पोखरा महानगरपालिका टि–२० क्रिकेटमा उपाधिका लागि लेखनाथ र माछापुच्छ्रे क्रिकेट क्लब भिड्ने

समाधान संवाददाता २०८१ फागुन २५ गते १९:१८

पोखरा । पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टी–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि लेखनाथ युथ क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लब भिड्ने भएका छन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार भएको दोश्रो सेमिफाइनलमा कास्की क्रिकेट क्लबलाई २३ रनले पराजित गर्दै लेखनाथ युथ फाइनलमा प्रवेश गरेपछि यी २ क्लबबीच उपाधि भिडन्त पक्का भएको हो ।

Advertisement

यसअघि शनिबारको खेलमा राइजिङ क्रिकेट क्लबलाई ९६ रनले पराजित गर्दै माछापुच्छ्रे क्रिकेट क्लब फाइनल प्रवेश गरेको थियो । फाइनल खेल सोमबार बिहान ९ः३० बजेदेखि लेखनाथको इडेन हेभन क्रिकेट ग्राउन्डमा हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए ।

आइतबार भएको दोश्रो सेमीफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लेखनाथले १९.४ ओभरमा अलआउट हुँदै १३५ रनको मध्यम स्कोर बनाएको थियो । लेखनाथका लागि दीपक बरालले २५ बलमा ३९ रन र प्रदीप तामाङले २१ बलमा २० रनको योगदान दिए । लेखनाथलाई ठूलो स्कोर बनाउन नदिन कास्की क्रिकेट क्लबका आदित्य थापाले २० रन खर्चे ४ विकेट हत्याए ।

१३६ रनको मध्यम लक्ष्य भेट्टाउन जवाफी ब्याटिङमा उत्रिएको कास्की क्रिकेट क्लब १९ ओभरमा अलआउट हुँदै ११२ रनमा सिमित भएपछि उपाधि पुग्ने होडबाट बाहिरियो । आदीत्य थापाले ४४ बलमा ३३ रन बनाएपनि अन्य ब्याटरले साथ नदिदा कास्की हार बेहोर्न बाध्य भयो । कास्कीलाई सस्तैमा समेट्न लेखनाथका विशाल पौडेल, महेश मण्डल र दीपक बरालले समान २÷२ विकेट लिए । आइतबारको खेलमा लेखनाथ युथका दीपक बराल प्लेयर अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट व्याटर, वेष्ट बलर लगायतलाई पुरस्कार प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया