अमेरिकाबाट पाेखरा आएर ३० करोडकाे अनलाइन जुवा र क्रिप्टाे कारोबार


सञ्जय रानाभाट
पोखरा ।
पर्वतको जलजला गाउँपालिका ३ का ३१ वर्षीय रुपेन्द्र जिसी एक दशकअघि उच्च शिक्षा हासिल गर्ने अमेरिका पुगे ।
प्रविधिको मोहले तानेपछि उनले त्यहाँ आइटी इन्जिनियरिङ अध्ययन गरे । अध्ययन पूरा गरेपछि केही समय उनले सामान्य काम गर्दै अमेरिकामै आफ्नो करिअर अगाडि बढाए । तर, प्रविधिसँग उनको लगाव मात्र रहेन, आर्थिक चलखेलतर्फ उनको ध्यान गयो । आर्थिक चलखेलमै उनी फस्दै गए । गैरकानुनी बाटो रोज्दै आएका जिसी अन्ततः कानुनी फन्दामा परेका छन् । अमेरिकी प्रहरीले समात्न नसेको उनलाई कास्की प्रहरीले पक्रेको छ । प्रहरीले अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा उनीसहित अवैध काममा संलग्न समूहलाई नै पक्राउ गरेको हो ।
५ जनालाई फागुन २३ गते राति पक्राउ गरेको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । एसपी ओलियाका अनुसार पक्राउ पर्नेमा जिसीका फुपूका छोरा म्याग्दी ५ स्थानी घर भई पोखरा १४ हबेली मार्ग बस्ने ३३ वर्षीय विक्रम बानियाँ, सानी आमाका छोरा म्याग्दी रघुगंगा गाउँपालिका २ घर भई पोखरा १४ अनुपम मार्गमा बस्ने १९ वर्षीय रोजन केसी, फुपूका छोरा म्याग्दी सोही ठाउँमा घर भई पोखरा १४ अनुपम मार्गमा बस्ने २२ वर्षीय सज्जन घिमिरे र बिहिनी ज्वाइँ सोही ठाउँका २८ वर्षीय सन्दीप कटुवाल हुन् । ‘यो गेम खेलाउँदा, आफ्न्तबाट कुरा बाहिर जाँदैन भनेर सबै जना नजिकका मान्छे संलग्न गराइएको छ,’ उनले भने ।
यद्यपि ४ जना भने तलबमा काम गर्ने गरेको एसपी ओलियाले जानकारी दिए । ‘तल्लो तहमा काम गर्नेलाई ५० हजार तलब छ । त्यो भन्दा माथिल्लो तहलाई १ लाख ५० हजार दिइएको छ । अनि, पैसा अनुसारको इन्सेन्टिभ हुन्छ । जति डलर कमाइयो, त्यहाँबाट बोनस दिइने गरेको बयानका क्रममा खुलेको छ,’ एपपी ओलियाले भने, ‘यो जालो ठूलो छ । यो काममा अरु पनि जोडिएका हुन सक्छन् । हामी अनुसन्धान गर्दै छौं ।’
लामो समय अमेरिकाबाटै अवैद्ध कारोबार गर्दै आएका उनलाई कास्की प्रहरीले कसरी पक्राउ ग¥यो त ? कास्की प्रहरी प्रमुख ओलियाका अनुसार उनी गत महिनामात्र नेपाल आएका हुन् । नेपाल आएर उनले पोखरामा अवैध क्रिप्टोकरेन्सी र अनलाइन जुवा खेलाउन अड्डा खोलेका थिए । रुपेन्द्रले अमेरिका पुगेपछि पोखरामा ३ तले घर बनाए । सोही घरमा क्रिप्टोकरेन्सी र अनलाइन जुवा खेलाइरहेको एसपी ओलिया बताउँछन् । उनका अनुसार पोखरा १४ मा रहेको घर पनि महल जस्तो छ । ‘पक्राउ गर्न जाँदा घर देखेरै म दंग परे । घर महल जस्तो छ । यहाँ भित्र त्यस्तै छ,’ उनले भने ।
पछिल्लो समय सोही घरबाट अनलाइन जुवा खेलाउने अनि क्रिप्टोकरेन्सीतर्फ लगानी गर्ने गरेको खुलेको हो । एसपी ओलियाले भने, ‘अझ ग्याम्लिङ भन्ने छ । यो धेरै भास्ट छ । हामी अनुसन्धान गर्दै छौं ।’ अनलाइन जुवा उनीहरुले म्यासेन्जर ग्रुप बनाउने र त्यहाँबाट खेलाउने गरेको प्रहरीले जनाएको छ । ‘३ सिफ्टमा काम गरेर यो अनलाइन जुवा खेलाएको देखिएको छ । विभिन्न ग्रुप बनाउने, जस्तो म्यासेन्जर, ह्वाटसप, टेलिग्रामबाट ती मान्छेसँग जोडिने र अफर गर्ने गरेको फेटियो,’ उनले भने, ‘अनलाइन जुवामा जुवा भन्ने एप, गेमभोल्ट, फिक्रिनी, ओरिबन, मिल्किवे, हाइरोलर, रिभर स्विप लगायतका थुप्रै गेम छन् ।’
नेपालीका संलग्नताबारे एसपी ओलियाले खुलाउन चाहेनन् । यद्यपि अनलाइन ग्यामिङ मार्फत अरु देशकै नागरिकलाई खेलाउने र हुन्डी कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । क्यास एप, चाइम एप, युएसडिटी (थेटर)बाट उनीहरुले पैसाको कारोबार गर्दै आएका थिए । ‘हालको हाम्रो प्रारम्भिक अनुसन्धानले अनलाइन जुवाबाट १५ करोड, क्रिप्टोकरेन्सीबाट १५ करोड गरेर कुल ३० करोड रुपैयाँको कारोबार भएको भेटियो,’ एसपी ओलियाले भने । अझ ग्याम्लिङ गराउँदा ३ हजारको डलरको दरले खेलाउने गरेको सुनाए ।
प्रहरी स्रोतका अनुसार ८÷८ घन्टाको काम बाँडफाड भएको थियो । रातिको सिफ्ट एक जनाले हेर्ने, दिनको सिफ्ट अर्कोले हेर्ने गरेको थिए । ‘नेपाली भन्दा विदेशी नै खेलाडी छन् । विदेश बस्ने केही नेपाली पनि होलान् । तर, यो अनलाइन गेम खेल्ने अधिकांश अमेरिकाकै नागरिक वा अन्य देशका नागरिक हुन्,’ प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । प्रहरीले उनीहरुको साथबाट मोबाइल ३१ थान, माउस १ थान, युएसबी पोर्ट, कम्प्युटर २ थान, राउटर ४ थान, स्टेन्ड १ थान, कम्प्युटर सिपियु ३ थान, पेनड्राइभ ३ थान, छाप १ थान, ल्यापटप ४ थान, हाइडिक्स १ थान, नगद ७२ लाख, आइ प्याड १ थान, मिल्टपल एक थान लगायतका सामान बरामद गरेको छ ।

यी कारोबार नेपालमा अवैध भएकाले सोही अनुसार मुद्दा अगाडि बढाउने उनको भनाइ छ । एसपी ओलियाका अनुसार ५ जनालाई अभौतिक मुद्दा प्रयोग र जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने कसुरमा अनुसन्धान अगाडि बढाएको छ । जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिएको उनले सुनाए ।


सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया