पोखरा महानगर ९ मा महिला उद्यमी सम्मानित

समाधान संवाददाता २०८१ फागुन २५ गते १८:२४

पोखरा । १ सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा पोखरा महानगरपालिका वडा नम्बर ९को वडा कार्यालयले महिला उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकसँगको सहकार्यमा भएको कार्यक्रममा महिला सशक्तीकरणका लागि उत्प्रेरणात्मकमूलक प्रशिक्षण समेत गरिएको छ ।

Advertisement

समारोहमा सिर्जना कोसेली घरका सञ्चालक शवि शेरचन, साइनो साबुन तथा डिटर्जेन्टका सञ्चालक सपना विक, फाइभ सिस्टर्स नेचुरल फुड हाउसका सञ्चालक सुनिता घलेलाई दोशल्ला ओढाएर प्रशंसापत्र प्रदान गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सरला ढकालले लैंगिक तथा घरेलु हिंसा, बाल विवाह र बहुविवाहको विषयमा सहजीकरण गरेको सेवा केन्द्रका अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए ।

समारोहमा पत्रकार तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीका सचिव रिता गुरुङले महिला दिवसको इतिहास र नेपालमा महिला सशक्तिकरणको विषयमा सहजीकरण गरेकी छिन् । पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले महिलाको प्रोत्साहन गर्नका लागि उद्यमशीलतामा लागेका महिलालाई वडाले सम्मान गरेको बताए । उनले उद्यमशीलताको विकासले महिलाको सशक्तिकरण हुने उल्लेख गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वशन्तकुमार शर्मा, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष श्रेष्ठ, संस्थाका उपाध्यक्ष कुमारीमुना बांस्तोला, सचिव उत्तम जोशी, कोषाध्यक्ष तीर्थ शर्मा ढकाल, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णुमाया श्रेष्ठ, वडा स्तरीय दलित सञ्जालका अध्यक्ष सपना विक, रुपा केसी लगायतले महिला दिवसको बारेमा बोलेका थिए । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार समनता र सशक्तिकरण’ भन्ने मुल नाराका साथ महिला दिवस मनाइएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया