फलफूल ढुवानी इकाइमा पित्मबहादुर

समाधान संवाददाता २०८१ फागुन २६ गते १५:३४

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी तथा फलफूल ढुवानी इकाई कृषि बजार शान्तिवनको १४ औं अधिवेशन शनिबार भएको छ । अधिवेशनले अध्यक्ष पित्मबहादुर पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । इकाई उपाध्यक्ष रोशन श्रेष्ठ, सचिव मचिन्द्र सेनेहाङ लिम्बु, सहसचिव रामहरि न्यौपाने, कोषाध्यक्ष रुपेन्द्र दुवाडी छन् । इकाई समितिको सदस्यमा भविन्द्र राई, काजी श्रेष्ठ र इकाई युवा अध्यक्ष विशाल तामाङ छन् ।

Advertisement


श्रम तथा रोजगार कार्यालय गण्डकीका प्रमुख सुरेशराज ढकालले समग्र यातायात क्षेत्रका मजदुर समेत योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोडिन पर्ने बताए । सवारी दुर्घटना र श्रमसँग सम्बन्धित समस्यामा परेपनि धेरै यातायात मजदुर पनि कोषमा आबद्ध हुन नसकेको उल्लेख गर्दै उनले त्यसको लागि कार्यालयको तर्फबाट यातायात व्यवसायीको कार्यालयलाई परिपत्र गर्ने जानकारी दिए । उनले संगठनको आग्रहमा निजी विद्यायल तथा अस्पतालमा समेत परिपत्र गरेको स्मरण गराए । उनले मजदुरलाई कोषमा आबद्ध नगर्ने प्रतिष्ठानलाई कारवाही हुने जनाए ।


सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय समन्वयमा श्रम ऐन बनेको चर्चा गर्दै उनले रोजगारदाताले रोजगार सम्झौता र नियुक्तिपत्र दिएर काम लगाउनु पर्ने सुझाव दिए । संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका इञ्चार्ज विष्णुबहादुर पराजुलीले योगदानमा आधारित सामाजिक कार्यक्रमले श्रमिकको अवकाशपछिको जीवन यापन सहज हुने उल्लेख गरे । उनले उक्त कार्यक्रम लगायत पेन्सनको व्यवस्था भए श्रमिकको सिंगो जीवन परिवर्तन हुने उल्लेख गरे ।


ंगठनका गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर केसीले संगठनले पुँजी र श्रमको सम्बन्ध मजबुद बनाउन पर्ने उल्लेख गरे । उनले उद्योग व्यवसाय फस्टाएको खण्डमा रोजगारीको सिर्जना हुने तर्क गरे । राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष दुर्गाप्रसाद कँडेल, कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक महेन्द्रसिंह थापाले बजारका काम गर्ने मजदुर प्राज्ञिक क्षेत्रको व्यक्ति जस्तै अनुशासित र मर्यादित भएको जानकारी दिए ।


‘श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ भएको कार्यक्रममा कार्यक्रममा संगठनका प्रतिनिधि परिषद् उपप्रमुख कर्णसिं गुरुङ, संगठनका लोड तथा अनलोड ढुवानी राष्ट्रिय समन्वय समितिका संयोजक ओमलाल थिङ, नेपाल बिजुली, पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालका केन्द्रीय सदस्य हरिभक्त श्रेष्ठ, श्रमिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रीनाथ पराजुली, संगठन गण्डकी प्रदेश कमिटीका सदस्य मुक्तबहादुर राई, संगठनका लामो दुरी बस तथा मिनीबस इकाईका अध्यक्ष खेमबहादुर भुजेल, संगठन तरकारी तथा फलफूल ढुवानी इकाईका अध्यक्ष भेषराज अधिकारी, उपाध्यक्ष रवीन्द्र बाग्दास, सचिव विशाल तामाङ लगायतले ढुवानी क्षेत्रको समस्याको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया