ना भएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबारका लागि त्रिपक्षीय बैठक आह्वान गरेपछि धर्ना रोकिएको थियो । पोखरामा कोटीहोम रोक्न लागेको भन्दै आयोजक नेपाल मानव सेवा फाउन्डेसनले उच्च अदालत पोखरामा रिट दायर भएको छ । उक्त रिटमा अदालतले विपक्षी पोखरा महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ । उक्त आदेशविरुद्ध पोखरा महानगर भ्याकेटमा गएको छ । अदालतले दुवै मुद्दालाई एकैठाउँमा राखेर हेर्न अग्राधिकार दिएको छ । कोटीहोम आयोजक संस्था नेपाल मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न वडाका चौतारी मुठुर्‍याएको भन्दै कारवाहीको मागसहित अर्को रिट समेत परेको छ ।

कोटीहोम विवादले उग्ररुप लिएपछि कास्कीका प्रमुख जिल्ला अधिकारीले सोमबारका लागि दुवै पक्षलाई वार्तामा बोलाएका छन् । नेपाल मानव सेवा फाउन्डेसन र पोखरा महानगरपालिकालाई सोमबार वार्ताका लागि बोलाएको प्रजिअ पाण्डेले जानकारी दिए । उनले भने, ‘कोटीहोम विवाद चर्किंन थाल्दा शान्ति सुरक्षाको समेत सवाल भएकाले कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्न लागिएको हो ।’

कोटीहोमका लागि भूमि पूजन भएका दिन फागुन २३ गते वाराहीघाटमा झडप भएको थियो । झडपमा महानगर प्रहरीसहित १३ जना घाइते भएका थिए । कोटीहोम आयोजकतर्फका युवाहरुले रड र भालासहित आक्रमणमा उत्रेको महानगरले जनाएको छ । वैशाख १६ देखि जेठ २६ गतेसम्म फाउन्डेसनले पोखरामा कोटीहोम गर्दैछ । काठमाडौंको पशुपतिमा समेत कोटीहोम गरिसकेका विवादित पृष्ठभूमिका र आफूलाई धर्मगुरु बताउने विजय भण्डारीको अगुवाइमा कोटीहोम हुन लागेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया