श्रुति विमिन्नाः स्मृतिश्च भिन्नाः

दुर्गा रेग्मी २०८१ फागुन २६ गते ११:१६

सिर्जना आफू आफैंभित्र घटित विराट घटना हो । यस्तै अनेकौँ घटनाहरूको परिष्कृत रूप निखारता प्रकृति हो । यही प्रकृति सृष्टि हो । यो सृष्टि एकैचोटि अस्तित्वमा आएको छैन । यो क्रमबद्धता अनि लयमा आधारित छ । केही हराउँदै छन्, केही निस्कँदै छन् । नयाँ निस्कनेले पुरानोलाई खाएको छ । पुरानोको अस्तित्वमा नयाँको जीवन पलाएको छ । पुरानो हराउनु र नयाँ निस्कनुको करोडौँ वर्षको लामो यात्रा सृष्टि हो । हाम्रा अनेक धर्मशास्त्र, वेद–पुराण आदिले मानेको संसार सृष्टिको स्वरूप पनि नयाँ र पुरानो हराउनु र उत्पत्ति हुनुमा प्रमुखता राखेको जस्तो लाग्दछ । यी असीमित घटनाहरूको उतारचढाव, परिमार्जन, परिष्कृतता, सिर्जना र सन्तुष्टता जस्ता मनोवैज्ञानिक परिवर्तन नै संसार हो । ‘सम्यक सार संसार’ सम्यकताका प्रयास र परिवर्तन नै संसार हो ।

Advertisement


यो सारा गतिविधिको यात्रा निरन्तर छ । कहिले उच्च गतिमा, कहिले धीमे गतिमा । जब आवश्यकताको तीव्रता बढ्दै जान्छ, तब सिर्जनाका नदीमा बाढी आउँछ । जब आवश्यकतामा मन्दता देखिन्छ, गति र सृष्टिको आवश्यकतामा कमी आउँछ । सिर्जना र सन्तुष्टिले नै संसार सजिएको छ ।


विज्ञान भन्छ, यो संसारको उत्पत्ति ३० करोड वर्ष पुरानो छ । १० करोड वर्षसम्म यसमा अनेकौँ भौतिक परिवर्तनहरू हुँदै गए । दोस्रो चरणको सुरुआतमा जीवहरूको अस्तित्व देखिन थालेको बताइन्छ । यही समयदेखि जीवले यस्तो गति विकसित ग–यो कि आफ्नो अस्तित्व ८४ लाख योनिसम्म बढाउँदै लग्यो, जुन हाम्रो धर्मशास्त्रले उल्लेख गरेको छ । यो जीव अस्तित्वमा देखिएको परिवर्तनको घटना हो ।


८४ लाख योनिका अस्तित्वलाई हेर्दा, एकै पटक बोराबाट आलु खन्याए जस्तो लाग्दैन । एकपछि अर्को परिवर्तन, घटना र विकासले यिनमा विविधता थपेको छ । हराउने र निस्कने क्रम तीव्र गतिमा देखिन्छ । ध्यान रहोस्, ८४ लाख योनि के के हुन् त?
मनुष्य – ४ लाख
पशु – ३० लाख
पंक्षी – १० लाख
कीटपतंग – ११ लाख
बोटवृक्ष – २० लाख
जलचर – ९ लाख
जम्मा ८४ लाख


यी ८४ लाख योनिका जीवहरूलाई पुनः उपयोगको हिसाबले ३ भागमा बाँडिएको छः
१. माथिबाट खाने, तलबाट फाल्ने
२. तेर्सो खाने, तेर्सै फाल्ने
३. तलबाट खाने, माथिबाट फाल्ने

Advertisement


यी तीनवटा विशेषता एकैचोटि विकसित भएका होइनन् । समय, परिस्थिति, आँट, साहस (संकल्प) र जिजीविषाको लामो ऐतिहासिक परिवर्तनहरूबाट जीव ८४ लाख योनिको यात्रामा विकसित भएको हो ।


हाम्रा अगाडि जे जति वेद, शास्त्र, पुराणहरू उपलब्ध छन्, यिनको जीवन त्यति पुरानो लाग्दैन । महाभारत युद्धको आज ५००० वर्ष मानिएको छ । यही युद्धको २५०० वर्षपछि मात्र यी लेख्य शास्त्रहरू हामी सामु देखिएका छन् । यसअघि यी सबै श्रुतिमा आधारित थिए । भागवत तथा गीतामा जीवलाई ८४ लाख योनिमा बाँडिएको उल्लेख पाइन्छ ।


तर, प्रश्न उठ्छ— के ८४ बाट ८५ भए कि भएनन् ? ८३ भए कि भएनन्? संसारको परिवर्तित गतिविधिसँगै यो संख्या हेरफेर भयो कि भएन? जीवहरूको विश्लेषणमा डायनोसोर हराइसकेको मानिन्छ, तस्तै अन्य जीवहरूको अवस्था के छ? सधैं यो संख्या ८४ लाख नै रहला त? यो सोचनीय छ ।


भगवान गौतम बुद्धको देहान्त पश्चात धेरै वर्षपछि भिक्षुहरूको सभाले बुद्धका उपदेशहरू हराउँदै जान्छन् कि भन्ने डरले देश–देशावरका भिक्षुहरू एक ठाउँमा भेला भई आ–आफ्ना स्मृतिमा रहेका बुद्ध उपदेशहरू आदान–प्रदान गरेका थिए । बुद्धधर्म अध्ययन अनुसार यसरी कैयौँ कुरा जस्ताको तस्तै रहे, कैयौँ कुरा परिवर्तन भए ।

श्रुतिमा प्रमुख कुरा ‘सञ्चार प्रवाह’ हो । कसले कर्तव्यपूर्वक सही रूपमा बोल्यो र कसले ठ्याक्क सही रूपमा सुनेर अर्को पुस्तालाई हस्तान्तरण गर्‍यो ? यही मूल प्रश्न हो


श्रुति र स्मृति एकअर्काले बनाएको र सुनेको सत्यतथ्यको रूप हो । यो सत्य सृष्टिदेखि महाभारतकालसम्मको लामो यात्रामा कति निश्चित रहन सक्यो ? यसको प्रमाणिकता छैन, विश्वास मात्र हो ।


विज्ञान भन्छ, ककासस र मंगोलिया नै जीवको पहिलो उत्पत्ति स्थल हो । आजको संसारका कुना–कुनामा जीवहरूको अस्तित्व देखिँदा, तिनको भौगोलिक परिवर्तित स्वरूपलाई नकार्न मिल्दैन । श्रुतिमा भौगोलिक विविधताले बुद्धि, विचार, अनि जीवनशैलीको विविधतालाई स्वतन्त्र अस्तित्वका रूपमा स्वीकार गरेको पाइँदैन ।


त्यसैले, श्रुतिमा प्रमुख कुरा ‘सञ्चार प्रवाह’ हो । कसले कर्तव्यपूर्वक सही रूपमा बोल्यो र कसले ठ्याक्क सही रूपमा सुनेर अर्को पुस्तालाई हस्तान्तरण गर्‍यो ? यही मूल प्रश्न हो । जीवको अस्तित्व हिँडडुलको अवस्थामा आएपछि आवाज र भाषा समेत विकास नभएको अवस्थामा सञ्चारको माध्यम के? इसारा–इसारा मात्र सांसारिक अस्तित्वको व्याख्या पूरा गर्‍‍यो वा गरेन ? यहाँ एउटा घटना उल्लेख गर्नु सान्दर्भिक छ । गौतम बुद्ध हरेक साँझ भिक्षुहरूसँग संवाद गर्नुहुन्थ्यो र अन्तमा भन्नुहुन्थ्यो— ‘जाऊ, अब आफ्नो अन्तिम कार्यमा लाग ।’ यो भनाइले तीन भिक्षुमा तीन किसिमको सञ्चार हुन पुग्यो—


एउटा चोरीको लागि योजना बनाउन थाल्यो, अर्को वेश्यागमनको लागि लाग्यो भने अर्को ध्यान–योगतिर । यसरी श्रुति भिन्न–भिन्न मानिसमा भिन्न–भिन्न अर्थमा पुग्यो । यस्तो श्रुतिको इतिहासले श्रुतिको स्थिति अप्ठेरोमा पारेको छ ।


वेद, पुराण, धर्मशास्त्र, उपनिषद् अस्तित्वमा आइसकेपछि एवम् लिपिको विकास भइसकेपछि झन् मानिसमा ईश्वरको अस्तित्व, भगवान्को स्थान संकटमा पर्‍यो । ‘वेदान्त’, ‘ब्रह्मसूत्र’ जस्ता अति बौद्धिकताका उपजले मानिसलाई फेरि संकट थप्यो । के हो त? शंकराचार्यको उदयदेखि आजसम्मका जगद्गुरुहरूका विभिन्न बौद्धिक मत— द्वैत, अद्वैत, द्वैताद्वैत, विशुद्धाद्वैत, गौतम, कणाद, शाण्डिल्य जस्ता विद्वानहरूको आध्यात्मिक मत आदिले मानिसको आध्यात्मिक चिन्तनमा अनिश्चितता थपेको छ । यी अनिश्चित दर्शनहरुले मानिस–मानिसबीच विभेदको धर्का कोरेको छ । यस्ता बग्रेल्ती विचार र बुद्धिका बीच मानिस बबुरो बनिरहेको छ ।


प्रकृतिको उपज जीव जन्मन्छ, सकिन्छ । ‘यथामति तथा गति’, ‘यथाअन्न तथा मन’ पुनर्जन्म जस्ता दन्त्यकथाका पानाभित्र मानिसहरूले शान्ति महसुस गरेका छन् कि यातना? भन्ने परिभाषा भ्रममा पारिएको छ । बौद्ध, इसाई, हिन्दु, मुस्लिम— विश्वभरिका ३०० धर्म के हुन्? के धर्म विभाजन हो? जिज्ञासु उत्तरको प्रतीक्षामा छन् ।


यसरी त धर्म सुख हैन, आनन्द हैन; दिन–प्रतिदिन मानसिक पीडा थपिरहेछ । शब्द–शब्दमा खिचातानी छ, तेरो–मेरो छ, लडाइँ–झगडा छ । मार्ने र मर्ने सम्मका उद्दतपूर्ण क्रियाकलाप छन् । यही ‘तेरो र मेरो’ ले जीवन सिर्जनामा नभई विनाशमा धकेलिरहेको छ ।


शब्द यति शक्तिशाली छ कि जीवनलाई मृत्युमा र मृत्युलाई जीवनमा धकेलिदिन सक्छ । सन्त कविर भन्छन्
‘शब्द संभालकर बोलिए, शब्द के हाथ न पाँव,
वही शब्द मलहम करे, वही शब्द करे घाव ।’


‘ऋतम वदिष्यामि’ सत्यम वदिष्यामि यी त भए श्रुतिका कुरा, अर्को हाम्रो आधार स्मृति हो । स्मृति कति मानिसले कहिलेसम्म के कति कुरा स्मृतिमा राख्न सक्यो होला, यो पनि मानिसकै नैसर्गिक दिमागका लागि गाह्रो कुरा हो । दिन उमेर पाको हुँदै गएपछि स्मृति शुद्धि पनि हराउँदै जान्छ । स्मृति फोटोकपी हैन । जस्ताको तस्तै ठीकसँग सम्प्रेषण गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको श्रुतिमा भर पर्छ । उसले कहाँसम्म ठीक सुन्यो, ‘श्रुति विभिन्नाः स्मृतिश्च विभिन्नाः’ यी एकै हुन सक्दैनन् ।

अघि गौतम बुद्धलाई उल्लेख गरेर उदाहरण दिइसकिएको छ । विभिन्न ऋषिका कालखण्डमा बताइएका तथ्यहरू फरक–फरक मत राख्दछन् । हाम्रा धर्मसिन्धु, निर्णयसिन्धु जस्ता ग्रन्थ असल सामाजिक व्यवस्थाका प्राचीन नियमावलीहरू हुन् । समान घटनामा समान निर्णय पाइँदैन । नास्तिक एक ढंगले सुन्छ, आस्तिक अर्को ढंगले सुन्छ । कान एकै भए पनि कानभित्र लुकेको मन र मनको संस्कार भिन्दाभिन्दै छन् । ‘न यो मुनिर्यस्य वचः प्रमाणम’, ‘धर्मस्य तत्त्वं निहितं गुहायाम’ भनी उपनिषद्ले भनेको छ ।


श्रुति, स्मृति, वेद, पुराण—के रहस्य लुकेको होला र ? इतिहासविद्हरूले महात्मा बुद्धभन्दा पहिलाको समयलाई प्रागैतिहासिक काल वा इतिहासपूर्व काल भनेका छन् । बुद्धभन्दा पहिला इतिहास धमिलो–धमिलो छ । बुद्धकाल ५०० ई.सा. देखि लिएर आजसम्मको समयलाई ऐतिहासिक काल मानेको छ ।

वेदअनुसारका ६ शास्त्रका रचयितामा कपिल प्रागैतिहासिक कालका हुन्, तर इतिहासविद्हरूले अन्य पाँच—कणाद, गौतम, पतञ्जली, जैमिनी, बादरायण—आदि बुद्धपछिका मानेका छन् । समय र विचार सधैं एकैनास रहिरहँदैन, परिवर्तन आइरहन्छ । यति धेरै परिवर्तन र समयले दिएको उप्रती सम्बन्धमा हामीले राखेका विचार पनि एउटा प्रवाह हो । प्रवाह निरन्तर हुँदैन ।

तपाईको प्रतिक्रिया